काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ । शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेल्नुभएको थियो ।
अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनिती, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लाग्नुभएको हो । शरदको आगमनले काठमान्डु गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ ।
शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू–१५ एसिया कपमा खेल्न सुरु गर्नुभएको थियो । त्यसपछि नेपालको यू–१७, यू–१९ हुदै शरदले २००४ मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो ।
शरदले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालले २०१८ मा नेदरल्यान्ड्स गएर पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा शरद त्यो टोलीका सदस्य हुनुहुन्थ्यो ।
प्रथम श्रेणीको क्रिकेटमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर ८९ रन रहेको छ, जुन शरदले २००५ मा कीर्तिपुरमा यूएईविरुद्ध इन्टर कन्टिनेन्टल कपमा बनाउनुभएको थियो । उहाँले गतवर्ष हङकङ सुपर सिक्समा नेपालको कप्तानी गर्दै शरदले आफ्नो खेल जिवनलाई टुङ्ग्याउनुभएको थियो ।
घरेलु क्रिकेटमा पनि शरद निकै सफल खेलाडी तथा कप्तान हुनुहुन्छ । नेपालका विभिन्न फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा तीन उपाधि जितेको थियो भने ३ मा उपविजेता बनेको थियो ।
शरदले एनपिएल सिजनका लागि एकदमै उत्साहित रहेको र यसलाई चुनौतीको रुपमा लिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘‘आफ्नो तर्फबाट शतप्रतिसत दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछु ।’’
