म्याग्दी । प्रादेशिक अस्पताल बेनीका नवनियुक्त व्यवस्थापन समितिको अध्यक्ष डेकबहादुर बानियाँले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले नवनियुक्त अध्यक्ष बानियाँलाई पदभार गराउनुभएको थियो ।
पदभार ग्रहणमा बोल्दै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खत्रीले कर्मचारीहरु तथा व्यवस्थापन सबैको सहभागिता र सक्रियताले नै अस्पतालको उन्नती हुने बताउनुभयो । उहाँले भन्नुभयो धेरै प्रकारका समस्या सहित राम्रो हुने मानसिकता बोकेर आएका मानिसहरु हुन सक्छन्, चिकित्सक तथा डाक्टरहरुले गुनासो सुनुवाई गरिदिनु पर्दछ । अस्पतालको भवन अझै पनि पूर्णता पाएको छैन, करिब बेबारिस भन्न मिल्ने होला तर पनि धेरै काम भएको छ र अब चाँडै सबै सेवा नयाँ भवनबाट हुनेछन् भनेर अपेक्षा गर्न सकिने आशा व्यक्त गर्नुभयो ।
नव नियुक्त अध्यक्ष डेकबहादुर बानियाँले सबै काम गर्ने र गर्न चाहनेहरुको समुह नै व्यवस्थापन समितिमा हुने हुँदा अस्पतालबाट हुन पर्ने काम हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो व्यवस्थापन समितिले उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गरेर संस्थाको उद्देश्य हासिल गर्ने हो र त्यसमा हामी कटिबद्ध हुनेछौं । धेरै गर्ने भन्दा पनि अस्पतालले दिनु पर्ने न्यूनतम कम के हो त्यसलाई अधिकतम बनाउनका लागि सहजीकरण साथ प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो । स्थानीय, प्रदेश र संघिय सरकार सँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने छु ।
अस्पतालको आउटपुट आउने व्यवस्थापन भन्दा पनि अस्पतालको कर्मचारीको कारण नै हो । त्यसैले समग्र अस्पतालको सफलताका लागि सबै स्टाफहरुले आफूलाई प्राप्त जिम्मेवारी पुरा गर्नु भयो भने अस्पतालको उन्नती र जनताले पाउनु पर्ने सुविधा पाउने नवनियुक्त अध्यक्ष बानियाँले बताउनुभो । प्लानिङ, अर्गनाइजीङ स्टाफीङ, कोर्डीनेसीङ, डाइरेक्टीङ जस्ता कार्यमा सबैले भूमिका खेलीयो भने नतिजा आउने गरी काम हुनेछ ।
नगरप्रमुख सुरत केसीले सर्वसाधारण सेवाग्राहीले अस्पतालमा आउँदा हुने बोली र व्यवहार प्रति प्रश्न उठाउने गरेको बताउनुभयो । उहाँले सर्वसाधारणहरु अस्पताल आउँदा झर्को लाग्ने गरी बोल्ने गरेको आरोप विरामी तथा आफन्तहरुको गुनासो आउने गरेको हुँदा त्यसलाई सहजीकरण गरिनु पर्नेमा जोड दिनुभएको थियो ।
पदस्थापन कार्यक्रममा पूर्व अध्यक्ष ज्ञानेन्द्र सुवेदी, अस्पतालका निमित्त प्रमुख हेमन्त बाँस्तोला, अस्पतालका डाक्टर रामु सापकोटा, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतमलगायतले बोल्नु भएको थियो ।

