अमृत बास्कुने/म्याग्दी
ओझेलमा परेको म्याग्दीको अनुपम पर्यटकीय गन्तव्य
नेपालका विद्यालय तथा लोकसेवा आयोगका सामान्यज्ञानका पुस्तक पल्टाउने जो कोहीले कुनै न कुनै बेला पढेको नाम हो भालेबास्ने ताल । धेरैले परीक्षाका लागि यसको नाम कण्ठस्थ गरेका हुन्छन्, तर वास्तविक भालेबास्ने ताल कहाँ छ ? त्यहाँ पुग्न कस्तो यात्रा गर्नुपर्छ ? त्यहाँको प्राकृतिक सौन्दर्य कस्तो छ ? यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व के हो ? भन्ने विषयमा भने धेरैलाई जानकारी हुँदैन । अन्यत्र जिल्लाकालाई ज्ञान कम हुनु स्वभाविक हो तर जुन जिल्ला तथा सम्बन्धीत स्थानीय तहमै रहेका नागरिकलाइ पनि त्यो स्थानको बारेमा ज्ञान कम भएको पाउन सकिन्छ । तर वास्तवमा भालेबास्ने ताल कुनै पुस्तकको पानामा मात्रै सीमित विषय होइन । यो पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ स्थित प्रकृतिले सिंगारेको अनुपम सम्पदा हो । अप्ठेरो गोरेटो अनि घना जंगल, स्वच्छ वातावरण, जैविक विविधता, धार्मिक आस्था र मनोरम प्राकृतिक दृश्यले भरिपूर्ण मार्ग हुँदै पुगिने यो ताल आज पनि आफ्नै मौलिक स्वरूपमा अवस्थित छ । उचित प्रचारप्रसार र पहुँचको अभावका कारण अपेक्षित रूपमा पर्यटक पुग्न नसके पनि यहाँ पुग्ने प्रत्येक पर्यटकले प्रकृतिको अनुपम उपहारको अनुभूति लिएर फर्कने गरेका छन् । स्थानीय जनसमुदाय तथा मालिका गाउँपालिकाको आर्थिक लगानीमा बनेको पदमार्ग तथा ताल नजिकै बनेको मन्दिरले पनि थप आकर्षण बनाएको छ ।
भालेबास्ने ताल भनेर सामान्यज्ञानमा चर्चित, तर व्यवहारमा भने ओझेलमा
नेपालका धेरै विद्यार्थीले विद्यालय जीवनमा वा लोकसेवा आयोगको तयारीका क्रममा भालेबास्ने तालको नाम पढेका हुन्छन् । सामान्यज्ञानका पुस्तकमा समेटिने प्राकृतिक सम्पदामध्ये यसको नाम पनि उल्लेख हुने गरेको छ । तर विडम्बना, नाम पढ्नेको संख्या हजारौं लाखौं भएतापनि वास्तविक तालसम्म पुग्नेको संख्या भने निकै कम छ ।
यही कारणले भालेबास्ने ताललाई ‘नामले चर्चित तर प्रचारले ओझेल परेको गन्तव्य’ भन्न सकिन्छ । यो विरोधाभास आफैंमा नेपालको ग्रामीण पर्यटनको यथार्थ चित्र पनि त हो । हरेक नागरिकहरुले पढ्ने र कागजमा चिनिएको सम्पदा व्यवहारमा भने अझै पनि एकान्तमै बसेको छ । भालेबास्ने ताल सम्म पुग्नका लागि अहिलेको अवस्थामा सामान्यतया दुखु गाउँ हुँदै र दुखु खोलाको किनारै किनार पनि जान सकिन्छ । तर पनि पुग्नेको संख्या भने निकै न्युन हुने गरेको छ ।
दुखुदेखि सुरु गर्दा हुन्छ रोमाञ्चक यात्रा
