अमृत बास्कुने
म्याग्दी । फागुन १ गते
नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा आयोजित बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका ४ को म्याग्दी ऐकेडेमीकी बिअप्सना बानियाँ पहिलो हुनुभएको छ ।
नेपाली भाषा शिक्षक परिषद, म्याग्दीको आयोजनामा राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्ला स्तरीय वक्तृत्व कलामा बानियाँ पहिलो हुनुभएको हो । १८ विद्यालयले नाम दर्ता गराएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनीका प्रसिस रिजाल दोश्रो, जनप्रिय माध्यमिक विद्यालय दरवाङका गित सिर्पाली तेश्रो र कैला माध्यमिक विद्यालय दोवाका अनुसा पुर्जाले सान्त्वना स्थान हासिल गर्नुभएको हो ।
प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्नुभएको नेपाली भाषा परिषद्का अध्यक्ष रमेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटनमा बेनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्नका लागि यस्ता प्रतियोगिताहरु हुनु पर्नेमा जोड दिनु भएको थियो । उहाँले स्थानीयतहको भूमिका विषयमा विद्यार्थीहरुले दिएको प्रस्तुतीले उनीहरुको ज्ञानको गुणस्तर झल्कीएकोले यस्ता खालका प्रतियोगिताको निरन्तरता दिनु पर्ने बताउनु भयो ।
बेनी नगरपालिका ४ सिंगाका वडा अध्यक्ष तथा धवलागिरी माध्यमिक विद्यालय सिंगाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अणबहादुर खड्काले स्थानीय तहको बारेमा विद्यार्थीहरुको ज्ञानले समृद्ध नेपालका लागि उनीहरुको भूमिका राम्रो देखिएको तर्क गर्नुभयो । अहिलेको वर्तमान अवस्थामा आफ्नो स्थानीय सरकारको ज्ञान विद्यार्थीहरुलाई दिनका लागि पनि यस्तो कार्यक्रम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको कार्यक्रमकै अवसरमा विद्यालयले प्रकाशन गर्दै आएको भित्तेपत्रिका जुनकिरीको अंक १० बिमोचन समेत गरिएको थियो ।
