अमृत बास्कुने
कल्पना गर्नुहोस् बिहानको सफा आकाश । वरिपरि हरिया डाँडाकाँडा । टाढा सेता हिमालहरू घामको पहिलो किरणसँगै चम्किरहेका छन् । तपाईं एउटा शान्त तालको किनारमा उभिनुभएको छ । हावाको मधुरो स्पर्शसँगै तालको पानीमा हिमालको छाया खेलिरहेको छ । केही क्षणपछि तपाईंले तालको सतहमा आफ्नै आँखाअगाडि धौलागिरि हिमालसँगै म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरको प्रतिबिम्ब देख्नुहुन्छ । त्यो कुनै कल्पनाको दृश्य होइन । यो हो—म्याग्दीको मालिका गाउँपालिका–७ बिम बाइन्दाफाँटको बराहताल ।
बराहताल आकारमा सानो होला, तर यसको कथा, आस्था, प्रकृति र सम्भावना भने निकै विशाल छ । गाउँको शिरमा अवस्थित यो ताल केवल पानी जमेको एउटा प्राकृतिक पोखरी होइन । यो स्थानीयका लागि आस्थाको केन्द्र, प्रकृतिको पूजा गर्ने थलो, पुरानो विश्वासको धरोहर र सम्भावनाले भरिएको पर्यटकीय गन्तव्य हो ।
बराहताल पुग्ने बाटोमा पाइला अघि बढाउँदै गर्दा बिस्तारै बदलिँदै जाने भूगोल, गाउँबस्ती, वनजंगल, पहाड र खुला आकाशले यात्रालाई नै एउटा अनुभवमा बदलिदिन्छ । अनि जब तालको किनारमा पुगिन्छ, लामो यात्राको थकान एकैछिनमा हराउँछ ।
किनकि त्यहाँ केवल ताल छैन तालमा प्रतिबिम्बित हुने एउटा फरक अनि सुन्दर संसार पनि छ । मौसम खुलेको बिहान । वरिपरि हरिया डाँडाकाँडा । टाढा देखिने हिमालका चुचुराहरूमा घामको किरण पर्दैछ । शान्त तालको पानी ऐनाजस्तै स्थिर हुन्छ । तालको सतहमा धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । त्यही प्रतिबिम्बसँगै म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरको आकृति पानीमा देखिँदा दृश्य थप मनमोहक बन्छ ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको बाइन्दाफाँटमा रहेको बराहताल पुग्ने पर्यटकका लागि यस्तो दृश्य नौलो अनुभव बन्न सक्छ । समुद्री सतहदेखि करिब दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो ताल धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
क्षेत्रफलका हिसाबले करिब आधा रोपनीमा फैलिएको र तीन मिटरभन्दा बढी गहिराइ रहेको बराहताल आकारमा धेरै ठूलो छैन । तर यसको धार्मिक इतिहास, स्थानीय विश्वास, प्राकृतिक बनोट र वरपरबाट देखिने हिमाली दृश्यले यसको महत्वलाई फराकिलो बनाएको छ । यस पोखरी अनि यो संगै रहेको बराहको पुजा वि.सं. १९०३ देखि थालिएको मान्यता छ । यहाँ बराह पुजा हुन थालेकै समय जंगबहादुर राणाले नेपालमा जहानिया राणा शासनको शुरुआत गरेका थिए । वि.सं. १९०३ देखि २००७ सम्म नेपालमा राणा शासन चलेको थियो भने त्यही १९०३ देखि शुरु भएको बराह पुजा भने अहिले सम्म पनि जारी छ । ऐतिहासीक मान्यता र निरन्तरताकव् अवस्था हेर्ने हो भने १८० वर्ष देखि लगातार यहाँ उधौली र उभौली पुजा हुँदै आएको छ ।