भालेबास्ने ताल पुग्न पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ अन्तर्गत पर्ने ‘दुखु’ पुग्नुपर्छ । साविकको दरवाङ गाविसअन्तर्गत रहेको यो क्षेत्र अहिले मालिका गाउँपालिकाको वडा नम्बर–६ मा पर्दछ । बेनी दरवाङ सडक खण्डको तोलाबाङ देखि बायाँ तर्फ लागेर दुखु पुगे पछि त्यहाँदेखि पदयात्रा गर्दै भालेबास्ने ताल सम्म पुग्न सकिन्छ । बेनीदेखि सडकमार्ग हुँदै तोलाबाङ सम्म पुग्ने र त्यहाँबाट दुखुसम्म पुग्न सकिन्छ । तर दुखुबाट माथि भने गाडी पुग्न सक्ने सडक सुविधा छैन । त्यसपछि सुरु हुन्छ पदयात्रा । अर्को पदयात्रा दुखु खोलाको मुख्य मार्ग पछ्याउँदै उकालो लाग्नुपर्छ । जंगलको छहारी तथा खोला किनार तथा खोलाको दृष्याबलोकन गर्दै त कतै ढुङ्गे बाटो त कतै उबडखाबड पहाडी पदमार्ग पार गर्दै यात्रुहरू अघि बढ्न सकिन्छ । पछिल्ला वर्षहरूमा स्थानीय सरकार र समुदायको पहलमा पदमार्ग निर्माण गरिएकाले विगतको तुलनामा यात्रा सहज बनेको छ । दुखु गाउँबाट यात्राको सुरुवातमा केही तेश्रो हिडे पछि केही सिडि सहितको कडा उकालो भए पनि त्यसपछि समथर तथा हल्का ओरालो–उकालो मिसिएको बाटोले यात्रालाई रमाइलो बनाइदिन्छ । बाटोभरि चराचुरुङ्गीको आवाज, वनस्पतिको सुगन्ध, चिसो हावा र प्रकृतिको सुमधुर वातावरणले यात्राको थकान नै बिर्साइदिन्छ । शुरुमा भएको उकालोले नयाँ यात्रा गर्नेलाई निकै कठीनाई भए पनि त्यस पछि भने तेश्रो सडकले भने सबैलाई सहज अनि उत्साहप्रद नै हुन्छ ।
नाम किन रह्यो भालेबास्ने ताल ?
दुखु गाउँ नजिकै रहेको भालेबास्ने तालका बारेमा स्थानीय बुढापाकाको भनाई अनुसार विगतमा ताल वरपरको जंगल क्षेत्रमा जंगली भाले र विभिन्न प्रजातिका चराचुरुङ्गी प्रशस्त पाइन्थे । बिहान सबेरै ती भालाहरूको बास्ने आवाजले सिंगो जंगल गुन्जायमान हुन्थ्यो । यही कारणले यस तालको नाम भालेबास्ने ताल रहन गएको जनविश्वास छ । यद्यपि यसको ऐतिहासिक प्रमाण लिखित रूपमा कम पाइए पनि पुस्तौंदेखि स्थानीय समुदायले यही कथनलाई निरन्तर सुनाउँदै आएका छन् । स्थानीयको जनश्रुती र मान्यतालाई नै नेपालले मान्दै आएको छ । सामान्यज्ञानको पुस्तकमा भालेबास्ने ताल कुन जिल्लामा पर्छ भनेर प्रश्न र उत्तरमा म्याग्दी भनेरै लेखिएको छ । मान्यता के भन्दा पनि यसको प्रचार र विश्वासको कुरा पनि त हो ।
प्राकृतिक सौन्दर्यले लोभ्याउने गन्तव्य
पदयात्रापछि जब यात्रु ताल नजिक पुग्छ, त्यसपछि देखिने दृश्यले सबै थकान क्षणभरमै हराइदिन्छ । घना जंगलको बीचमा शान्त ताल, पानीमा आकाश र वरिपरिका रुखको प्रतिबिम्ब, वरिपरि फैलिएको हरियाली र स्वच्छ वातावरणले यो क्षेत्रलाई प्राकृतिक स्वर्गको अनुभूति गराउँछ । ताल सम्म पुग्ने जोखिमयुक्त सडक अनि तालमा पुग्न पनि मोल्नु पर्ने जोखिम पनि छ त । जोखिम पार गरेर पुगिने गन्तव्य अनि त्यस पछि पुगिने स्थानको गोप्यता पनि त सबैका लागि महत्वको कुरा हो । वर्षात्को समयमा तालमै पुग्न सकिदैन तर तालबााट झरेको झरनाको मनोरम दृष्यले भने मनलाइ फुरुङ्ग बनाउँछ ।
