म्याग्दीको रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट ल्याएको छ । देशभरका कुनै पनि स्थानीय तहले हिजोसम्म बजेट ल्याएका थिएनन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सबै भन्दा पहिला नीति तथा कार्यक्रम र बजेट ल्याएर पारित समेत गरेको छ ।
बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँसभाले ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँ बराबरको बार्षिक बजेट पारित गरेको हो । गाउँपालिकाले संघिय सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँडबाट हुने आय लगायतका शिर्षकमा सो बजेट तर्जुमा गरेको उपाध्यक्ष प्रेम कुमारी पुनले वताईन ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विहिवार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष भण्डारीद्धार प्रस्तुत नीति तथा कार्यक्रम सर्बसहमतीमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । उपाध्यक्ष प्रेमकुमारी पुनले सभामा पेस गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान तथा संघीय अन्तरसरकारी हस्तान्तरण अन्तर्गत गाउँपालिकालाई बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणको बजेट प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारको राजश्व बाँडफाँड, प्रदेश राजश्व फाँडफाँडबाट आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै, आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वतर्फ १ करोड ५ लाख रुपैयाँ उठाउने अनुमान गरिएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड ५६ लाख २७ हजार ७ सय रुपैयाँ, सामाजिक विकास तर्फ २६ करोड ६९ लाख ७० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ १३ करोड ४५ लाख ७२ हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड २१ लाख ५१ हजार रुपैयाँ र वन वातावरण तथा विपद् व्यवस्थापनमा ११ लाख गरी कुल ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँ बिनियोजन गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि र ग्रामिण सडकलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याइएको छ । यसपटक समुदायमा उत्पादन, कृषि र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरतासँगै थप गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । रघुगंगा गाउँपालिकाले देशभरमा नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेट समेत पारित गर्ने पहिलो पालिका भएको पौडेलको भनाई छ ।
पालिकाले रैथाने बालीको उत्पादन, प्रवद्र्धन र बजारीकरणलाई जोड दिएको छ । त्यसैगरी लोप हुँदै गएको रैथाने पशुपंक्षिको संरक्षण, उच्च भौगोलिक क्षेत्रमा रहेका पशुगोठ सुधार, उत्कृष्ठ कृषक पुरस्कार र बिमा अन्तरक्रियालाई गाउँ टोलमा पुराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन प्रवद्र्धन भेला, बृत्तचित्र निर्माण, सामाजिक सञ्जालमा साझा गर्ने कार्यलाई प्रमुख औजारको रुपमा उपयोग गर्ने नीति छ । देश विदेशमा पहिचान बनाउन सफल खेलाडीलाई सम्मान गर्ने, खेलकुद संस्थालाई सहायता र भौतिक संरचनाको बिकासमा सहयोग गर्ने नीति पनि गाउँपालिकाले लिएको अध्यक्ष भण्डारीको भनाई छ ।
महिलामा हुने प्रजनन रुग्णताको स्क्रिनिङ र मानसिक स्वास्थ्य समस्या तथा नसर्ने रोगको स्क्रिनिङका लागि निशुल्क शिविर गर्नुका साथै शुन्य होम डेलिभरी पालिकाको लागि पूर्ण संस्थागत सुत्केरी प्रोत्साहन अभियान तदारुकताका साथ सञ्चालनमा ल्याइने छ ।
गाउँपालिकाले विद्युतिय हाजिरी, टोकन सेवा प्रणाली लागु गर्ने र एआइको प्रयोग गरी सेवा प्रवाहलाई प्रबिधिमैत्री बनाउने नीति अनुरुप अगाडी बढ्ने जनाएको छ । गाउँपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बढ्दो रासायनिक पदार्थको नियन्त्रण गर्न पाइलट प्रोजेक्टका रुपमा कुइनेखानी गाउँलाई अर्गानीक गाउँ घोषणा गरी प्राङ्गरीक मल उत्पादनमा अनुदान दिने कार्यक्रम तय गरेको छ ।