स्थानीयका अनुसार बाइन्दाफाँट गाउँको शिरमा रहेको यो ताल प्राकृतिक रूपमा बनेको हो । तालको माथिल्लो भागमा बराह थान छ । बराह थान नजिकै रहेको पानीको मूलबाट ताल बनेको स्थानीयको भनाइ छ ।
स्थानीय अगुवा छकप्रसाद पाइजाका अनुसार बराहतालमा विक्रम संवत् १९०३ देखि नियमित रूपमा पूजा हुँदै आएको छ । बुढापाकाको भनाइलाई आधार मान्दा यहाँ करिब दुई सय वर्षअघिदेखि बराह भगवानको पूजा हुँदै आएको स्थानीय बताउँछन् ।
भूमि र प्रकृतिको पूजा
बराहतालको धार्मिक परम्परा यहाँका स्थानीयको कृषि प्रणाली र प्राकृतिक वातावरणसँग प्रत्यक्ष जोडिएको छ । स्थानीयका अनुसार बराह पूजा केवल धार्मिक अनुष्ठान मात्र होइन, भूमि र प्रकृतिको पूजा पनि हो । स्थानीय रैप्रसाद जुगजाली मगरका अनुसार बुढापाकाले जे परम्परा बसाउँदै आए, त्यसैलाई आधार बनाएर अहिले पनि पूजा गरिँदै आएको छ । हिउँदे र वर्षेबालीको राम्रो उत्पादन, पशुचौपायाको सुरक्षा तथा मानिसको सुख–शान्तिका लागि बराह भगवानको पूजा गर्ने चलन रहेको उनी बताउछन् ।
“बराह पूजा भनेको भूमि पूजा हो, प्रकृतिको पूजा हो,” उहाँ भन्नुहुन्छ, “पूजा गरेमा अन्नबाली राम्रो हुने, पशुचौपाया र मानिसलाई समेत राम्रो हुने जनविश्वास छ ।” बराहतालमा वर्षमा दुईपटक विशेष पूजा गरिन्छ । स्थानीय परम्पराअनुसार बैशाखमा चण्डी पूर्णिमाका अवसरमा उभौली पूजा गरिन्छ भने कार्तिकमा पहिलो मंगलबार उधौली पूजा गर्ने चलन छ ।
पूजाको अघिल्लो दिनदेखि उपवास बस्ने र शुद्ध भएर पूजामा सहभागी हुने परम्परा रहेको स्थानीय बताउँछन् । वर्षौँदेखि कायम रहेको अर्को रोचक परम्परा ताल वरपरको सरसफाइसँग जोडिएको छ । तालको आसपास रहेको झाडी सफा गर्ने काम कन्या तथा केटाहरूले मात्रै गर्ने चलन रहेको स्थानीयको भनाइ छ ।
बराहताललाई पवित्रस्थलका रूपमा लिइने भएकाले तालमा फोहोर गर्न नहुने मान्यता छ । तालको पवित्रता बिगार्दा गाउँमा कुनै विपत्ति आउन सक्ने विश्वाससमेत स्थानीयमा रहेको जुगजाली बताउनुहुन्छ ।
स्थानीय विश्वासलाई वैज्ञानिक प्रमाणका रूपमा व्याख्या गर्न नसकिए पनि यसले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको भूमिका भने देखाउँछ । पुस्तौँदेखि धार्मिक आस्थासँग जोडिएको विश्वासले ताल र वरपरको क्षेत्र सफा तथा संरक्षित राख्न स्थानीयलाई प्रेरित गरेको छ ।
बलिदेखि भाकलसम्मको परम्परा
बराहतालको धार्मिक परम्परामा भेडाको बलि दिने चलन पनि रहेको छ । वडा अध्यक्ष टकबहादुर पुनका अनुसार यहाँ वर्षेनी बराह भगवानलाई भेडाको बलि दिने परम्परा कायम छ ।
तालमा रहेको जलबराहको पूजाआजा तथा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । कृषि उत्पादन, पशुचौपाया र मानव जीवनको समृद्धिका लागि बराह भगवानसँग प्रार्थना गर्ने परम्परा अहिले पनि कायम छ । यही धार्मिक विश्वासका कारण बराहताल स्थानीयका लागि पर्यटनस्थलभन्दा पहिला आस्थाको केन्द्र हो । यहाँ पुग्ने मानिसले प्राकृतिक सुन्दरतासँगै स्थानीय धार्मिक संस्कृति र परम्परालाई समेत बुझ्न सक्छ ।