वर्षायाममा हरियालीले ढाकिएको जंगल, शरद ऋतुमा निलो आकाश, हिउँदमा चिसो मौसम र वसन्तमा फुलेका फूलहरुले यहाँको सौन्दर्यलाई अझ आकर्षक बनाउँछन् । मौसमअनुसार बदलिने प्रकृतिको रूपले प्रत्येक पटक पुग्दा नयाँ अनुभूति दिलाउँछ त्यो स्थान सम्म पुग्नेहरुका लागि । फोटोग्राफी, प्रकृति अवलोकन, अध्ययन अनुसन्धान तथा शान्त वातावरण खोज्नेहरूका लागि भालेबास्ने ताल उत्कृष्ट गन्तव्य बन्न सक्छ । नजिकैको डिस्कोमा बनाइएको पार्क जस्तै गरी मन्दिर अनि ट्रष्टको घेराबारले प्रदान गरेको सुरक्षा अनि ठूला चट्टान र त्यही चट्टानको बीचमा रहेको ताल अनि त्यो तालबाट तर झर्ने झरनाले पनि त सबैको मनलाई उत्साहीत बनाउँछ ।
जैविक विविधताको धनी क्षेत्र
ताल वरपरको जंगल जैविक विविधताले सम्पन्न छ । यहाँ विभिन्न प्रजातिका वनस्पति, चराचुरुङ्गी तथा जंगली जनावर पाइन्छन् । घना वन भएकाले वातावरण सधैं शीतल रहन्छ । कालिज, तित्रा तथा अन्य चराचुरङ्गीहरुको चिरबिर र आवाजले पनि त्यो ठाउँमा पुग्ने जो कसैको मनलाई फुरुङ्ग बनाएरै छाड्छ । प्राकृतिक जलस्रोत, वनस्पति र वन्यजन्तुको संरक्षणका दृष्टिले पनि यो क्षेत्र निकै महत्वपूर्ण मान्न सकिन्छ । संरक्षणमुखी पर्यटन विकास गर्न सकिए यहाँको जैविक विविधता थप सुरक्षित रहने अपेक्षा गर्न सकिन्छ । थप केही पूर्वाधार निर्माण अनि अन्य केही थप्न सकेको खण्डमा पनि राम्रो हुने लाग्दछ ।
धार्मिक आस्था पनि जोडिएको छ
भालेबास्ने ताल केवल प्राकृतिक गन्तव्य मात्र होइन, स्थानीयहरूको धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो । ताल नजिकै मालिका गाउँपालिकाको सहयोगमा रेलिङसहितको मन्दिर निर्माण गरिएको छ । यसले ताल क्षेत्रमा आउने दर्शनार्थी तथा पर्यटकलाई सहज बनाएको छ । विशेष पर्व तथा धार्मिक अवसरमा स्थानीय बासिन्दा ताल क्षेत्रमा पुगेर पूजा–आराधना गर्ने परम्परा अझै कायम छ । प्राकृतिक सम्पदालाई देवस्थलका रूपमा सम्मान गर्ने स्थानीय संस्कृतिले यस क्षेत्रको महत्वलाई अझ बढाएको छ । आन्तरीक तथा बाह्य पर्यटकहरु लाभान्वित हुने भन्दै गाउँपालिकाको ४ लाख र स्थानीय जनश्रमदान गरी चार लाख ३४ हजार एक सय एक रुपियाँ ९५ पैसाको लागतमा निर्माण भएको मन्दिरले आकर्षण बढाउने मात्रै नभएर आस्था पनि बढाएको छ।
पदमार्गले बढाएको सम्भावना
पहिले भालेबास्ने तालसम्म पुग्न निकै कठिन मानिन्थ्यो । स्पष्ट बाटो नहुँदा धेरैले बीच बाटोबाटै फर्कने गरेका थिए । तर पछिल्ला वर्षहरूमा निर्माण गरिएको पदमार्गले यात्रालाई सहज बनाएको छ । यद्यपि केही स्थान अझै उबडखाबड छन् । ती स्थानको स्तरोन्नति गर्न सकियो भने सबै उमेर समूहका पर्यटकलाई पुग्न सहज हुनेछ । सडक नपुग्नु कतिपयका लागि कमजोरी जस्तो देखिए पनि प्रकृतिप्रेमी तथा पदयात्रीका लागि यही कुरा यसको आकर्षण पनि बनेको छ । अहिले विश्वभर नै पदयात्रामार्फत प्राकृतिक गन्तव्यको अनुभव गर्ने पर्यटकको संख्या बढिरहेको छ । भालेबास्ने ताल सम्म अहिलेको अवस्था हेर्दा पनि सडक सञ्जाल विस्तार भन्दा पनि पदमार्गलाई नै व्यवस्थीत गर्नुको बिकल्प छैन । भौगोलिक अवस्था र पदयात्रामा हुने आत्मसन्तुष्टिकालागि पनि त्यो क्षेत्रमा पदमार्ग नै निर्माण गरिनु पर्छ ।
