नेपाल कम्युनिष्ट पार्टी(एमाले)को आसन्न एघारौ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रतिनिधि छनौटका लागि केन्द्रबाटै तोकिएको निर्वाचन कार्यक्रम अनुसार भएको अवश्यक प्रकृया अनुरुप नै म्याग्दी जिल्लाकालागि तोकिएको मापदण्ड अनुरुप २ जना खुला, २ जना महिला, एक जना युवा र एक जना दलित गरी छ जना प्रतिनिधि चयन भएका हुन् ।
महाधिवेशनका लागि खुल्लातर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदी र गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी महिलातर्फ नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सचिव थमसरा पुन र अखिल नेपाल महिला संघकी अध्यक्ष यसुदा रोका चयन हुँदा युवा तर्फ अनेरास्ववियूका पूर्व सचिव प्रकाश पौडेल र दलित तर्फ गण्डकी प्रदेश कमिटी सदस्य खरमाया बिटालु सर्वसम्मत चयन हुनुभएको हो । प्रकाश पौडेल गत अनेरास्ववियुको निर्वाचनमा अध्यक्ष पदमा ७ मतले पराजित हुनुभएको थियो । विद्यार्थी राजनीतिमा पराजित भए पछि पार्टी राजनीतिमा सक्रिय हुने उद्देश्य सहित केन्द्रीय प्रतिनिधि भएको उहाँको भनाई छ ।
महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको भेलामा एमाले केन्द्रीय कमिटी सदस्य भूपेन्द्र थापा, नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सदस्य एवम् बेनी नगरपालिकाका प्रमुख सुरत केसीलगायतले सहजीकरण गर्नुभएको एमाले नेता नारायण जिसीले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिका लागि २३ जनाले आकांक्षा देखाएको भए पनि १३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको थियो । उम्मेदवारी दर्ता गर्नुभएकाहरुले पनि उम्मेदवारी फिर्ता लिएर सर्वसहमतीमा प्रतिनिधि चयनका लागि सहजीकरण गर्नुभएको एमाले म्याग्दीले जनाएको छ ।
