जलवायु र जलवायु परिवर्तन
छोटो समयमा हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई मौसम भनिन्छ भने लामो समयमा (३० वर्षभन्दा बढी) हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई जलवायु भनिन्छ । जलवायु तत्वको औसतमानमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका लागि अन्तरसरकारी समूह Intergovernmental panel on climate change का अनुसार जलवायुको अवस्थामा दशकौं वा अझै बढी अवधिसम्म अनवरत रुपमा हुने वा भैरहने परिवर्तन, जसलाई तथ्यांक विश्लेषणको माध्यमबाट औसतमानमा हुने परिवर्तनको परिमाणद्वारा पहिचान गर्न सकिन्छ, यसलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तन २१ औँ शताब्दिमा विश्वको लागि एक प्रमुख चुनौतीको रूपमा देखिएको छ । यसबाट अति विकसित (developed) देखी अति कम विकासित (least developed) मुलुकहरू प्रभावित बनेका छन् । विकसित मुलुकको अनुकूलन क्षमता बढी भएकोले ती देशहरूमा जलवायु परिवर्तन बाट हुने संकट कम देखिन्छ । तर अविकसित र विकासोन्मुख मुलुकहरू जलवायु परिवर्तनको खतरा (hazard) तथा प्रकोप ( disaster) हरूसँग बढी सम्वेदनशील (sensitivity) भएको र अनुकुलन क्षमता (adaptive capacity) कम भएकोले ती देशहरू जलवायु परिवर्तनबाट बढी संकट(vulnerable) मा परेका छन ।
नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था
विश्वको कूल हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका भएपनि नेपाल जलवायु परिवर्तनका प्रतिकुल असरहरुको जोखिम उच्च रहेका राष्ट्रहरु मध्ये एक हो । बहुप्रकोपीय जोखिमको हिसाबले २० औँ, जलवायु परिवर्तनको हिसाबले ९ औँ, बाढीपहिरोको हिसाबले ३० औँ तथा भूकम्पीय जोखिमको हिसाबले ११ औ स्थानमा नेपाल रहेको छ । नेपालमा अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०४-०.०६ ० सेल्सियसको दरले वृद्धि भएको, वार्षिक वर्षा चक्रमा हेरफेर, लामो समय सम्म खडेरी तथा तिव्र वर्षा हुने गरेको, पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको, तिव्र गतिमा हिमाल पग्लिदै जानाले हिमनदीहरु पातलिँदै र छोटिदै गएको र हिमतालहरुको आकार बढ्दै गएको जस्ता तथ्यहरु अध्ययनले देखाएको छ ।साथै मध्यम अवधि (२०१६-२०४५) मा वार्षिक औषद तापक्रम ०.९ देखि १.१० सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको छ साथै यो शताब्धी को अन्त्यसम्ममा वर्षा औषतमा ११ देखि २३ प्रतिशत र तापक्रम १.७२ देखि ३.५८ ० सेल्सियस वृद्धि हुने अध्ययनले देखाएको छ । (MoEF 2019)
नेपालमा जलवायु परिवर्तन सम्बन्धी गरिएको प्रयासहरु
नेपालमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रिय महासन्धिको ३१ जुलाइ १९९४ देखि पक्ष राष्द्र रहि आएको छ ।यसै गरि क्योटो अभिसन्धिको समेत १४ डिसम्बर २००५ देखि पक्ष राष्द्र को रुपमा काम गर्दै आएको छ भने नोभेम्बर २०१६ देखि पेरिस सम्झौताको पक्षराष्ट्र भइ यस क्षेत्रमा कृयाशील छ । जलवायु परिवर्तन सम्बन्धी सवालहरुलाई सम्बोधन गर्न सन् १९९२ देख हालसम्म सबै अन्तराष्ट्रिय प्रयासहरुमा नेपाल संलग्न छ । यसै क्रममा २०६५ मा राष्ट्रिय अनुकूलन कार्यक्रम NAPA, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय संरचना LAPA २०६८, जलवायु परिवर्तन नीति २०६७ (वि सं २०७६ मा परिमार्जित), स्थानीय विपद जोखिम न्युनिकरण तथा जललायु उत्थानशील योजना, विपद जोखिम न्युनिकरण राष्ट्रिय रणनीतिक योजना सन् २०८१-२०३० जस्ता नीति तथा योजना हरु बनेर कार्यान्वयन भइहेको अवस्था छ ।नेपाल राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले सीमान्तकृत समुदायको अनुकूलन क्षमता बढाउने र जोखिमलाई कम गर्ने, जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको जोखिममा रहेका पारिस्थितिक प्रणालीहरूको उत्थानशिलता वृद्धि गर्ने, हरित अर्थतन्त्र प्रवर्धन गर्ने, कम कार्वन उत्सर्जन गर्ने, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय स्रोतहरू सुनिश्चित गर्ने, जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान र प्रविधिको विकास गर्ने, जलवायु परिवर्तनलाई मुख्यधारा बनाउने, सबै तहका सरकार र क्षेत्रहरूमा नीति, रणनीति, योजना र कार्यक्रमहरूमा जलवायु परिवर्तनका मुद्दाहरू समावेश गर्ने साथै उक्त जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन कार्यक्रमहरूमा, लैङ्गिकता, अपाङ्गता, र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने जस्ता नीतिहरु पनि अवलम्वन गरेको देखिन्छ । साथै नीति कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका प्रष्टसँग उल्लेख गरि अन्तराष्ट्रिय संयन्त्र मार्फत जलवायु वित्त परिचालन गर्दा कम्तिमा ८० प्रतिशत रकम कार्यक्रम कार्यान्वयनमा परिचालन हुने सुनिश्चितता गरिएको छ ।
जलवायु परिवर्तनको कृषि क्षेत्रमा प्रभाव(Impact of climate change on agriculture)
नेपाल कृषि प्रधान देश भएकाले देशको अर्थतन्त्र कृषि मा बढी निर्भर रहेको छ ।कृषि क्षेत्रले मात्र नेपालको कुल ग्राहस्थ उत्पादनको करिव २५ प्रतिशत हिस्सा ओगटेको छ । नपेालमा जलवायु परिवर्तन को असर तथा प्रभाव प्रायः सबै क्षेत्रमा देखिएतापन खास गरि कृषि तथा खाद्यान्न, जलस्रोत, जैविक विविधता, स्वास्थ, पर्यटन तथा पुर्वाधारमा प्रतिकुल प्रभाव पारेका तथ्यहरु उल्लेख भएको पाइन्छन । जलवायु परिवर्तन सम्वन्धि अन्तर सरकारी नियोगले पुर्वि तथा दक्षिणपुर्वि एसियामा २१ औँ शताब्दिको मध्य सम्ममा कृषि उत्पादन २० प्रतिशतले बढ्न सक्ने अनुमान गरेको छ भने सोहि अबधिमा मध्य तथा दशिण एसियामा ३० प्रतिशत सम्मले उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरेको छ । सोहि अबधिमा विश्वब्यापी कृषि उत्पादनमा १० देखि २५ प्रतिशत सम्मले गिरावट आउनसक्ने अनुमान गरेको छ । नेपालमा विशेष गरि यसको भौगोलिक स्थिति र जलवायु संवेदनशील क्षेत्रहरु जलस्रोत र कृषिमा निर्भरताका कारण जलवायु परिवर्तनले महत्वपुर्ण प्रभाव पारेको छ ।