तालमा देखिन्छ हिमालको प्रतिबिम्ब
बराहतालको प्रमुख प्राकृतिक आकर्षण भनेको यहाँबाट देखिने हिमाली दृश्य हो । मौसम सफा भएको समयमा तालको पानीमा धौलागिरि हिमालको प्रतिबिम्ब देख्न सकिन्छ । त्यस्तै म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरतर्फको दृश्य पनि आकर्षक देखिन्छ ।
ताल आसपासबाट गुर्जा हिमाल, ग्रामीण बस्ती, वनजंगल, पहाड र हरियालीको दृश्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक तथा जैविक विविधताले समेत भरिएको यो क्षेत्र प्रकृति अवलोकन, पदयात्रा र ग्रामीण पर्यटनका लागि उपयुक्त हुनसक्ने स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष पुनका अनुसार बराहताल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ ।
“यहाँबाट चारैतिरका हिमालको दृश्य नाङ्गो आँखाले देख्न सकिन्छ,” उहाँ भन्नुहुन्छ, “हिमालसँगै तालको मनोरम दृश्य हेर्न चाहनेका लागि बराहताल आकर्षक गन्तव्य बन्न सक्छ ।”
ओझेलबाट पर्यटनको गन्तव्यतर्फ
प्राकृतिक र धार्मिक महत्व हुँदाहुँदै पनि बराहताल लामो समयसम्म पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । भौगोलिक विकटता, सडक तथा पदमार्गलगायतका पूर्वाधारको कमीले गर्दा बाहिरबाट आउने पर्यटकको संख्या न्यून थियो ।
पछिल्लो समय भने स्थानीय तह र समुदायले बराहतालको सम्भावनालाई प्राथमिकतामा राख्न थालेका छन् ।
बराहताल परिसरमा ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ । बाइन्दाफाँटस्थित बराहतालदेखि मालिका धुरीसम्म पुग्ने सडक तथा पदमार्ग निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । दरवाङ बजारदेखि बाइन्दाफाँट हुँदै बराहताल पुग्ने पहुँचसमेत क्रमशः सहज बन्दै गएको छ ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको दरवाङ बजारबाट करिब एक घण्टाको दूरीमा बराहताल पुग्न सकिने स्थानीयको भनाइ छ ।
स्थानीय छकप्रसाद पाइजाका अनुसार बराहताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयस्तरबाट प्रचारप्रसारको प्रयास भइरहेको छ ।
मालिका पर्यटन सर्किटसँग जोड्ने सम्भावना
बराहताललाई एक्लो गन्तव्यका रूपमा मात्र नभई आसपासका धार्मिक तथा पर्यटकीय क्षेत्रसँग जोडेर विकास गर्न सकिने सम्भावना छ ।
बराहतालबाट मालिका धुरीतर्फ जान सकिन्छ । प्रभुचेला तथा पाथिभरा माताको दर्शन गर्न जाने पर्यटकका लागि पनि बराहताल आकर्षक दृश्यावलोकनस्थल बन्न सक्छ ।
यसरी दरवाङबाट सुरु भएर बाइन्दाफाँट, बराहताल, मालिका धुरी, प्रभुचेला र पाथिभरासम्म जोडिने धार्मिक तथा पर्यटकीय मार्ग विकास गर्न सकिएमा यस क्षेत्रमा पर्यटन गतिविधि बढाउन सकिने स्थानीयको अपेक्षा छ ।
