अमृत बास्कुने
आजको ठिक २१ दिनमा देशैभर मतदान हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा पनि सरगर्मी बढ्नु पर्ने भए पनि हाल सम्मको अवस्था हेर्दा त्यस्तो तात्वीक फरक केही देखिएको छैन । चिसो छल्नका लागि अधिकांश मतदाताहरु बेँसी झरेको हुनाले पनि उम्मेदवार पनि जिल्ला भन्दा बाहिर नै छन् । चुनावी प्रचार र भेटघाटको कार्यक्रम पोखरा तथा काठमाडौं केन्द्रीत छन् । हिमपातले गर्दा चिसो भएको मुस्ताङमा हुनु पर्ने चुनावी गर्मी अहिले काठमाडौं, पोखरा लागयतका अन्य जिल्लाहरुमा मात्रै सिमित छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा नेपाली कांग्रेसबाट ३२ वर्षिय योगेश गौचन थकाली, नेकपा एमालेका ५६ वर्षिय इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट ६१ वर्षिय ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३९ वर्षिय अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट २६ वर्षिय अजय विक, मंगोल नेशनल अर्गनाइजेशनबाट ४४ वर्षिय यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६० वर्षिय कमला लालचन र उज्यालो पार्टीबाट ६८ वर्षिय डा. सुरेन्द्र शेरचन उम्मेदवार हुनुहुन्छ । मुस्ताङ जिल्लामा एक जना मात्रै महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।
के छ त राजनैतिक पार्टीको प्रचार
नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका सचिव तिलक बिकका अनुसार जिल्ला भित्र अहिले मतदाताहरु मध्ये अधिकांश चिसो छल्नका लागि बेसि झरेका छन् । एमाले मुस्ताङको जिल्ला कमिटीको बैठक पनि २९ माघमा पोखरामा हुँदै छ । उम्मेदवार पनि पोखरामै रहेको र मतदाता भेटघाट तथा अन्य योजना बनाउने काम पनि उतै नै हुन्छ । फागुन लागेपछि मात्रै बल्ल मतदाताहरु जिल्ला फर्कने भएकोले चुनावी प्रचार अभियान पनि फागुन पहिलो हप्ता पछि मात्रै मुस्ताङमा हुने उहाँले बताउनुभयो । उपल्लो मुस्ताङको छोसेर तथा लोमन्थाङका केही मजदुरी गर्नेहरु मात्रै रहेको समेत उहाँले बताउनुभयो । कोरला नाकाबाट आउने सामान लोड अनलोड गर्ने तथा गाडी चालकहरु चाइना बोर्डरबाट नेपाल गाडीहरु ल्याउने काम गर्न सक्नेहरु मात्रै माथिल्लो बेल्डमा रहेका छन् । अन्य अधिकांश तल झरेकोले अब उनीहरु माथि फर्के पछि मात्रै चुनावी कार्यक्रमले तिब्रता पाउने छ ।
नेपाली कांग्रेस मुस्ताङका सभापति तथा पूर्व मन्त्री रोमी गौचनले आफ्नो पार्टीले खासै प्रचार नगरेको बताउनुभयो । माथिल्लो भेकका ब्यापारका लागि बाहिर जाने र तल्लो भेकका घुमफिरका लागि बाहिर जाने हुनाले पनि अहिले जिल्ला प्राय खाली रहेको उहाँको तर्क थियो । आफ्नो पार्टीका उम्मेदवार पनि अहिले परिवारको सदस्य बिरामी भएको हुँदा उपचारका लागि भारत तर्फ गएको समेत उहाँले बताउनुभयो । अब जिल्लावासी फर्कीएपछि मात्रै प्रचार र भेटघाटमा लाग्ने हो अहिले जिल्ला प्राय सुनसान रहेको सभापति गौचनको तर्क छ । थोरै मतदाता भएकोले एकले अर्कालाई चिन्ने र उनीहरुको अवस्था के कस्तो भन्ने कुरा पनि राम्रो सँग ज्ञान हुने भएकाले पनि चुनाव प्रचारै गर्न पर्छ जस्तो लाग्दैन उहाँले भन्नुभयो ।
आम जनता पार्टीका उम्मेदवार अजय बिकले अहिले आफू पोखरा तिर रहेको र निर्वाचन आयोगले तोकेको समयमै प्रचारमा जाने सुनाउनुभयो । उहाँले भन्नुभयो अहिले सबै जिल्ला बाहिर रहेको हुनाले भेटघाटमा पनि पुगिएको छैन, मुस्ताङमा चिसो पनि अत्याधिक भएको हुनाले भेटघाट प्रचार केही गरिएको छैन । जिल्लाका मतदाता पनि जिल्ला बाहिर भएको हुनाले प्रचारलाई अहिले थालनी नगरिएको उहाँको भनाई छ ।
राप्रपाकी उम्मेदवार कमला लालचन आफु अहिले सम्म प्रचार तर्फ त्यती धेरै नलागेको बताउनुभयो । मतदाताहरु जिल्ला भन्दा बाहिर भएकाले पोखरा तिरै भेटघाटमा चाँही म छु, अब मतदाताहरु जिल्ला फर्के भने म पनि जिल्ला फर्केर प्रचारमा हिड्ने हो । अहिले चिसोले गर्दा मुस्ताङका नागरिकहरु जिल्ला बाहिर भएको हुनाले उम्मेदवारहरु पनि जिल्ला बाहिर नै भेटघाटमा रहेको उहाँको भनाई थियो । पार्टीको र आफ्नो घोषणा पत्र लिएर मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।
मतदाता र मतदान स्थलको अवस्था