पर्यटन विकासको अथाह सम्भावना
भालेबास्ने ताललाई केन्द्र बनाएर पर्यटकीय गतिविधि विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ । तालसम्म पुग्ने पदयात्रा, जंगल भ्रमण, चराचुरुङ्गी अवलोकन, धार्मिक पर्यटन, फोटोग्राफी, क्याम्पिङ तथा स्थानीय संस्कृति अवलोकनलाई एकीकृत गर्न सकियो भने यो क्षेत्र ग्रामीण पर्यटनको उत्कृष्ट नमुना बन्न सक्छ । मालिका गाउँपालिका क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्नकालागि दुखु मालिका मन्दिर हुँदै भालेबास्ने ताल तथा त्यसलाई पनि जोड्ने गरी मालिका गाउँपालिका भित्रका अन्य पर्यटकीय स्थल तथा धार्मिक तथा प्राकृतिक गन्तव्यलाई जोडेर पर्यटन सर्किट निर्माण गर्न सकिने सम्भावना पनि उत्तिकै बलियो छ ।
स्थानीय अर्थतन्त्रको आधार बन्न सक्छ
पर्यटन विकाससँगै स्थानीय बासिन्दाको आयआर्जन बढ्ने सम्भावना पनि उत्तिकै छ । दुखु क्षेत्रमा होमस्टे सञ्चालन, स्थानीय परिकार, कृषि उत्पादन, मौलिक हस्तकला तथा स्थानीय संस्कृतिको प्रदर्शनमार्फत गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । वैदेशिक रोजगारीका कारण खाली हुँदै गएका गाउँमा पर्यटनले नयाँ सम्भावना सिर्जना गर्न सक्छ । विशेषगरी युवालाई गाउँमै उद्यम गर्ने वातावरण बनाउन पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने दुखुका युवा सौगात गुरुङको भनाई छ ।
प्रचारप्रसार अझै कमजोर
यति धेरै सम्भावना हुँदाहुँदै पनि भालेबास्ने तालको सबैभन्दा ठूलो समस्या भनेकै उचित प्रचारप्रसार नै हो । सामान्यज्ञानका पुस्तकको पानामा नाम समेटिए पनि डिजिटल माध्यम, पर्यटन नक्सा, यात्रा प्याकेज तथा राष्ट्रिय प्रचारप्रसारमा यो गन्तव्यले अझै पर्याप्त स्थान पाउन सकेको छैन । सामाजिक सञ्जाल, वृत्तचित्र, पर्यटन मेला तथा सञ्चारमाध्यममार्फत यसको प्रभावकारी प्रचार गर्न सके पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्न सक्छ । तर हाल सम्मको अवस्था हेर्ने हो भने पनि कुनै पनि माध्यममा उचित प्रचारको कमी नै छ । गाउँपालिका होस या अन्य कसैले पनि यसको उचित तबरको प्रचार गर्न नसकेको हो की भन्ने आरोप लाग्ने गरेको छ ।
अब भने गाउँपालिकाको प्राथमिकतामा
