यस वर्षको भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार यस साइतमा धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्त जस्ता शुभ योग पर्ने भएकाले यो समय सबैभन्दा उपयुक्त मानिएको हो।
समितिका अनुसार कार्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपरे पनि शुभ साइत खोज्नेका लागि उक्त समय उत्तम मानिनेछ। टीका लगाइने बेला भाइले पश्चिम फर्किनु र दिदीबहिनीले पूर्व फर्किएर टीका लगाइदिनु शुभ हुने समितिले बताएको छ।
यस वर्षको यमपञ्चक कार्तिक १ गते शनिबारदेखि सुरु भएको थियो। त्यस दिनदेखि यमदीप दानको विधि आरम्भ गरिएको थियो। कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती मनाइएको थियो। कार्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार तथा बेलुकी लक्ष्मीपूजा र दीपमालिका गरिएको थियो। कार्तिक ४ गते औंसी तिथिमा स्नान–दान सम्पन्न भएको थियो भने कार्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्हः) पूजा मनाइयो। आत्म पूजा विशेषगरी नेवार समुदायमा मनाइन्छ।
शास्त्रीय विधिअनुसार भाइपूजा तथा नेवारी भाषामा ‘किजा पूजा’ भनिने पर्व पनि कार्तिक ६ गते बिहीबार नै मनाइनेछ। यस दिन दिदीबहिनीहरूले भाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाउने परम्परा रहिआएको छ।