मालिका गाउँपालिकाले बराहताललाई गाउँपालिकाभित्रका ३५ पर्यटकीय गन्तव्यमध्ये समावेश गरेर प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने प्रयास गरेको छ ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बराहतालको भौगोलिक बनोट, प्राकृतिक दृश्य र यहाँबाट देखिने हिमाली क्षेत्रले बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सक्ने सम्भावना छ ।
उहाँका अनुसार बराहताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यको अनुपम स्थलका रूपमा विकास गर्न स्थानीय तहबाट पहल भइरहेको छ ।
“बराहताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त सम्भावना छ,” उहाँ भन्नुहुन्छ, “यसको प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ ।”
प्रकृतिसँगै संस्कृति जोगाउने चुनौती
बराहतालको विकाससँगै यसको प्राकृतिक तथा सांस्कृतिक मौलिकता जोगाउनु अर्को महत्वपूर्ण विषय हो ।
स्थानीयले बराहताललाई प्राकृतिक रूपमा रहेको सिमसार क्षेत्रका रूपमा समेत लिने गरेका छन् । त्यसैले पर्यटन पूर्वाधार निर्माण गर्दा तालको प्राकृतिक बनोट र वातावरणमा असर नपर्ने गरी काम गर्नुपर्ने स्थानीयको सुझाव छ । स्थानीय जुगजालीका अनुसार बराहताललाई संरक्षण गर्न सकिएन भने यसको धार्मिक तथा पर्यटकीय महत्वसमेत कमजोर हुने भएकाले सबै पक्षले संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
पर्यटक बढ्दै जाँदा फोहोर व्यवस्थापन, खानेपानी, शौचालय, सूचना केन्द्र, विश्रामस्थल, पदमार्गको स्तरोन्नति र नियमित सरसफाइ आवश्यक हुने देखिन्छ । त्यस्तै तालको धार्मिक महत्व र स्थानीय संस्कृतिबारे पर्यटकलाई जानकारी गराउने व्यवस्था गर्न सकेमा यहाँ आउने पर्यटकले केवल दृश्यावलोकन गर्ने नभई स्थानीय संस्कृति बुझ्ने अवसरसमेत पाउनेछन् ।
आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको संकेत
पूर्वाधार निर्माण र प्रचारप्रसारको प्रयाससँगै पछिल्लो समय बराहतालमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । विशेषगरी स्थानीय तथा आसपासका जिल्लाबाट घुम्न आउने र प्रकृति अवलोकन गर्नेको संख्या बढ्दै गएको स्थानीय बताउँछन् ।
सामाजिक सञ्जालमा प्राकृतिक तथा नयाँ गन्तव्यको खोजी बढ्दै जाँदा बराहतालले पनि नयाँ पुस्ताको ध्यान खिच्न सक्ने सम्भावना छ । तालमा धौलागिरि तथा अन्य हिमशृङ्खलाको प्रतिबिम्ब देखिने दृश्य, ग्रामीण बस्ती, वनजंगल र पहाडी भूगोल फोटो तथा भिडियोका लागि समेत आकर्षक बन्न सक्छ ।
प्राकृतिक दृश्यसँगै धार्मिक कथा र स्थानीय संस्कृतिको संयोजन बराहतालको अर्को विशेषता हो । पर्यटन बजारमा यस्ता मौलिक गन्तव्यको माग बढिरहेका बेला बराहताललाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके म्याग्दीको पर्यटन नक्सामा यसको छुट्टै पहिचान स्थापित गर्न सकिने देखिन्छ ।
संरक्षणसहित विकासको खाँचो
