बेनी नगरपालिका–१ आनन्दबगरका सन्तोष भन्ने कृष्णबहादुर बोगटीको हत्यामा दोषी ठहर भएका सोही ठाउँका किसान जिसी भन्ने कृष्णबहादुर घर्तीलाई उच्च अदालत पोखराको बागलुङ इजलासले जन्मकैदको सजाय सुनाएको छ । यस अघि जिल्ला अदालत म्याग्दीले पनि दोशी मान्दै पाँच वर्ष कैद तीन लाख क्षतिपूर्ति तोकेको थियो । जिल्ला अदालतले तोकेको पाँच वर्ष भन्दा २० वर्ष बढी अर्थात् जन्मकैद(२५ वर्ष कैद) उच्च अदालतले तोकेको हो ।
म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डीतको इजलासले वि.स. २०८१ असार १६ गते दोशी मान्दै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो सोही अनुसार २०८१ असार ३१ गते भने किसान जिसीको लापर्वाहीले गर्दा मृत्यु भएको मान्दै पाँच वर्ष मात्रै कैद तोकेको थियो । जिल्ला अदालतले सजाय निर्धारणका क्रममा पाँच वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
जिल्ला अदालतको फैसलाका विरुद्ध किृष्णबहादुर जिसीले सन्तोष भन्ने कृष्ण बहादुर बोगटीको मृत्यु आफै भएको हुनाले आफूलाई निर्दोष सावित गरिनु पर्ने जिकिर सहित उच्च अदालत गएका थिए । भरतप्रसाद केसीको जाहेरीले नेपाल सरकारको तर्फबाट सरकारी वकिल कार्यालय वि.स. २०८१ कात्तिक ११ गते जिल्लाको फैसला बिरुद्धमा उच्च अदालत पोखराको बागलुङ इजालसमा पुनरावेदन गरेका थिए । कर्तव्य गरी मारेको र घटना समेत लुकएको भन्दै जन्मकैद माग गरिएकोमा जिल्ले उक्त फैसला नगरेको हुँदा जन्मकैद सजाय माग गर्दै उच्च अदालतमा पुनरावेदन दिएको थियो ।
उच्च अदालतका न्यायाधिशद्वय यज्ञबहादुर रानामगर र खड्गबहादुर के.सी. को २०८२ असार ३२ गते मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (२) बमोजिम जिसीलाई जन्मकैद (२५ वर्ष) को सजाय र तीन लाख क्षतिपुर्ति भराउने फैसला गरेको हो । फैसलाको पूर्ण पाठ साउन २० गते आइतबार प्रमाणीकरण भएको छ ।
जिसीले बोगटीलाई कर्तब्य गरी मारेको पुष्टि भएपनि उक्त वारदातलाई लापरवाहीपुर्वक घटेको घटनाको संज्ञा दिई मुलकी अपराध संहिता, २०७४ को दफा १८१ (१) अनुसार कैद र क्षतिपूर्ति भराउने फैसला म्याग्दी जिल्ला अदालतबाट भएको भएको थियो । जिल्ला अदालतले गरेको फैसला मिलेको नदेखिंदा (उल्टी) बदर गरेको उच्च अदालतको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
बोगटीका परिवार र आफन्तले जिल्ला अदालतको चित्त नबुझ्दो फैसलालाई उच्च अदालतको बागलुङ इजलासले सच्चाएको र फैसलाबाट न्यायको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । मृतक बोगटीकी पत्नीले समेत सामाजिक सञ्जालमा आफूले बल्ल न्यायको प्रत्याभुत गर्न पाएको उल्लेख गर्नुभएको छ ।

बेनीमा फेन्सी ब्यवसाय गर्ने ४० वर्षीय बोगटी २०७९ चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा मृत अवस्थामा फेला गर्नुभएको थियो । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । छिमेकी रहेका बोगटी र जिसी २०७९ चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राती फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।
रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनी नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेजको पनि सहयोगमा प्रहरीले अनुसन्धान गरेको थियो । प्रराम्भीक अवस्थामा २०८० वैशाख २७ गते तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसीलाई पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान गरिएको थियो ।
उच्च अदालतले किसान जिसीलाई जन्मकैद फैसला तोक्दो देखाएका केही कारणहरु
