कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई डर र प्रभावमा राखेर न्याय सम्पादन सम्भव नभएको बताएकी छन्।
शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ सरकार नै भए पनि डर र त्रासमा न्याय सम्पादन गर्न सम्भव नहुने र त्यसबाट माथि उठ्नु पर्ने बताएकी हुन्।
‘म सबै हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु। डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीबाट आह्वान गर्दछु,’ उनले भनिन्।
उनले आफूले जीवनभर विभेद र अन्यायको लडाइँ लडेको र अझै पनि लड्न बाँकी रहेको बताएकी छन्।
‘म आफै जीवनभर विभेद र अन्यायको लडाई लडेँ कानुन व्यवसायी हुँदा देखि। लडाई अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भइ काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा देओस्,’ उनले भनिन्।
उनले विधि र वैधानिक परम्पराको हत्या गरी स्वार्थ प्रेरित कार्यले निरंकुशताको झझल्को दिने पनि बताएकी छन्।
‘वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कामहरूले निरंकुशताको झझल्को पनि दिन्छ,’ उनले भनिन्, ‘औचित्यताको नाममा विधिमा छेडछानी गर्ने कार्य स्वेक्षाचारिता शासकका लागि स्वभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेका लागि सह्य हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो। विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।’
बिहीबार संवैधानिक परिषदले प्रधानन्यायाधीश पदमा मल्लसहित तीन जना न्यायाधीशलाई पन्छाएर चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।
यसरी सिफारिस गरेपछि अहिले सरकारको आलोचना समेत भइरहेको छ।
कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीश मल्लले गरेको सम्बोधनको सम्पादित अंश—
बार एशोसिएशनका अध्यक्षज्यू एवं उपत्यका स्थित बार एशोसिएनका अध्यक्ष एवम पदाधिकारीज्यूहरू । विद्वान् वरिष्ठ अधिवक्ताज्यूहरू तथा अधिवक्ताज्यूहरू । राष्ट्रसेवक सम्पूर्ण कर्मचारीज्यूहरू, सञ्चारकर्मीज्यूहरू एवम् उपस्थित अन्य महानुभावहरू ।
१. सर्वप्रथम, ‘कानून दिवस, २०८३’ को अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणालाई संस्थागत गर्दै मुलुकमा सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न र सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्याय प्रणालीको प्रत्याभूतिका लागि आजको यस विशेष दिनले हामी सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछु ।
२. नेपाल प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रुपमा मनाउँदै आएका छौ । शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप राज्यका प्रमुख अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बिच राज्यशक्तिको विभाजन गर्दै न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले निर्माण गरेको जगबाट नै आजको आधुनिक न्यायप्रणाली सम्मको यात्रा तय हुन सकेको छ ।
३. यस विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको गरीमामय समुपस्थितिले हामीलाई अत्यन्त गौरवको अनुभूति भएको छ । सम्माननीयज्यूप्रति हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दछु । साथै, हाम्रो आमन्त्रणलाई स्वीकार गरी समारोहमा महत्त्वपूर्ण उपस्थितिका लागि सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूमा आभार र धन्यवाद व्यक्त गर्दै यहाँहरू सबैलाई कार्यक्रममा हार्दिक स्वागत समेत गर्दछु ।
४. संविधान राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रुपमा रहनु पर्दछ । त्यसबाट नै आम नागरिकलाई संवैधानिक र शासकीय परिवर्तन प्रतिको वास्तविक अनुभूति हुन सक्छ भन्ने पनि मलाई लाग्दछ । आजको यस विशेष दिनमा हामी सबैले यिनै मूल्य मान्यतालाई राज्यका तीनै अङ्गले आत्मसात् गर्दै उच्च समर्पण भावका साथ क्रियाशील रहन र योगदान गर्न सकौं भन्ने कामना समेत गर्दछु ।
५. न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै संविधानको मर्यादाको आधारमा कार्यकारिणीको अनुचित हस्तक्षेपबाट यस संस्थालाई सुरक्षित राख्न, न्यायिक मान्यतालाई कायम राख्न योगदान गर्ने पूर्व प्रधान न्यायाधीश र सम्पूर्ण न्यायकर्मीहरूलाई नमन गर्दै उच्च सम्मान व्यक्त गर्दछु ।
६. आजको दिन संविधानको इमान्दार कार्यान्वयन र पालना गर्ने एवं विधिको शासनको रक्षा गर्ने प्रतिवद्धता देखाउने दिन हो । हामी सबै, प्रजातन्त्र र कानूनी राज्यका सञ्चालकहरू र सरोकारवालाहरूले संविधान, विधिको शासन र लोकतन्त्रको सही संरक्षण र कार्यान्वयनको लागि गरेका प्रयासहरूको र चुकेका विषयमा आत्मसमीक्षा गर्ने दिन पनि हो ।
७. अनपेक्षित भाद्र २३ र २४ मा भएको घटना पछि हामी विषम परिस्थितिमा पुगेका थियौ । यस अत्यन्त कठिन घडीमा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, नेपाल बार एशोसिएशन र नागरिक समाजले न्यायपालिकालाई गरेको सहयोगको म हार्दिक प्रशंसा समेत गर्न चाहन्छु । साथै, सेवाग्राहीहरूको संयमता र धैर्यतालाई समेत धन्यवाद दिन चाहन्छु। ‘Recovery’ र ‘Reform’ का एजेन्डालाई आत्मसात् गर्दै न्यायपालिका पुनरुत्थानतर्फ अग्रसर भइरहेको छ ।
संविधानवाद र संवैधानिक नैतिकता
८. संविधान भन्दा माथि कोही पनि छैन, हुन पनि सक्दैन । संविधानका कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प छैन ।
९. तर कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमतामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानूनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयासरत छैनौ भन्ने प्रश्न उठिरहेको छ?
