हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले फलफूलको नर्सरी ब्यवस्थापन सम्वन्धी ३ दिने अगुवा कृषक तालिम शुरु गरेको छ ।
२८ गते शुरु भएर ३० गते सकिने तालिममा शीतोष्ण हावापानी भएका देशभरका १४ जिल्लावाट १८ जना नर्सरीधनी कृषकहरु सहभागी भएका शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
म्याग्दी ३ जना, बागलुङका र सल्यानका दुई जुई जना र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, उदयपुर, नुवाकोट, रुकुम पश्चिम, गोरखा, संखुवासभा र रसुवाबाट एकएक जना नर्सरीधनी कृषकहरुको सहभागिता रहेको छ ।
नर्सरीको ज्ञान दिएर गुणस्तरीय बिरुवा उत्पादन गर्ने मुख्य लक्ष्य र मुस्ताङ जिल्लालाई देशभर प्रचार गर्न पनि सहायक सिद्ध हुने अपेक्षा गरीएको छ । कृषि प्रविधि देशभर फिजाउन पनि यसले सहयोग गर्छ ।
तालिममा शीतोष्ण फलफूलहरुको गुणस्तरिय विरुवा उत्पादन गर्नको लागि केन्द्रमा भएका विभिन्न कृयाकलापहरुका सैद्धान्तिक एव्म व्यवहारिक कक्षाहरु समेटिएको छ । तीन दिनको तालिममा सकेसम्म कृषकहरुलाई ब्यवहारिक ज्ञान दिने नै हुने भएकाले फिल्डमा नै लगेर कृषकहरुलाई सिकाउने र देखाउने काम भएको तालिमको संयोजक शीतोष्ण वागवानी विकास केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले जानकारी दिनुभयो ।
विशेष गरि केन्द्रमा हुने शीतोष्ण फलफूलहरु स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजी वदाम, अंगुर, स्वीट चेरी, हेजल नट आदीका प्रसारण विधिहरु सिकाईदै छ । स्याउको सुकुटी तथा जाम कसरी बनाउने भन्ने बारेमा पनि प्रयोगात्मक अभ्यास हुने आत्रेयले जानकारी दिनुभयो ।
यसका साथसाथै यस केन्द्रमा भई रहेका नविनतम प्रविधिहरु जस्तै उच्च घनत्वमा स्याउ खेतीको लागि विरुवा उत्पादन कार्य जस्तै माउण्ड लेयरिङ्ग ट्रेन्च लेयरिङ्ग र तन्तु प्रजननका विविध पक्षहरु पनि कृषकहरुलाई सिकाईने छ । कलमी विरुवा उत्पादनको लागि रुटस्टक तथा सायनको ब्यवस्थापन, कलमीका बिभिन्न विधिहरु, मैनवाट सायन उपचार विधि, टप वर्किङ्ग तथा नर्सरीका रोग कीरा ब्यवस्थापनका विषयहरु पनि समेटिएका छन् केन्द्र प्रमुख आत्रेयले जानकारी दिनुभयो ।
