चालु आर्थिक वर्ष २०८२।०८३ को लागि गत असारमा पारित भएको बजेट संसोधन गर्दै मालिका गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ ।
मंगलबार गाउँपालिकाको केन्द्र दरवाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पाँच करोड बराबरको बजेट संसोधन गरेको हो । गत आर्थिक वर्षमा खर्च हुन नसकेको चार करोड ८५ लाख ७५ हजार मौजुदा रहेको बजेटलाई विभिन्न कार्यक्रमहरुका लागि बिनियोजन गर्दै गाउँसभा सकिएको हो ।
गत असारमा ४६ करोड दुइ लाख तीन हजार बिनियोजन गरेको बजेटलाई उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले बढाएर ५० करोयड ८५ लाख ९८ हजार कायम गर्न प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताबलाई गाउँसभाले पारित गरेको थियो । गाउँपालिकाको भौतिक पूर्वाधारका लागि बजेट प्राथमिकतामा राखिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर १ र ७ को भवन निर्माणका लागि जग्गा खरिद गर्न २ करोड बिनियोजन गरिएको छ । त्यसैगरी अधिभारा ताक्से मोटरबाटो स्तरोन्नतीका लागि एक करोड ३० लाख, डाँडागाउँ स्वास्थ्य चौकी भवनका लागि ५७ लाख ५० हजार, दरवाङ निस्कोट सडकका लागि २८ लाख बिनियोजन गरिएको छ ।
गाउँपालिकाको पुँजीगत खर्चको भौतिक तथा वित्तिय प्रगति शतप्रतिशत पुग्ने गरी काम गर्न सबैले भूमिका खेल्नु पर्ने गाउँसभामा अध्यक्ष गर्बुजाले धारणा राख्नु भएको थियो । आदर्शसञ्चारबाट
