म्याग्दी सदरमुकाम बेनीमा शुक्रबारदेखि हुने धौलागिरि अञ्चल स्तरीय प्रथम कराँते प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी कराँते संघको आयोजनामा हुने प्रतियोगितामा म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका गरि ४६ खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा बिहीबार बेलुका भएको पत्रकार सम्मेलन मार्फत जानाकारी गराइएको छ ।
१२ स्वर्ण पदकका लागि हुने प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित खर्च तय गरिएको जिल्ला कराँते संघ म्याग्दीका अध्यक्ष सुमन बानियाँको भनाइ छ । प्रतियोगितामा पुरस्कारतर्फ ६८ हजार रुपैयाँ, मेडल खरिदका लागि ९ हजार ६ सय रुपैयाँ, ट्रफी खरिदमा ४५ हजार रुपैयाँ तथा प्रमाणपत्र छपाइमा ४ हजार रुपैयाँ खर्च हुने संघको अनुमान रहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन अन्य जिल्लाबाट आउने खेलाडीहरूलाई बेनी नगरपालिका–९ मा तोरीपानीको होम–स्टेमा राखिने व्यवस्था मिलाइएको छ ।
कराँते खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कराँते संघका सचिव रमेश रुचालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले क्षेत्रीय स्तरमा खेलकुद गतिविधि सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
