गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालयको सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनमा म्याग्दीको बेनीमा एआई तथा मोबाईल पत्रकारिता तालिम सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै प्रेस गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले आम सञ्चार माध्यमबाट छिटो, छरितो र स्तरीय सञ्चार सामाग्री दिनका लागि एआईको उपयोग गर्नुपर्ने बताउनुभएको थियो । एआईका टुल्सहरुले समाचार लेखन, तस्बिरको प्रयोग र भिडियो निर्माणमा सहयोग पुग्ने बताउँदै समयसापेक्ष रुपमा अब हरेक पत्रकारले आफुलाई एआई टुल्स र मोवाइल पत्रकारितामा समेत अभ्यस्त गराउनुपर्ने रजिष्ट्रार भण्डारीले बताउनुभयो ।
समय सँगै हुने परिवर्तनमा आफू पनि अध्यावधिक हुनु पर्ने बताउँदै भण्डारीले एआईले दिने संचार सामाग्रीमा गुणस्तर कायम गर्न र प्रविधिबाट हुने जोखिम न्यूनिकरण गर्न पत्रकारहरु स्वयम चनाखो समेत बन्नुपर्ने भन्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा शुभकामना दिने वक्ताहरुले एआई प्रविधिको विकासले हरेक क्षेत्रमा छिटो, छरितो र आकर्षक नतिजा ल्याउन भुमिका खेल्ने गरेको बताउँदै पत्रकारितामा समेत एआईको प्रयोग बढ्न थालेको बताउनुभएको थियो । एआई र मोवाईल पत्रकारिताले जिल्लाको पर्यटन प्रवद्र्धन, आम सञ्चारको स्ततरीकरण र समयसापेक्ष सञ्चार सामाग्रीको उत्पादनमा सहयोग पुग्नेमा जोड दिनुभयो ।
तालिममा अनलाइन टिभि पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले मिडियामा एआईको प्रयोग, उपयोगीता र अपनाउनुपर्ने साबधानी र मोवाईल पत्रकारिता सम्वन्धी सहजीकरण गरी रहनु भएको छ । मंगलबार सकिने कार्यक्रमको सोमबार भएको उद्घाटन सत्र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सचिब ठाकुर प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको संयोजन पत्रकार महासंघ म्याग्दीका उपसचिव प्रताप बानियाँले गरी रहनु भएको छ ।
