विद्यार्थी तथा शिक्षकहरुको प्रतिभा पहिचानका लागि बेनीमा मंगलबार शिक्षक र विद्यार्थीहरुको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षक विद्यार्थीहरुमा हुने बौद्धिक क्षमता र अभिव्यक्ति कला उजागर गर्ने उद्देश्यसहित प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको थियो । एकीकृत सेवा कार्यालयको आयोजनामा म्याग्दी जिल्लाका शिक्षक तथा विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा शिक्षकतर्फ १० जना सहभागी हुनुभएको थियो । उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय रघुगंगा गाउँपालिका–३ मौवाफाँटका शिक्षक अर्जुन पौडेलले प्रथम स्थान हासिल गर्नुभयो । त्यस्तै रघुगंगा गाउँपालिका २ को मुक्तिधाम माध्यमिक विद्यालय भगवतिका मेघा रिजालले द्वितीय र मंगला गाउँपालिका २ बाबियाचौरको मंगला माध्यमिक विद्यालयका करन कंडेलले तृतीय स्थान हासी गर्नुभएको थियो ।
यसैगरी विद्यार्थीतर्फ ११ सहभागीबीच सम्पन्न प्रतियोगितामा धवलागिरी गाउँपालिका–३ फलियागाउँको धनजता माध्यमिक विद्यालयकी इमिरा भण्डारीले प्रभावशाली प्रस्तुतीका साथ प्रथम स्थान हासिल गर्नुभएको छ । त्यसैगरी बेनी नगरपालिका ७ को प्रकाश माध्यमिक विद्यालय बेनीकी सदिक्षा सुवेदी द्वितीय तथा बेनी नगरपालिका ४ सिंगाको म्याग्दी एकेडेमी सिंगाकी विअप्सिना बानिया तृतीय हुन सफल हुनुभयो ।
दुवै समूहमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्तकर्ता शिक्षक तथा विद्यार्थीहरुलाई क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्सेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतले विजयीहरुलाई पुरस्कार वितरण गर्दै शिक्षक–विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनले शैक्षिक गुणस्तर उकास्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । यस्ता कार्यक्रमले आफू भित्र भएको प्रतिभालाई बाहिर ल्याउन निकै ठूलो भूमिका खेल्ने प्रतियोगिताका सहभागिको धारणा थियो । आदर्शसञ्चारबाट साभार