१०. न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुत्सित प्रयासमा त लागेका छैनौ भन्ने प्रश्न उठिरहेको छ?
११. आगामी दिनहरू सम्म कुनै कारणले पनि कुनै परिस्थितिमा पनि सौदा गर्न नमिल्ने न्यायको प्रतिस्थापन गर्न सर्वकालिक आवश्यकताको विरुद्ध यो वा त्यो कारण बनाएर धराप थाप्ने दुस्प्रयासलाई सहने वातावरण त निर्माण होला भन्ने डर पनि छ ।
१२. यदि यस्तो प्रवृत्तिलाई संवैधानिक शासकीय संरचनात्मक प्रक्रियाहरूको कुनै स्थितिमा पनि ग्राह्य वा सह्य वा प्रतिरक्षात्मक दृष्टिकोणले काम गर्यो भने तत्कालको आफ्नो शक्तिको उन्मादमा सहन वा पुष्टि गर्न खोज्न सकियो भने पनि यसको अनित्यता बुझ्न सकिने छ । एउटालाई खाने बाघले अर्कालाई छोड्ला भनेर आश गर्न सकिन्छ?
१३. संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम-क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधान विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रुप सिंगार्न सकिँदैन । संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन गर्न सकिँदैन ।
१४. संरचना भत्काएर परिवर्तन रोज्ने नयाँ बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर विधि र विधिसंगत अपेक्षा राखेकाहरूको स्वप्न भंग हुने तय छ । विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को दिलाउँछ । नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेलाई सह्य हुँदैन ।
१५. यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्ने कुरा हो । विधिको शासन विरुद्ध षडयन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिवद्धता हामी सबैले देखाउनु पर्दछ । यस्तो भएन भने संवैधानिक प्रणाली, प्रजातान्त्रिक व्यवस्था र न्यायपूर्ण समाजको हाम्रो परिकल्पना स्वतः सुरक्षित भइरहन्छ भन्ने कुरा मान्न सकिँदैन ।
१६. सरकारको Speed र Spirit मा न्यायपालिका हिँड्न सक्छ सक्दैन भन्ने चिन्ता सभामुखले व्यक्त गरेकोमा म भन्छु- संविधानको स्प्रिटमा, सरकारको स्पीडमा हिँड्न सक्ने क्षमता न्यायपालिकामा छ । मात्र स्रोत साधनले सशक्त बनाउनु पर्नेछ ।
१७. डर र प्रभावमा स्वच्छ न्याय सम्भव छैन । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई अनुरोध गर्दछु । म आफैले जीवनभर विभेद र अन्याय विरुद्ध लडेँ, लडाइँ आज पनि बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई प्रेरणा देओस् ।
१८. यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एशोसिएशन, आम सञ्चार, नागरिक समाज लगायत सबै सरोकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपिल गर्दछु । सम्माननीय राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यूको यो कार्यक्रम अभिभावकत्वको लागि हार्दिक नमन गर्दछु ।
१९. कानून दिवसको विशेष एवं गरिमामय अवसरमा राज्यका समस्त अङ्गहरूको मधुर पुनर्मिलन हुने सुखद एवं प्रेरणादायी परम्पराले सगर्व निरन्तरता पाउँदै आएको छ । आज पनि जीवन्त साक्षी बन्न पाउँदा एवं राज्यका विभिन्न अङ्गहरूका सम्माननीय प्रतिनिधिहरूको एकै छानामुनि उपस्थितिको अनुभूति गर्न पाउँदा हामी अत्यन्त हर्षित र गौरवान्वित भएका छौं ।
२०. अन्त्यमा, यस विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूको गरीमामय समुपस्थितिले हामीलाई अत्यन्त गौरवको अनुभूति भएको छ । सम्माननीयज्यूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु । साथै, हाम्रो आमन्त्रणलाई स्वीकार गरी समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण विशिष्ट अतिथीज्यू तथा अतिथिज्यूहरूमा आभार र धन्यवाद व्यक्त गर्दै कानून दिवसको यहाँहरू सबैमा पुनः हार्दिक शुभकामना सहित विदा हुन्छु ।
धन्यवाद ।
सेतोपाटीबाट साभार
