बेनी नगरपालिका १० पात्लेखेतमा जन्मीएकी डा.बिन्दु पराजुली काफ्लेको स्मृतीमा गलेश्वर शिवालय परिसरमा डा. बिन्दु पराजुली काफ्ले स्मृति भवन निर्माण शुरु भएको छ । डा. बिन्दु पराजुली काफ्ले स्मृति प्रतिष्ठानले एक करोड १७ लाख रुपियाँको लागतमा भवन निर्माण शुरु गरेको हो ।
सामाजिक तथा धार्मिक व्यक्तित्व राधाकृष्ण पराजुलीकी जेठी छोरी डा. बिन्दु पराजुली काफ्ले बेलायतमा रहँदा निधन भएको थियो । गलेश्वर क्षेत्रमै जन्मस्थान रहेकी बिन्दुको सम्झनामा उहाँका श्रीमान् डा. सुरेश काफ्लेले गलेश्वरमै अस्थि विसर्जन गरी स्मरणीय कार्य गर्ने उद्देश्यले भवन निर्माणका लागि अग्रसर भएको बताइएको छ ।
बिन्दुका दाजु तथा गलेश्वर शिवालय क्षेत्र विकास कोषका संरक्षक तथा बिन्दु पराजुली काफ्ले स्मृती प्रष्ठिानका सल्लाहकार रमेश शर्माले गलेश्वर क्षेत्रमै बहिनीको नाममा स्मृती भवन बनाउँदा राम्रो हुने चाहना अनुरुप भवन निर्माणलाई मुर्त रुप दिन लागेको जानकारी गराउनुभयो ।
भवन निर्माणका लागि आवश्यक आर्थिक व्यवस्थापनका साथै अन्य महत्वपूर्ण निर्णयहरू प्रतिष्ठानका प्रमुख सल्लाहकार रमेश सुवेदीले गर्दै आएको स्मृति प्रतिष्ठानले जनाएको छ । पात्लेखेत जन्मीएर गलेश्वर क्षेत्रमै हुर्केकी बिन्दुको सम्झनामै उहाँका श्रीमानले कुनै राम्रो काम गर्ने चाहना व्यक्त गर्नुभएको थियो र उहाँले अहिले भवन निर्माण थालेको पण्डित भीमनाथ पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिका लागि प्रयोग गरिनेछ ।

बेनी नगरपालिका १० मा जन्मीनु भएकी बिन्दुको बिराटनगर बिबाह भएको थियो । गलेश्वर शिवालय क्षेत्रको विकास निर्माणमा उल्लेख्य योगदान गर्नु हुने राधाकृष्ण पराजुलीकी पुत्री भएको नाताले पनि गलेश्वरमै भवन निर्माणमा जुटेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार साढे दुई तला निर्माण हुने उक्त भवनमा एट्यास बाथरुम सहित ७ कोठा रहने छन् ।
बिन्दु स्मृति भवन निर्माणको जिम्मा डिजाइन एण्ड बिल्ट मोडलमा एच.आर.बी एण्ड डेल्टा कन्स्ट्रक्सन कम्पनीले लिएको छ । निर्माण कार्यको निर्धारित समय एक वर्ष रहेको छ । समय अवधि एक वर्ष भएपनि अगाडिनै सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीको तर्फबाट अधिकार प्राप्त इन्जिनियिर कृष्ण रिजालले जानकारी दिनुभयो ।
गलेश्वरका मूल पुजारी चन्द्रमणि आचार्यका अनुसार जन्मभूमिसँग जोडिएको स्थानमा स्मरणीय संरचना निर्माण हुनु धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण विषय हो । डा. बिन्दु पराजुली काफ्ले स्मृति भवन निर्माणले गलेश्वर क्षेत्रको धार्मिक, सामाजिक तथा शैक्षिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