तालिकाःजलवायु परिवर्तनको कृषि मा प्रभाव
| जलवायुका तत्वहरु | सम्बन्धित जलवायु परिवर्तन जन्य खतराहरु | प्रभाव |
| तापक्रम | तापक्रममा वृद्धि | -नयाँ नयाँ रोग कीरा तथा झारपातको प्रकोप बढ्दो -हिउँ कम पर्ने तथा पानीका मुहानहरु सुक्नाले सिचाइ उपलब्धतामा कमी – वाली छिटो पाक्ने तर कम पौष्टिक तत्व हुने – पशुमा बाँझोपन र उत्पादनमा ह्रास – कृषि जन्य बालीहरु बढी उचाइ तिर सर्दै गएको – रैथाने तथा स्थानीय जातहरु लोप हुँदै गएको – पशुपंछीमा नयाँ नयाँ रोग तथा आन्तरिक र बाह्य परिजिवीहरुको संक्रमण बढ्दो – समय अवागै फूल फूल्ने फल लाग्ने |
| वर्षा | – भारी वर्षा (भल र बाडी सहित) -अति कम वर्षा वा खडेरी -असिना |
-तराईका क्षेत्रमा धान तथा तरकारी खेति मा नकारात्मक प्रभाव परेको -पहाडी तथा हिमाली भेगमा जमिन कटान भई खेतियोग्य जमिन बाढे बगाउने खतरा बढ्दो -बाढीले ल्याउने बालुवा र ग्रेगनले माटोको उर्वराशक्तिमा नोक्सानी -पानीका मुहानहरुमा कम पानी हुने वा मुहाननै सुक्ने गरेको -खडेरीले झरपात साथै रोग र कीराको प्रकोप बढ्दो -बालीहरुको उत्पादन र गुणस्तरमा ह्रास -घाँस उत्पादनमा कमी साथै चरण क्षेत्रहरु लोपउन्मुख अवस्थामा पुगेको |
| हावा | -हावाहुरी | -फूल र फल झार्ने -खडा बाली नष्ट गर्ने |
जलवायुमैत्री कृषि(Climate Smart Agriculture)
जलवायुमैत्री कृषि प्रविधि भन्नाले जलवायु परिवर्तनका प्रभावहरुसँग अनुकूलन भई हरितगृह ग्याँसको उत्सर्जनलाई कम गर्ने, कृषि उत्पादन मा वृद्धि गरि कृषक तथा समाजको खाद्य सुरक्षा सुनिश्चितता गर्ने प्रणाली हो । यसको शुरुवात खाद्य तथा कृषि संगठनको सन् २०१० मा नेदरल्याणडमा भएको खाद्य सुरक्षा तथा जलवायु परिवर्तनको सम्मेलनबाट भएको हो । जलवायु मैत्री कृषि का मुख्य तीन उद्देश्यहरु;कृषिमा उत्पादन र आम्दानी बढाउने र खाद्य सुरक्षित समाज र राष्ट्रको निर्माण गर्ने हरितगृह ग्याँसको उत्सर्जनमा कमी ल्याउने र जलवायु परिवर्तनका अनुकूलन योजना निर्माण गर्ने पर्दछन ।
जलवायुमैत्री कृषि बाट हुने उपलब्धी हरुः
- उत्पादकत्वमा वृद्धि
- कुल आयमा वृद्धि
- उत्पादन समाग्रीको प्रयोग र प्रभावकारितामा सुधार
- हरितगृह ग्याँस उत्सर्जनमा कमी
- बढ्दो उत्थानशिलता
- लैङ्गिक तथा सामाजिक समावेशीकरणमा वृद्धि
जलवायुमैत्री कृषि अन्तर्गत कृषि क्षेत्रमा जलवायु परिवर्तन अनुकूलन र न्युनीकरणका प्रविधि तथा अभ्यासहरु पर्दछन ।