बराहतालको सम्भावना ठूलो भए पनि यसलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न योजनाबद्ध विकास आवश्यक देखिन्छ । पहिलो प्राथमिकता तालको संरक्षण हुनुपर्ने स्थानीयको भनाइ छ । त्यसपछि पहुँचमार्ग, पदमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना पाटी, फोहोर व्यवस्थापन तथा पर्यटकका लागि आवश्यक आधारभूत संरचना विस्तार गर्नुपर्ने देखिन्छ । त्यस्तै स्थानीय धार्मिक परम्परा, पूजा विधि, बराहतालसँग जोडिएको इतिहास तथा मौखिक कथनलाई अभिलेखीकरण गर्न सके यस क्षेत्रको सांस्कृतिक महत्व पनि सुरक्षित रहनेछ ।
बराहतालको पर्यटन विकास स्थानीय समुदायको सहभागितामा गर्न सकिएमा त्यसबाट गाउँको आर्थिक गतिविधिसमेत बढाउन सकिने अपेक्षा गर्न सकिन्छ । स्थानीय उत्पादन, कृषि उपज, घरेलु परिकार, हस्तकला र ग्रामीण होमस्टेलाई पर्यटनसँग जोड्न सके बराहतालको यात्रा स्थानीय अर्थतन्त्रसँग जोडिन सक्छ ।
हिमालको ऐनामा आफ्नो अनुहार खोज्ने ठाउँ
म्याग्दीमा पर्यटकीय सम्भावना बोकेका धेरै गन्तव्य छन् । तीमध्ये बिम बाइन्दोफाँट बराहतालको पहिचान भने केही फरक छ । यहाँ हिमाल हेर्न सकिन्छ । ताल हेर्न सकिन्छ । गाउँ हेर्न सकिन्छ । जंगल र पहाड हेर्न सकिन्छ । धार्मिक आस्था बुझ्न सकिन्छ । पुरानो संस्कृति र परम्परासँग परिचित हुन सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा यी सबै कुरा एउटै गन्तव्यमा अनुभव गर्न सकिन्छ । बाइन्दाफाँटको शिरमा शान्त भएर बसेको बराहतालले दुई सय वर्षभन्दा लामो धार्मिक परम्परालाई आफ्नो छातीमा बोकेको छ । तालको पानीमा हिमालको प्रतिबिम्बसँगै स्थानीयको आस्था प्रतिबिम्बित हुन्छ । यसैले बराहतालको पर्यटन विकास केवल नयाँ पर्यटकीय गन्तव्य थप्ने विषय होइन । यो स्थानीय संस्कृति, धार्मिक परम्परा, प्राकृतिक सम्पदा र ग्रामीण अर्थतन्त्रलाई एउटै सूत्रमा जोड्ने अवसर पनि हो ।
मालिका गाउँपालिकाले यसलाई ३५ पर्यटकीय गन्तव्यमध्ये समावेश गरेर प्रचारमा ल्याउनु सकारात्मक सुरुवात हो । अब यसको दीर्घकालीन संरक्षण, पूर्वाधार विकास र योजनाबद्ध प्रचारप्रसार आवश्यक छ । बराहताल पुग्ने यात्रुका लागि यो यात्रा केवल एउटा तालसम्म पुग्ने यात्रा हुनेछैन । यो म्याग्दीको ग्रामीण जीवन, धार्मिक आस्था र हिमाली प्रकृतिलाई नजिकबाट बुझ्ने यात्रा हुनेछ । मौसम खुलेको बेला जब तालको शान्त पानीमा धौलागिरि हिमाल र मालिका क्षेत्रको प्रतिबिम्ब देखिन्छ, त्यतिबेला बराहतालको वास्तविक सौन्दर्य महसुस गर्न सकिन्छ । सायद यही कारण बराहतालको परिचय एउटा वाक्यमा यसरी दिन सकिन्छ । “जहाँ आस्थाले प्रकृतिलाई भेट्छ र तालको पानीमा हिमाल मुस्कुराउँछ, त्यही हो बिमको बराहताल ।”
बिम बराहताल संग एउटा मान्यता पनि जोडिएको छ । बराह भगवानले स्थानीय युवती सँग प्रेम गरी विवाह गरेको र उनीबाट बच्चा जन्मेको साथै बच्चाले मानव सँगको भेटका कारण ज्यान गुमाउँदा बराह रिसाएर आफ्नी श्रीमतीको आँखा फोडीदिँदा बगेको रगतले गर्दा बराह तालको रंग पनि फरक फरक हुने भन्ने जनविश्वास पनि बराह तालको अर्को एक गोप्य तथा अद्भुत मान्यता हो ।
