अमृत बास्कुने
म्याग्दी जेसीजले आयोजना गरेको प्रत्यक्ष सम्बाद कार्यक्रममा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारहरुले जनपक्षिय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्रश्न तपाईको जवाफ उम्मेदवारको, प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु सँग प्रत्यक्ष सम्बाद(ककस) कार्यक्रममा सहभागी भएका आठै जना उम्मेदवारहरुले जनताको पक्षमा काम गर्ने जनाउनु भएको हो । प्रतिनिधिसभाका लागि म्याग्दीबाट उम्मेदवारी दिनुभएका १२ मध्ये सामाजिक सञ्जालमा निकै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार महाविर पुन, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लीकन पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजा भने सहभागी हुनुभएन ।
ककस कार्यक्रममा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, जनमोर्चाका छेमबहादुर बिश्वकर्मा, राप्रपाका डम्भरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रीक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का युवराज रोका सहभागी हुनुहुन्थ्यो ।
एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले केपी ओली नेतृत्वको सरकारको पालामा खुलेको कोरला नाका अहिले प्रयोगमा आइरहेको र त्यसलाई अझै व्यवस्थीत बनाउनकालागि आफ्नो जित आवश्यक रहेको धारणा राख्नु भएको थियो । उहाँले जनताको प्रतिनिधि भएर जनताकै काम गर्ने बताउँदै जनताको आवश्यकतालाई नै मुल लक्ष्य रहने बताउनुभयो । विद्युत, पुल, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतालाई आफू र नेकपा एमालेको लक्ष्यका रुपमा अगाडी बढाउने बताउनुभयो ।
नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले देशमा ब्याप्त कुशासनले जनता आक्रान्त भएको अहिलेको अवस्थामा आफ्नो जित अपरिहार्य रहेको बताउनुभयो । उहाँले जनताको पक्षमा काम गर्नु आफ्नो ध्येय हो र समृद्ध र सम्मानित नेपालका लागि आफ्नो भूमिका रहने बताउनुभयो । सुविधा सम्पन्न अस्पताल, सबै प्रकारको विषय पढाइ हुने कलेजको स्थापना आफ्नो प्राथमिकता रहेको बताउनुभयो । उम्मेदवार भण्डारीले आफू हङकङ आइडी भएको मानिस हुँदै गर्दा पनि नेपालमै काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
राप्रपाका डम्भरबहादुर सुवेदीले राष्ट्रिय ढुकुटीमा सुद्धताका लागि आफ्नो पहलकदमी हुने बताउनुभयो । उहाँले भ्रष्टाचार गर्नु भनेको आफ्नी आमाको रगत पिउनु समान हुने भएकाले त्यो अन्त्य गर्दै ढुकुटीमा सुद्धता नै प्राथमिकता भएको धारणा राख्नु भयो ।
प्रगतिशिल लोकतान्त्रीक पार्टीका उम्मेदवार देवेन्द्र कामीले जुन दिन गर्नु पर्छ त्यही दिन सबैले देख्नुहुन्छ अहिल्यै प्रतिबद्धता आवश्यक नरहेको धारणा राख्नुभयो । पाँच पुस्ता देखि आफ्नो परिवारले आरन पेसा गर्दै आएको र अहिले पनि आफ्नो त्यही पेसा रहेको उहाँको भनाई थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवराज रोकाले भ्रष्टाचार अन्त्य मूल मन्त्र रहेको बताउनुभयो । उहाँले पब्लीक डिबेड जस्तो कार्यक्रममा सबै उम्मेदवार आउनु पर्नेमा कतिपय उम्मेदवार नआउनु दुःखद रहेको सुनाउनुभयो ।
श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद रानाले देश बनाउन श्रम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का उम्मेदवार क्षेत्रबहादुर घिमिरेले राष्ट्र निर्माणको प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले मतदाता खरिदबिक्री गर्ने जस्ता गलत कार्य निमिट्यान्न पार्नु पर्ने सुनाउनुभयो । उहाँले सत्ताले नेतालाई बिगारेको विगतमा भनिने गरेको भए पनि अहिले नयाँ भनिएकाहरु नै आफै संक्रमित अवस्थामा रहेको धारणा राख्नु भयो ।