जलवायु परिवर्तन अनुकूलन र न्युनिकरण (Climate change adaptation and mitigation)
जलवायु परिवर्तनको सकारात्मक प्रभावहरुबाट फाइदा लिन र नकारात्मक प्रभावहरुबाट बच्न अर्थात क्षति कम गराउन मानवीय, प्रकृतिक र समाजिक प्रणालीमा गरिने परिवर्तनलाई जलवायु परिवर्तन अनुकूलन भनिन्छ भने जलवायु परिवर्तन कम गराउनका लागि वायुमण्डलमा हरितगृह ग्याँसहरुको मात्रा घटाउन अपनाइने प्रविधि र अभ्यासलाई जलवायु परिवर्तन न्युनिकरण भनिन्छ ।
कृषिमा जलवायु परिवर्तन अनुकूलन र न्युनिकरणका केही प्रविधि र अभ्यासहरु
- सुख्खा, खडेरी र अधिक वर्षा सहन सक्ने बालीका जातहरुको संरक्षण व्यवस्थापन र प्रयोग गर्ने
- आकासे पानी संकलन र समुचित प्रयोग गर्ने
- मौसम पूर्वानुमान प्रविधिको प्रयोग गर्ने
- जलवायुमा आधारित कृषि विमा प्रणालीकी सन्चालन गर्ने
- वाली विविधिकरण, कृषि जैविक विविधताको संरक्षण र प्राङ्गारिक खेति प्रणालीलाई प्रवर्धन गर्ने
- जलवायु खेति प्रविधिसँग सम्बन्धित परम्परागत सीप, ज्ञान र प्रविधिको प्रयोग तथा प्रवर्धन गर्ने
- जलवायु परिवर्तन सम्बन्धी क्षमता अभिवृद्धि का कार्यक्रम र प्रविधि प्रदर्शन गर्ने
- अनुवंशिक स्रोतहरुको संरक्षण कृषक समुदयस्तर स्थानीय जातहरुको पहुँच र गुणस्तरीय वीउको उत्पादन प्रवर्धन गर्ने
- कृषि तथा पशुपंछी क्षेत्रमा उत्पादन, सङ्कल, प्रशोधन र भण्डारणका लागि न्युन कार्वन उत्सर्जन तथा उर्जा किफायति प्रविधिहरुको प्रवर्धन गर्ने
- बाँझो कृषि योग्य भूमिमा वहुउपयोगी रुख प्रजाति सहितको कृषि वन प्रणालीको विकास र प्रवर्धन गर्ने
- दिगो कृषि वन प्रवर्धन, प्राङ्गारिक खेति तथा एकीकृत शत्रुजीव व्यवस्थापनमा प्रोत्साहन तथा प्रवर्धन गर्ने
- कोशेबालीको प्रयोग, गोबर मलको व्यवस्थापन र प्रयोग र शुन्य वा न्युनतम खनजोग गर्ने
- फडानी र डढउने कृषि प्रणालीलाई निरुत्साहित गर्ने
निष्कर्ष
जलवायु परिवर्तन एक अन्तरक्षेत्रगत तथा बहुआयमिक विषय हो । जलवायु परिवर्तनले गर्दा अनिकाल, रोगको महामारी, पानीको उपलब्धतमा कमी, बाढी पहिरोबाट धन, जन र भौतिक पुर्वाधारमा क्षति, जैविक विविधतामा असर आदि हुने हँनाले उक्त समस्याहरुसँग जुध्न दिगो कृषि, पर्यावरणीय कृषि र जिविकोपार्जन उत्थानशीलतालाई रणनीतिको रुपमा प्रयोग गरेर हरितगृह ग्यास उत्सर्जनलाई कम गर्न जलवायुमैत्री कृषि प्रविधिहरुको अनुशरण गर्दै यसलाई सङ्घ प्रदेश र स्थानीय तहका नीति, योजना तथा कार्यक्रममा मूलप्रवाहीकरण गर्दै लैजान अत्यन्त आवश्यक छ ।
सन्दर्भ समाग्री
जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना- २०८०-२०८७
जलवायु परिवर्तन यसका असर तथा अनुकूलनका उपायहरु -LI-BIRD
जलवायु परिवर्तन अवस्था, असर र प्रयासहरु- डा विश्वनाथ ओली
लि-बर्ड २०७०, जलवायु परिवर्तन र कृषि
