अमृत बास्कुने
फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका उम्मेदवारहरुले आफ्नो पक्षमा मतपार्नका लागि मतदाताको घर दैलोमा पुगेर आफ्ना योजना र प्रतिबद्धता व्यक्ति गर्दै प्रभाव जमाउने ध्याउन्नमा छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा १२ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । मुख्य रुपमा नेपाली कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले प्रतिस्पर्धी देखिएको यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार महाबिर पुन पनि सामाजिक सञ्जाललाई आधार मान्ने हो भने निकै मजबुत प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

यसैबीच नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको एमालेले जनाएको छ । संयोजक सुवेदीका अनुसार पालिका स्तरीय निर्वाचन परिचालन कमिटी गगठन, वडा परिचालन गठन, युवा परिचालन, आर्थिक व्यवस्थापन, सचिवालय व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रतिबद्धता पत्र लेखन समिति गठन गरेर आफ्नो जिम्मेवारीमा खटेका छन् । नेकपा एमालेले घरदैलो अभियान पनि तिब्रताका साथ अगाडी बढाएको उहाँको भनाई छ । उम्मेदवार सहितको टोलीले पोखरामा भेटघाट सकेको छ भने बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकामा पनि भेटघाट अभियान सकेको छ । फागुन ४ पछि अन्य राजनैतिक दलहरु सँग नजुध्ने गरी समन्वय गरेर प्रचार अभियानमा जाने नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
माघ ६ गते भएको उम्मेदवारी दर्तामा नविन जिसी र महाविर पुन स्वतन्त्र सहित ११ दल गरेर १३ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । पछि नविन जिसीले उम्मेदवारी फिर्ता लिए पछि अहिले एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाका छेमबहादुर बि.क., राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका, श्रम संस्कृति पार्टीबाट विनोद राना, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट क्षेत्रबहादुर घिमिरे(ध्रुव) नेकपा(एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट देवेन्द्र कामी, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्भरबहादुर सुवेदी, नेशनल रिपब्लीकन पार्टीबाट तुलप्रसाद गर्बुजा र मंगोल नेशनल अर्गनाईजेशनबाट भिमबहादुर लामा र स्वतन्त्र उम्मेदवार महाविर पुन रहनु भएको छ ।
चुनावी मैदानमा १२ जना रहेको भए पनि चर्चा भने चार जनाको बढी देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार महाविर पुन अहिले जनताको माझमा धेरै चर्चा छ ।
महाबिर पुन टोल तथा घरमा पुगेर मन्त्रिपरिषद्को बैठक पछि झोँक चलेर उम्मेदवार हुन आएको भन्दै हिड्नु भएको छ । मन्त्रिहुँदा काम गर्न सकिएन त्यसैले राजिनामा दिएर जनताको माझमा सांसद हुनका लागि आएको भन्दै मत माग्नुभएको छ । उहाँले मत माग्दा मन लागे देउ नलागे नदेउ भन्ने खालको शब्दले मानिसलाई मनोरञ्जन त दिएको छ निर्वाचनमा त्यस अनुसारको मत आउँछ आउँदैन त्यो फागुन २१ गतेको मतदान पछि नै थाहा होला ।
नेपाली कम्युनिष्ट पार्टीका निर्वाचन परिचालन समितिका संयोजक रेशमबहादुर जुगजालीका अनुसार नेपाली कम्युनिष्ट पार्टी निर्वाचन लक्षित कार्यक्रममा व्यस्त छ । उम्मेदवार सहितको टोलीले पोखरामा बसोबास गर्ने म्याग्देलीहरु सँग भेटघाट गरेको छ । जिल्ला कमिटी बैठक पछि छ वटै स्थानीय तह पार्टी कमिटीको बैठक भेला सकि सकेको उहाँले जानकारी दिनुभयो । अहिले टोल सम्म भेटघाट तथा अन्तरक्रिया जारी छ । निर्वाचन आयोगले फागुन ४ देखि मात्रै प्रचार गर्ने अनुमति दिएकोले त्यही अनुसार नै हुने छ । गुर्जा देखि शुरु भएर माघ १९ गते सुरु गरेर फागुन १४ गते सम्म निर्वाचन प्रचारको कार्यक्रम सकिने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाको भनाई छ ।
नेपाली कांग्रेसको निर्वाचन परिचालन समितीका संयोजक रेशमबहादुर बानियाँले नेपाली कांग्रेस पुरानो पार्टी हुँदै गर्दा पनि नयाँ उम्मेदवार कर्णबहादुर भण्डारी लिएर आएको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता भित्र रहेरै काम गर्ने बताउनुभयो । निर्वाचनको कार्यक्रम औपचारीक रुपमा गर्न फागुन ४ गते सम्म पर्खने कांग्रेसको धारणा छ । नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति रेशम बानियाँको संयोजकत्वमा मुल समिति बनाएको छ । पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रदेश सदस्यहरु रहेको २१ सदस्यीय मुल समिति गठन भएको छ । मुल समिति अन्तरगत रहनेगरी जिल्ला निर्वाचन प्रचार प्रसार समिति, युवा परिचालन समिति, महिला परिचालन समिति, दलित परिचालन समिति, नव युवा परिचालन समिति पनि कांग्रेसले गठन गरेको बानियाँको भनाई छ । पालिक स्तरीय भेटघाट र प्रचार प्रसार सुरु गरेर बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा भेटघाट कार्यक्रम सकेको कांग्रेसले जनाएको छ । फागुन ४ गते देखि पाइने प्रचारप्रसार भन्दा पहिला सबै वडामा मतदता भेटघाट सक्ने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीको भनाइ छ ।
म्याग्दीमा कांग्रेस, माओवादी, नेकपा एससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा बिजयी हुनुभएको थियो । २०७४ को निर्वाचनमा नेकपा एमाले र तत्कालिन नेकपा माओवादी बिच एकताको प्रयास हुँदै गर्दा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको म्याग्दीमा २०७० मा भएको संविधानसभाको दोश्रो निर्वाचनमा एमालेका नवराज शर्मा बिजयी हुनुएको थियो । २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादीका गोविन्द पौडेल बिजयी हुनुभएको थियो ।
त्यस्तै २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसका नरायणसिंह पुन, २०५१ को मध्यावधिक निर्वाचनमा नेकपा एमालेबाट निलबहादुर तिलिजाले विजयी हासील गर्नुभएको थियो । त्यस अगाडी २०४८ सालमा भएको निर्वाचनमा म्याग्दीमा दुई वटा निर्वाचन क्षेत्र थिए र त्यसमा चन्द्रप्रकाश बानियाँ र थममायाँ थापा एमालेबाटै जित हासिल गर्नुभएका थियो ।
एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचनका लागि कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा अन्य एकजना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार तीन सय ३२ छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।
