काठमाडौं । अर्को एउटा रोमाञ्चकारी प्रतिस्पर्धामा नेपालले अर्को एउटा चुक्चुकाउने हार व्यहोरेको छ । विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्ध नेपालले बहादुरीपूर्ण प्रदर्शनका बाबजुद दुई रनको हार स्वीकार्न बाध्य भयो ।
विस्फोटक ब्याटिङ गरिरहेका मन्सी र अर्का ओपनर फिन्ले म्याकक्रेथलाई सन्दीपले एकै ओभरमा पेभिलियन फर्काउँदै नेपाललाई खेलमा फर्काए । मन्सीले आउट हुनुअघि ६२ बलमा ७५ रन जोडेका थिए । त्यसपछि छोटो अन्तरालमै फेरि सन्दीपले ब्रान्डेन म्याककुलम र कप्तान रिची बेरिङटनलाई पनि पेभिलियनको बाटो देखाए । यसरी १४ रनको अन्तरालमा सन्दीपले स्कटल्यान्डका चार मुख्य ब्याट्सम्यानहरुलाई आउट गरेपछि खेलमा नेपालको पकड बलियो बन्यो ।
मिचेल ईग्लीस र म्याथु क्रसले धैर्यतापूर्वक ब्याटिङ गर्दै स्कटल्यान्डलाई अघि बढाए । उनीहरूको जोडी करण केसीले फुटाए । त्यसपछि आए मार्क वाट । नेपाल प्रिमियर लिगका कर्णालीबाट खेल्दै विस्फोटक शतक हानेका वाटले छोटो केमियो खेले, जसले नेपाललाई ‘हर्ट’ गर्यो । उनले १८ बलमा २४ रन हानेर स्कटल्याडको स्कोर उकासे । खराब फिल्डिङ गर्दै दुईपटक वाटलाई जीवनदान दिनु नै नेपालको दुर्भाग्य बन्यो । नेपालका सर्वोत्कृष्ट फिल्डर दीपेन्द्रसिंह ऐरीले दुवै पटक उनको क्याच ड्रप गरेका थिए । उक्त क्याच समातेको भए वाट बेलैमा पेभिलियन फर्किसक्थे ।
आठौँ नम्बरमा आएर अलराउन्डर माइकल लिस्कले पनि केही राम्रा सटहरू खेले । उनले २३ बलमा २९ रन प्रहार गर्दै स्कटल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याएका थिए । नेपालले १६ अतिरिक्त रन खर्चेर स्कटल्यान्डलाई सहयोग गर्यो, जसमा ११ वटा वाइड थिए । जबकि, स्कटल्यान्डले आफ्नो बलिङमा ३ वटा मात्रै वाइड फ्याँकेको थियो । दुई टिमबीच एउटा फरक यसले पनि पार्यो ।
बलिङमा आज सन्दीपपछि सम्झिनुपर्ने नाम हो नन्दन यादव । उनले सुरुदेखि अन्त्यसम्म कसिलो बलिङ गरे । नन्दनको अन्तिम ओभर सम्झनलायक थियो, जहाँ उनले केवल १ रन खर्चेर एक विकेट लिए । अन्यथा स्कटल्यान्ड सहजै २५० को आँकडा पार गर्ने अवस्थामा थियो । स्कटल्यान्ड २४३ रनमा रोकिँदा नेपालको क्याम्पमा खुसी छाएको थियो ।
यदि नेपालले पूरा ५० ओभर खेल्न पाएको भए सायद २४४ रनको लक्ष्य धेरै चुनौतीपूर्ण नहुन सक्थ्यो । तर, वर्षाका कारण दोस्रो इनिङको खेल ३९ ओभरमा झारियो र डीएलएस मेथडअनुसार नेपाललाई २२१ रनको नयाँ लक्ष्य दिइयो । नेपालले ६६ बल कम खेल्न पाउँदा बनाउनुपर्ने रन भने २३ मात्रै घट्यो । यद्यपि, यो क्रिकेटको नियमानुसार नै भएको हो ।
आज नेपालको हारमा टप अर्डरको सबैभन्दा ठूलो हात छ भन्दा फरक नपर्ला । लिग २ को अघिल्लो शृङ्खलाबाट नेपालले आफ्नो लामो समयदेखि स्थापित टप अर्डर गिजोलेको छ । कुशल भुर्तेल र आसिफ शेखको सफल जोडी भत्काएर विभिन्न प्रयोग भइरहेका छन् । यस्तो महत्त्वपूर्ण सिरिजमा अर्जुन कुमालजस्ता अनुभवहीन र विनोद भण्डारीजस्ता पाको उमेरका खेलाडीलाई समावेश गरिएको छ । उनीहरू दुवै आज चलेनन् । ओपनिङमा आएका आसिफ र विनोद दुवैले रक्षात्मक ब्याटिङ गर्दा सुरुबाटै रनरेटको दबाब बढ्न थाल्यो ।
