नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को टिकट मूल्य निर्धारण गरेको छ । कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एनपिएल हेर्न दर्शकले पाँच सयदेखि दुई हजारसम्म तिर्नुपर्ने भएको हो । पहिलो चरणमा पहिलो ६ दिनका खेल हेर्न टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । टिकट खल्ती आइएमई एपबाट काट्न सकिने छ ।
उद्घाटन र शनिबारको खेलको टिकट मूल्य साधारणतर्फ पाँच सय भने प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकिएको छ । प्लेअफ र फाइनलको साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट रहेको छ ।
सिजनभरको पास किन्न चाहनेले १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मंसिर १ गते हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु–गोर्खाजविरुद्ध खेल्नेछ । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ । क्यानले एनपिएलको दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ ।
ओटीटी प्रसारण अधिकार डिशहोमलाई
एनपिएलको ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ले पाएको छ । क्यानले ओटीटीबाट प्रसारण गर्ने अधिकार ‘डिशहोम गो’ एपलाई दिएको हो । यो एपमार्फत भारतबाहेक सबै देशमा एनपिएलको प्रत्यक्ष प्रसारण हेन पाइनेछ । अब ‘डिशहोम गो’ बाट एनपिएल हेर्न नेपालका दर्शकले तीन सय रुपैयाँ, मध्यपूर्वका दर्शकले पाँच सय रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ ।
डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गरी विश्वभरबाट सब्सक्रिप्शन लिन सक्नेछन् । साथै, डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केही दिनमा लाइभ हुने कम्पनीले जनाएको छ ।
यसैबीच, क्यानले एनपिएल प्रसारण अधिकार वितरणमा अनियमितता र नीति-स्तरको भ्रष्टाचार गरेको आरोप लगाउँदै एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ । निवेदनमा क्यानले एनपिएलको लाइभ स्ट्रिमिङ र ओटीटी प्रसारण अधिकार टेण्डर मूल्यांकनमा मिलेमतो र आर्थिक स्वार्थमा आधारित निर्णय गरेको आरोप लगाइएको छ ।
डिशहोमले चार करोड ११ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र ७१/२९ प्रतिशत राजस्व साझेदारी प्रस्ताव गरेको थियो भने एमएसएम भिडियो र सूश्री मिडियाको जोइन्ट भेन्चर कम्पनीले पाँच करोड २५ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र १५-८५ प्रतिशत साझेदारी प्रस्ताव गरेको थियो । आर्थिक रूपमा क्यानका लागि बढी लाभदायक प्रस्ताव पेस गर्ने कम्पनीलाई पन्छाएर डिशहोमलाई रोज्नु आन्तरिक प्रभाव र नीति-स्तरको भ्रष्टाचारको संकेत भएको दाबी गरिएको छ ।
आकाश चोपडाले गर्नेछन् कमेन्ट्री
भारतका पूर्वक्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडा एनपिएलको दोस्रो संस्करणमा कमेन्ट्री गर्ने हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले चोपडा नेपालमा आगमनका लागि खुशी व्यक्त गर्नुभएको छ । ‘आकाश चोपडालाई नेपालमा स्वागत छ । तपाईंलाई यहाँ देख्न पाउँदा खुशी लागेको छ । हिमालको उत्सवमा हार्दिक स्वागत छ,’ खड्काले भन्नुभएको छ । चोपडाको आगमनसँगै एनपीएलको आकर्षण झनै बढेको क्यानले जनाएको छ । एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।
उहाँले स्टार स्पोट्र्सका लागि कमेन्ट्री गर्छन् । उहाँ चर्चित कमेन्टेटर हुनुहुन्छ । चोपडा नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेको हुनुहुन्छ । नेपालले खेल्ने अधिकांश अन्तर्राष्ट्रिय म्याचबारे उहाँ नियमित रूपमा टिप्पणी गर्नुहुन्छ । उहाँले गत सिजन पनि एनपीएलमा कमेन्ट्री गर्न इच्छा व्यक्त गर्नुभएको छ ।
साभार https://ehimalayatimes.com/2025/11/393497
