नेकपा एमाले म्याग्दीले शनिवार सदरमुकाम बेनीमा सद्भाव ¥याली तथा जनसभा गरेको छ । नेकपा एमाले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला कमिटी म्याग्दीद्वारा ¥यालीसहित जनसभा गरेको थियो । वर्तमान सन्दर्भमा देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउनका लागि दलहरुबीच सहकार्यको आवश्यकता रहेको कार्यक्रमका बक्ताहरुले औंल्याएका थिए ।
बेनीको वीरेन्द्रचोकबाट सुरु भएको सद्भाव ¥याली तथा जनसभा बेनी बजार परिक्रमा पछि पुनः वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सद्भाव ¥याली तथा जनसभामा नेकपा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले वर्तमान प्रधानमन्त्री सुशीला कार्की आफू प्रधानन्यायाधीश हुँदा अदालतबाट नै दलीयकरणको राजनीति सुरुवात गराएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो पहिला आफैले सुरुआत गराउने अनि अहिले शिक्षकले राजनीति गर्नुहुँदैन, संघ सङ्गठन बनाउनुहुँदैन भन्नु गलत रहेको उहाँको तर्क थियो । वर्तमान सरकारको चुनाव गराउन सक्ने कुनै पनि छाँटकाँट नदेखिएको भन्दै उहाँले गएको भदौ २३ र २४ गतेको जेन–जी समूहको आन्दोलनका क्रममा लुटिएका १२ सय हातहतियारहरु अझै पनि फिर्ताका लागि सरकारी तबरबाट ठोस योजना नभएको बताउनुभयो ।
एमाले केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमालेले सधैँ राष्ट्रियताको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै आइरहेको बताउनुभयो । कालापानी लिपुलेक तथा लिम्पीयाधुराको भूमि हाम्रो भनेर तत्कालीन एमाले नेतृत्वको सरकारले सबै राजनीतिक दलहरुलाई सहमत गराएर आफ्नो पुरा भूभाग सहितको नक्सा जारी गरेको बताउनुभयो । उहाँले हरेक प्रदेशमा हिमाल, पहाड र तराई हुनुपर्छ भन्ने दृष्टिकोणका साथ देशलाई प्रादेशिक संरचना बनाउने विषयलगायत देश विकासका लागि धेरै कामहरु गरेर एमाले अगाडि बढेको धारणा राख्नु भएको थियो ।
वर्तमान परिस्थितिमा एमाले संविधानको रक्षाका लागि साङ्केतिक रुपमा जनतासमक्ष ओर्लिएको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले बताउनुभयो । नेपालको इतिहासमा पहिलोपटक जनताले बनाएको संविधानको बर्खिलापमा जाने जो कोहीका विरुद्धमा संघर्ष गर्न र संविधानको रक्षा गर्न एमाले देशव्यापी रुपमा सडकमा आएको उहाँको भनाई थियो । जनताले लडेर ल्याएको व्यवस्था र संविधान जोगाउन एमाले सधैँ लाग्ने उहाँको भनाइ छ ।
जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान अवस्थामा देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै राजनीतिक दल तथा जेनजी पुस्तालगायत सबै एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्व केन्द्रीय सचिव प्रकाश पौडेलले जेनजी पुस्ताको नाममा हिंसा भड्काएर विध्वंश मच्चाउने अपराधीहरुलाई कारवाही गर्न माग गर्नुभएको थियो ।
कोणसभा कार्यक्रमको सञ्चालन एमाले म्याग्दीका सचिव थमसरा पुनले गर्नुभएको थियो ।
