अमृत बास्कुने
साउन २७ गते । रघुगंगा गाउँपालिकाले गाउँपालिकाको केन्द्रमै करदाता सेवा सञ्चालनमा ल्याएको छ । संघीयताको मर्मअनुसार नागरिकले सेवा लिन टाढाका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय तहबाटै आन्तरिक राजस्वसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो ।
करदाता सेवा सुरु गर्दा एक जनालाई व्यवसायीक पान र एक जनालाई व्यक्तिगत पान जारी गरिएको थियो । रघुगंगा गाउँपालिका ३ का माधवबहादुर भण्डारीलाई व्यक्तिगत पान प्रदान गरिएको थियो ।
करदाता सेवा सञ्चालनमा आएसँगै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने प्राकृतिक व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सक्नेछन् । त्यस्तै, गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार स्थायी लेखा नम्बर दर्तासम्बन्धी संशोधन, दर्ता खारेज भएका व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्नेलगायतका सेवा पनि स्थानीय तहबाटै उपलब्ध हुनेछन् । स्थानीय तहबाट सेवा दिन नसकिने आवश्यक कामका लागि आन्तरिक राजस्व कार्यालय बागलुङमा सिफारिस तथा रेफर गर्ने व्यवस्था मिलाइएको छ ।
करदाता सेवा शुभारम्भसँगै करदाता शिक्षा कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा व्यक्तिगत तथा व्यावसायिक करदाता, जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल शिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले स्वागत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले सेवा सञ्चालनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले संघीयताको मूल मर्मअनुसार सरकारका सेवा नागरिकको पहुँचमा पुग्नुपर्ने भएकाले आन्तरिक राजस्वसम्बन्धी सेवा गाउँपालिकामै ल्याइएको बताए ।
“जनता कार्यालयमा पुग्ने होइन, सेवा जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने संघीयताको मर्मअनुसार गाउँपालिकामै आन्तरिक राजस्वको सेवा ल्याइएको हो,” उनले भने ।
उनका अनुसार स्थानीय तहबाटै आन्तरिक राजस्वसम्बन्धी काम गर्ने रघुगंगा गाउँपालिका धवलागिरि अञ्चलभित्रको छैटौँ पालिका हो । स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा करदाता नागरिक तथा व्यवसायीलाई समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ ।
पौडेलले करसम्बन्धी जानकारीको अभावमा राज्यले उठाउनुपर्ने राजस्वसमेत उठ्न नसकेको बताए । नागरिकलाई कर तिर्नुपर्ने कारण, करको दायित्व, प्यानको आवश्यकता तथा करसम्बन्धी प्रक्रियाबारे पर्याप्त जानकारी दिन सके कर सहभागिता बढ्ने उनको भनाइ छ ।
“करको बारेमा जनतालाई बुझाउन नसक्दा राज्यले उठाउनैपर्ने कर पनि उठाउन सकेको अवस्था छ । करदातालाई करसम्बन्धी शिक्षा दिनु र सेवा सहज बनाउनु दुवै आवश्यक छ,” उनले भने ।
गाउँपालिकामै करदाता सेवा सुरु भएपछि प्यान लिन, विवरण संशोधन गर्न तथा करसम्बन्धी सामान्य प्रक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने भएको छ । यसबाट गाउँपालिकाभित्रका व्यवसायी, रोजगारी तथा स्वरोजगारमा रहेका व्यक्ति र विभिन्न संघसंस्थालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्थाले नागरिकलाई सेवा लिन सहज बनाउनुका साथै कर प्रशासनलाई नागरिकको नजिक पु¥याउने र स्थानीयस्तरमा कर सचेतना बढाउने अपेक्षा गरिएको आन्तरीक राजश्व कार्यालय बागलुङका प्रमुख शिलवालले बताए ।

