धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।
डिआइजी भट्टका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । रातोपाटी डटकमबाट साभार