मालिका गाउँपालिकाको कार्यपालिका बैठकले नै पर्यटन प्रवद्र्धनलाई महत्वमा राख्ने र सहकार्य गर्ने निर्णय गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि, कार्यपालिकाको बैठक तथा म्याग्दी उद्योग बाणिज्य संघ मालिका गाउँपालिका इकाईले चालु आर्थिक वर्षमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका ३५ स्थान घोषणा गरेको छ । तीमध्ये भालेबास्ने ताल पनि प्राथमिकतामा परेको गन्तव्य हो । मालिका गाउँपालिका भित्र रहेका मध्ये देशविदेशले चिनेको सुनेको नाम भालेबास्ने ताल भएको हुनाले नै यो स्थानलाई पर्यटकीय महत्वको स्थानका रुपमा अगाडी सारेको छ । गाउँपालिका, जनप्रतिनिधि, म्याग्दी उद्योग वाणिज्य संघ मालिका बजार इकाई, स्थानीय संघसंस्था तथा समुदायको सहकार्यमा यसको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गर्ने योजना अघि बढाइएको अहिलेको अवस्थाले अब गाउँपालिका मात्रै होइन हरेक नागरिकले पनि भालेबास्ने ताललाई प्रचार गर्ने भएको देखिन्छ । यदि योजनाबद्ध रूपमा पूर्वाधार निर्माण, सूचना केन्द्र, विश्रामस्थल, खानेपानी, सरसफाइ, सुरक्षा तथा डिजिटल प्रचारलाई प्राथमिकता दिइयो भने भालेबास्ने ताल केही वर्षमै पश्चिम नेपालको उत्कृष्ट प्राकृतिक गन्तव्य बन्न सक्ने सम्भावनालाई नर्कान सकिदैन ।
संरक्षण र विकास सँगसँगै
पर्यटन विकासको नाममा प्राकृतिक सम्पदाको दोहन हुनु हुँदैन । तालको मौलिक स्वरूप जोगाउनु नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले फोहोर व्यवस्थापन, वन संरक्षण, जैविक विविधताको सुरक्षा र जिम्मेवार पर्यटनलाई सँगसँगै अघि बढाउनुपर्छ । स्थानीय समुदायको सक्रिय सहभागिताबिना दिगो पर्यटन सम्भव छैन । त्यसैले संरक्षण र विकासबीच सन्तुलन कायम गर्नु नै भालेबास्ने तालको भविष्यको सफलता हुने दुखुका युवा जीवन पुनको भनाई छ ।
निष्कर्ष:
भालेबास्ने ताल कुनै साधारण ताल होइन । यो नेपाली विद्यार्थीले सामान्यज्ञानमा पढ्ने नाम मात्र पनि होइन । यो प्रकृतिले म्याग्दीलाई दिएको अनुपम उपहार हो, जसले प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र पर्यटनको अथाह सम्भावनालाई एकैसाथ समेटेको छ । आज पनि भालेबास्ने ताल पुग्न केही घण्टाको पदयात्रा गर्नुपर्छ । उबडखाबड बाटो पार गर्नुपर्छ । तर जब यात्रु तालको किनारमा पुगेर प्रकृतिको अनुपम दृश्य नियाल्छ, तब यात्राको सम्पूर्ण थकान आनन्दमा बदलिन्छ । प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन सकियो भने भालेबास्ने ताल भविष्यमा केवल म्याग्दीको मात्र होइन, नेपालकै उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने मालिका गाउँपालिका ६ का वडा अध्यक्ष पथबहादुर रोकाको भनाई छ । सामान्यज्ञानका पुस्तकमा पढिने नाम अब प्रत्यक्ष अनुभव गर्न लायक गन्तव्यका रूपमा परिचित बनाउने जिम्मेवारी भने अब स्थानीय सरकार, समुदाय र पर्यटनसँग सरोकार राख्ने सबै पक्षको काँधमा आएको छ ।