आसिफ शेखले ४७ बलको सामना गर्दा २१ रन मात्रै जोड्न सके । विनोद भण्डारी १५ बलमा १० रनमा आउट भए भने अर्जुन कुमाल २ बलमा खाता नखोली पेभिलियन फर्किए । दीपेन्द्र क्रिजमा आउँदासम्म नेपाल १३.३ ओभरमा केवल ४५ रन जोडेर ३ विकेट गुमाएको कठिन स्थितिमा पुगिसकेको थियो । तर, कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रले आशालाग्दो पार्टनरसीप गर्दै नेपाललाई खेलमा फर्काए ।
अभूतपूर्व लयमा रहेका दीपेन्द्र क्रिजमा रहँदासम्म स्कटल्यान्डका फिल्डरहरुको अनुहार मलिन भइसकेको थियो । दीपेन्द्र–रोहित क्रिजमा हुँदा फिल्डरहरुलाई यत्तिकै पनि प्रेसर हुन्छ किनकि उनीहरू विकेटको बीचमा अति तेज कुद्छन् । फिल्डरले आँखा झिम्क्याउने मौकासमेत पाउँदैनन् । आफ्नो उत्कृष्ट लय गुमाएका रोहितले दीपेन्द्रलाई बलियो साथ दिइरहेका थिए । तर, अचानक आवेशमा आएर स्कुप सट खेल्न खोज्दा विकेट गुमाउन पुगे । यहाँबाट खेल फेरि स्कटल्यान्डको पक्षमा मोडियो ।
दीपेन्द्र–रोहितले नेपाललाई तीन विकेट क्षतिमा १२२ रनको स्थितिमा पुर्याएका थिए । खेल बिस्तारै नेपालको पकडमा आइरहेको थियो । तर, रोहितको विकेटसँगै स्कटल्यान्डको आत्मविश्वास फर्कियो । नेपालले भटाभट विकेट गुमाउन थाल्यो । रोहितले आउट हुनुअघि ४६ बलमा ३२ रन जोडेका थिए । रोहितलाई पछ्याउँदै दीपेन्द्र पनि पेभिलियन फर्किए । उने ४९ बलमा १ छक्का र ५ चौकासहित ५५ रन जोडेका थिए । क्राइसिसम्यान आरिफ शेख पनि आज टिकेनन् । नेपालले ८ रनको अन्तरमा ३ महत्त्वपूर्ण विकेट गुमाउन पुग्यो ।
बहादुरीपूर्वक ब्याटिङ गरिरहेका दीपेन्द्र आउट भएसँगै नेपालको आशा चकनाचुर भएको थियो । तर खेलमा अझै रौनक सकिएको थिएन । किनकि क्रिजमा थिए गुल्शन झा । दीपेन्द्रको अभाव पूर्ति गर्दै उनले स्कटल्यान्डका बलरहरूमाथि धावा बोल्न थाले । करण केसी र नन्दन यादवसँग मिलेर झाले नेपाललाई जितको नजिकै पुर्याए । अन्तिम दुई ओभरमा नेपाललाई चाहिएको थियो २८ रन । ३८ औँ ओभरमा गुल्शन र नन्दन मिलेर १५ रन निकाल्न सफल भए । दुवैले एक–एक चौका प्रहार गरेका थिए ।
अन्तिम ओभरमा नेपाललाई चाहियो १३ रन । क्रिजमा गुल्शन थियो । यस्तो सिचुयसन उनले कयौंपटक सामना गरिसकेका छन् । ब्राड क्यूरीले फ्याकेको पहिलो बलमा २ रन लिए उनले । तर, दोस्रो बलमा रन लिएनन्, जबकि दुई रनको गुञ्जायस थियो । यही नै गुल्शनको ब्लन्डर भयो । एक रन मात्रै आउने ठानेर उनी रनका लागि दौडिएनन् । तर, उनले नन्दनलाई विश्वास गरेर एकै रनका लागि भए पनि दौडिनुपर्थ्यो । नन्दन ब्याटिङ गर्न सक्ने खेलाडी हुन् र ठूला सट पनि हान्न सक्छन् । नन्दन रनका लागि दौडिएर पनि बीचबाटै फर्किनुपर्यो ।
अब अन्तिम चार बलमा ११ रन चाहिने चुनौतीपूर्ण अवस्था सिर्जना भयो । तेस्रो बलमा पनि गुल्शनले बाउन्ड्री निकाल्न सकेनन् र २ रनका लागि दौडिए । चौथो र पाँचौं बलमा उनी पूर्णरुपमा बिट भए । पाँचौं बलमा बाउन्ड्री लगाउन नसकेपछि नेपालको सम्भावना समाप्त भयो । गुल्शनले अन्तिम बलमा छक्का हाने, तर त्यसको कुनै अर्थ भएन । नेपालले खेल हारिसकेको थियो ।