हिमालपारीको जिल्ला मुस्ताङमा ३९ मतदान स्थलमा ३९ वटै मतदान केन्द्र रहेका छन् । पाँच स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरस्थित समर आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ३६ जना मात्रै मतदाता छन् । एउटा निर्वाचन क्षेत्र रहेको जिल्लाको सबैभन्दा बढी मतदाता घरपझोङ गाउँपालिका—४ जोमसोमको जनहित मतदान केन्द्रमा ६८९ जना मतदाता जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । जिल्लामा आगामी आम निर्वाचनका लागि भएको मतदाता नामावली अद्यावधिक पछि ११ हजार ३२८ जना छन् ।
जिल्लाको घरपझोङ गाउँपालिकामा छ वटा, थासाङ गाउँपालिकामा आठ वटा, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १० वटा, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नौ वटा र लोमान्थाङ गाउँपालिकामा छ वटा मतदान मतदानस्थल छन् । पालिका अनुसार हेर्दा घरपझोङ गाउँपालिकामा दुई हजार ४९२ मतदाता छन् । थासाङ गाउँपालिकामा दुई हजार ९०७ जना मतदाता छन् । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक हजार ५४२ जना, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा दुई हजार ३७६ जना र माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ जना मतदाता छन् ।
सुरक्षा गस्ती शुरु
जिल्ला सुरक्षा समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार मुस्ताङको उच्च हिमाली क्षेत्रमा पनि नियमित सुरक्षा गस्ती भै रहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ । नेपाली सेनाको इन्द्र बक्स गण र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरी नियमित गस्ती सहित चुनाव केन्द्रित गतिविधि भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । उहाँका अनुसार सुरक्षा निकायले निर्वाचन केन्द्रित गतिविधि सुरु गरेका छन्, मुस्ताङको निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा समितिले आवश्यक सबै काम गरिरहेको छ ।
नेपाली सेनासँगै सशस्त्र प्रहरी बलको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१,मा बेस र लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको सशस्त्र प्रहरी बल नेपालले नियमित सुरक्षा गस्ती गरिरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । निर्वाचनमा कोरला नाका क्षेत्रमा समेत चिनियाँ प्रहरीसँगको समन्वयमा अन्तरदेशीय गस्ती तथा सुरक्षासम्बन्धी समिक्षा भएको समेत उहाँको भनाई छ ।
जिल्लामा क्विक रेस्पोन्स टिम (क्युआरटी) समेत गठन भएको छ । सरकारले घोषित निर्वाचनलाई सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसँगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्ने कार्य सुरु गरिसकेको हो । यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र चराङस्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ ।
मतदान स्थल सार्न माग
वारागुङ मूक्तिक्षेत्र गाउँपालिका ५ को साङ्ता गाउँमा रहेको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ । अत्यधिक हिमपातका कारण समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइँमा रहेको साङ्ता गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माले स्थानीय वडाबाट मतदान स्थल परिवर्तनका लागि प्रस्ताव आए पनि निर्णय नभएको बताउनुभयो । हाल सम्म छलफलकै चरणमा छ त्यसलाई के गर्ने भन्ने विषयमा कुनै पनि प्रकारको निर्णय भएको छैन ।
जिल्ला भित्र रहेका ३९ स्थायी र १ अस्थायी गरी कुल ४० मतदान केन्द्र रहेको र हाल सम्म अस्थायी र ३० मतदान केन्द्र निरीक्षण गरि सकिएको र अन्य पनि निरीक्षणको क्रममा रहेको प्रजिअ शर्माले बताउनुभयो । हाल सुरक्षा निकायले संयुक्त गस्ती गर्नुका साथै शुक्ष्म तबरले निगरानी पनि बढाएको उहाँको भनाई छ । मतदाताहरु जिल्ला बाहिर रहेको हुनाले हाल सम्मको अवस्थामा चुनावी घरदैलोमा उम्मेदवारहरु नपुगेको र फागुन शुरु भए पछि मात्रै मतदाताहरु संगै उम्मेदवार पनि जिल्ला फर्कने र चुनावी प्रचार पनि हुने खालको जानकारी राजनैतिक पार्टीबाट आएको उहाँले जानकारी दिनुभयो । हाल सम्म जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनको कुनै पनि प्रकारको उजुरी नआएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
