अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी र आसपासका क्षेत्रमा युवाको उद्यमशीलता उल्लेखनीय रूपमा विस्तार हुँदै जाँदा भएको रोजगारीको अवसरले थप अन्य युवाहरुलाई पनि सहज भएको छ । म्याग्दी सदरमुकाम बेनी तथा वरपरका क्षेत्रमा होटल, रेष्टुरेन्ट, प्रिन्टिङ तथा सेवा क्षेत्रका व्यवसायले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पचासौं युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गरेका छन् ।
उनीहरुले थालेको व्यवसायले रोजगारी सिर्जनाको माध्यम त बन्यो नै युवाहरुलाई सफल उद्यमीका रूपमा स्थापित पनि गरेको छ । सञ्चालनमा भएका व्यवसायीहरूले स्थानीय स्तरमै आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । व्यवसायले गर्दा स्थानीय युवाहरुलाई रोजगारीको अवसर सृजना गर्ने काम त भएकै छ त्यसमाथि पनि स्थानीय उत्पादनको बजारीकरणका लागि पनि राम्रो भएको छ ।
बेनी जोमसोम सडक खण्डको गलेश्वरमा रहेको छ ठुलो भवन ताजमहल । काभ्रेको पाँचखालबाट २०५२ सालमा मुस्ताङको लेते पुगेर होटल व्यवसाय सुरु गरेका टंकलाल श्रेष्ठ अहिले म्याग्दीको गलेश्वरमा चार वटा भवनमा होटल ताजमहल तथा रेष्टुरेन्ट सञ्चालन गरिरहनु भएको छ । उहाँको व्यवसायबाट परिवारका सदस्यसहित नौ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । पर्यटन व्यवसायमै दुई दशक भन्दा लामो अनुभवका आधारमा उहाँले होटल व्यवसायलाई विस्तार गर्दै आउनु भएको छ । छोराछोरी तथा श्रीमतीको मजबुत साथ र स्थानीय युवाहरुको पनि रोजगारमा देखाएको लगाबले पनि श्रेष्ठको व्यवसायलाई सफल बनाइ रहेको छ । दुई वटा आफ्नै र दुई वटा भाडाका भवनमा व्यवसाय सञ्चालन गरी रहनु भएका श्रेष्ठले अहिले भने काभ्रेबाट बसाइ सराइ गरेर म्याग्दीकै बासिन्दा समेत बन्नु भएको छ ।
त्यसैगरी, बेनी नगरपालिका–४ सोताका बलबहादुर आलेले पाँच वर्ष सम्म बागलुङमा ब्यावसाय गरेर आफ्नै थातथलोमा फर्कदै दुई वर्षअघि बेनीमा गो ग्रिन रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभयो । बागलुङमा व्यवसाय गर्दै आउनुभएका उहाँले दिने फरक स्वदले गर्दा पनि आकर्षण बढ्ने गरेको छ । उहाँले आफ्नो भान्सामा लसुन, प्याज तथा मासु–माछाको प्रयोग नगरी शाकाहारी परिकारमा आधारित रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएको छ । उहाँको खाजाघरमा मदिरा तथा धुम्रपान पनि निशेध छ । उहाँको व्यवसायमा परिवारका दुई सदस्यसहित पाँच जना सम्मले रोजगारी पाउने गरेका छन् ।
केही समय जागीर खाएर पछि आफैले जागिर दिने बन्नु भएको छ बेनी नगरपालिका–१० पात्लेखेतका भिमनाथ शर्माले । उहाँले सञ्चालन गरेको डिजि प्रिन्ट अहिले जिल्लाकै प्रमुख प्रिन्टिङ प्रतिष्ठानमध्ये एक बनेको छ । प्रिन्टिङ, अफसेट प्रेस, सिलालेख तथा फ्लेक्स प्रिन्टिङ सेवा प्रदान गर्दै आएको उक्त संस्थामा परिवारका दुई सदस्यसहित बाहिरका १३ जना गरी १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यस व्यवसायसँग जोडिएका अन्य विभिन्न सेवा क्षेत्रमार्फत अप्रत्यक्ष रूपमा पनि धेरैले आम्दानीको अवसर पाएका छन् । डिजि प्रिन्टका लागि आवश्यक पर्ने फोटोफ्रेम तथा अन्य सामग्री उत्पादन गर्नेले पनि यो व्यवसाय सँग जोडिएर काम गर्ने र स्वरोजगार हुने मौका पाउने गरेको अवस्था छ ।
मुस्ताङबाट व्यवसाय गर्नका लागि म्याग्दी झरेर पछिल्लो दुई दशकदेखि बेनीमा होटल व्यवसाय गर्दै आएका पूर्ण गौचनले होटल हिलभ्यू सञ्चालन गरी रहनु भएको छ । करिब १५ वर्षअघि २० लाख मुल्यमा सामग्री सहित खरिद गरेर सञ्चालनमा ल्याएको होटलमा परिवारका सदस्यसहित सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एकै दिनमा अधिकतम १५० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको होटलबाट आफू व्यवसायिक रूपमा सन्तुष्ट रहेको गौचनको भनाई छ । खानाको परिकार उत्कृष्ट बनाउने भनेर चिनिने थकाली समुदायका उहाँले पनि युवाहरुलाई स्वदेशमै रोजगारी दिन मद्दत गर्नुभएको छ ।
त्यसैगरी, २०६० को दशकदेखि होटल व्यवसायमा सक्रिय बाबुराम आचार्यले हाल होटल याक बेनी प्रालि सञ्चालन गरिरहनु भएको छ । उहाँले गलेश्वरस्थित सञ्चालन गरेको व्यवसायमा परिवारका दुई जना सदस्यसहित २५ जनाले रोजगारी पाएका छन् । रोजगारीको खोजीमा भारत तथा खाडीमा पुगेर फर्कनुभएका आचार्यले कुनै समय आफै रोजगारी खोजी गर्दै हिडेको भए पनि पछिल्लो दुई दशकदेखि स्वदेशमै बसेर अरूका लागि रोजगारी सिर्जना गर्न पाएकोमा गर्व लागेको सुनाउनुभयो ।
म्याग्दीमा पछिल्ला वर्षहरूमा पर्यटन, होटल तथा सेवा क्षेत्र विस्तार भएसँगै स्थानीय उद्यमीहरू पनि व्यवसाय विस्तारमा जुटेका छन् । उनीहरूले स्थापना गरेका व्यवसायले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिरहेका छन् । स्थानीय स्तरमा उत्पादन, सेवा र लगानी बढ्दै जाँदा म्याग्दीको अर्थतन्त्रलाई थप मजबुत बनाउन यस्ता उद्यमशील प्रयासहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
