अमृत बास्कुने, म्याग्दी
जेठ ५ गते । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिका भित्र रहेका १५ महिना मुनिका एक सय २४ जना बालबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिना सम्मका तीन सय ९२ जना बालबालिकाले पूर्ण खोप पाइ सकेको सुनिश्चित गरी प्रमाणीकरण गरे पछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । हाल जन्मेदेखि ५९ महिना सम्मका कुल पाँच सय १६ जना बालबालिकाहरु खोपको दायरामा रहेको अन्नपुर्ण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष डिलकुमारी खत्रीले गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनलाई पूर्ण खोपको प्रमाणपत्र हस्तान्तरण गरे संगै गाउँपालिका यस वर्ष पनि पूर्णखोप सुनिश्चित भएको अन्नपुर्ण गाउँपालिका खोप समन्वय समितिका सदस्यसचिव एवम् गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाललको भनाई छ ।
रोहीत जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक डिलकुमारी खत्री, अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, जिल्ला खोप समन्वय समितिका सदस्यसचिव भुवन ठकुराठी, अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कपिल पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
यसैबीच मालिका गाउँपालिकालाई पनि मंगलबार नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी खत्रीले जानकारी दिइन् ।
सोमबार रघुगंगा गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । गाउँपालिका भित्रका १५ महिना भन्दा मुनिका एक सय १५ जना बालिबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि २३ महिनाका ९३ जना र २४ देखि ५९ महिनाका चार सय ६० गरी कुल पाँच सय ५३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता गरे सँगै पालिकालाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गरिएको हो ।
मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका पनि पूर्ण खोप घोषणा भए सँगै पुरै जिल्ला पूर्ण खोप जिल्ला भएको जिल्ला खोप समन्वय समितिका संयोजक डिलकुमारी खत्रीको भनाई थियो । खत्रीका अनुसार पालिकामा सतप्रतिशत खोप युक्त बनाउन प्रयास गर्ने सबै स्वास्थ्यकर्मीको मेहनतले नै पालिकाले यो स्थान हासिल गरेको हो ।
यसैबीच गत मंगलबार धवलागिरी गाउँपालिकाका जन्मेदेखि १५ महिना भित्रका सबै बालबालिकाले नियमित खोप लगाइ रहेको र १६ देखि ५९ महिना भित्रका सबै बालबालिकाले खोप लगाएको शुनिश्चित गरे सँगै पूर्ण खोप पालिका घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाकी सम्झना केसीको भनाई छ । धवलागिरी गाउँपालिकामा जन्मेदेखि १५ महिना भित्रका एक सय ५७ जना बालबालिकाले खोप लगाएको खोप कार्ड सहित प्रमाणित गरिएको र १६ देखि ५९ महिना सम्का पाँच सय ३४ जनाले पनि पूर्ण खोप लगाएको पुष्टि भए पछि पूर्ण खोप पालिका घोषणा गरिएको छ ।
बालबालिकालाई १५ भित्र बिसिजि, रोटा, पोलियो, एफआईपीभी, पिसिभि, डिपिटि, हेपटाइटिस बि, दादुरा रुवेला र जापानीज इन्सेपलाइटिस लगायतका १४ रोगका बिरुद्ध ११ वटा खोप लगाउने तालिका हुन्छ ।
त्यसैगरी मंगला गाउँपालिकामा १५ महिना मुनिका १४० जनाले पूर्ण खोप पाएको र १६ देखि ५९ महिनाका पाँच सय ६१ जना बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने पुरै खोप पाएको सुनिश्चित भए पछि पूर्ण खोप सुनिश्चित तथा दिगो पन घोषणा गरिसकिएको छ । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार गाउँपालिकाले २०८३ बैशाख ७ देखि ११ गते सम्म वडाहरुलाइ पूर्ण खोप घोषणा गरिएको थियो ।
हाल नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्रहरुमा १७ हजार भन्दा बढी खोप सेसन हुने गर्दछ । नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै प्रत्येक बालबालिकालार्य पूर्ण खोप पाउने कानुनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा गर्ने गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा स्थानीयतहको काम कर्तव्य र अधिकार तथा वडा समितिको काम कर्तव्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सञ्चालनको व्यवस्था गरेको छ ।
म्याग्दी जिल्लालाई २०७१ चैत १५ गते पूर्ण खोप घोषणा गरिएको थियो भने हाल सम्म पनि सबै वडा तथा पालिका हुँदै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिदै आएको छ ।