८८.सम्मानित सर्वोच्च अदालतबाट “अदालतसमशको बयानमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ । अप्रत्यक्ष प्रमाणको आधारबाट पनि अदालतले विवादको सही निरूपण गर्नुपर्ने हुन्छ । अपराधीले सदा कसैले देख्ने गरी अपराध नगर्ने र अपराधसँग सम्बन्धित दशी प्रमाणसमेत नष्ट गर्ने प्रयास गर्ने हुँदा फौजदारी मुद्दामा परिस्थितिजन्य प्रमाणबाट पनि दोषी पत्ता लगाउनु पर्ने बाध्यता रहन्छ । यसै कारणबाट अप्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणलाई फौजदारी न्याय प्रणालीमा स्थान दिइएको हो । कुनै पनि प्रतिवादीले प्रत्यक्ष प्रमाण नष्ट गर्न सक्ने र प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा पनि दोषी पत्ता लगाउनु पर्ने अवस्थामा परिस्थितिजन्य प्रमाणको सहारा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रतिवादीले परिस्थितिजन्य प्रमाणलाई दवाउन, लुकाउन वा तोडमोड गर्न कठिन हुने हुँदा प्रत्यक्ष प्रमाणभन्दा यो बढी विश्वासयोग्य मान्ने गरिन्छ भन्ने सिद्दान्त प्रतिपादन भएको देखिन्छ । त्यसै गरी नेपाल सरकार विरुद्द कुमान गुरुङ समेत भएको कर्तव्य ज्यान मुद्दामा “फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाणको सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको वारेमा न्यायिक निरूपण हुन आवश्यक हुने । कुनै घटनामा परिस्थितिजन्य प्रमाणले नै घटनाक्रम उजागर गरी घटनाको पुष्टि गरिरहेको छ भने प्रत्यक्ष प्रमाण प्रस्तुत हुन नसकेकै कारण निर्दाेषिताको आधार बन्न नसक्ने भन्ने सिद्दान्त प्रतिपादन भएको परिपेक्ष्यमा हेर्दा प्रस्तुत मुद्दामा संयुक्त रुपमा कारोबार गर्ने मृतक र प्रतिवादीहरुको आर्थिक कारोबार सन्तोष भन्ने कृष्ण बहादुर बोगटीले मात्र गर्ने गरेकोमा सो कुरामा प्रतिवादी असन्तुष्ट रहेको भन्ने देखिएको, घटनास्थल नजिक प्रतिवादीले सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई झापड हानेको एवं झगडा गरेको, ढुंगा लिएर हान्न लागेको मोहित घर्ती समेतले देखेको, ढुंगा लिई मृतकलाई हान्न लखटेको केशर बहादुर बुढाथोकीले देखेको, ’सो ठाँउ नजिकको भीरमा भोलिपल्ट मृतकको लाश भेटिएको, निज प्रतिवादी किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्ती र सन्तोष भन्ने कृष्ण बहादुर बोगटीसँग छुट्टिएका मोहित घर्तीमगर समेतका व्यक्तिहरु ३६ मिनेटमा बेनी पुगेको देखिएकोमा निज प्रतिवादी वारदात स्थल नजिकबाट बेनी पुग्न अस्वभाविक रुपमा ३ घन्टा भन्दा बढी समय लगाएकोमा सो ढिलाईलाई प्रतिवादीले वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न नसकेको, घटनास्थल नजिकबाट एक्लै बेनी तर्फ गई मृतकको अवस्था बुझ्न नलागी भोलिपल्ट विहानसम्म समेत् मृतकको अवस्थाबारे कोही कसैलाई नभनी गुपचुप बसेको समेतका परिस्थितिजन्य प्रमाणवाट निज प्रतिवादी किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्ति निर्दोष हुन भन्न सक्ने अवस्था मिसिल संलग्न कागजबाट देखिएन ।
८९. अब प्रतिवादी किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्तीको लापरवाहीको कारण सन्तोष भन्ने कृष्ण बहादुर घर्तीको मृत्यु भएको होइन, सुरु अदालतबाट भएको फैसला बदर गरिपाउँ भन्ने बादी नेपाल सरकारको पुनरावेदन जिकिर तर्फ विचार गर्दा, सामान्य अर्थमा लापरवाहीपूर्ण कार्य त्यस्तो कार्य हो जसले परिणामलाई बेवास्ता गर्छ । अर्थात्, आफ्नो कार्यको परिणाम यस्तो हुनसक्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कार्य नगर्नुपर्ने सकरात्मक दायित्वको उल्लंघन गर्छ । लापरवाही परिणामको ख्याल नगरी गरेको कार्य हो । यसमा कर्ताले आफूले गरेको कार्यबाट पीडितलाई क्षति पुग्न सक्छ भन्ने नसोची अनावश्यक जोखिम पनि लिएको हुन्छ । कमन ल प्रणालीमा प्रतिवादीले आफ्नो कार्यबाट पीडितको ज्यान जान सक्छ भन्ने अनुमान गरेको हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले सुरु अदालतमा बयान गर्दा कृष्ण बहादुर बोगटीको होटलबाट खाजा खाए पश्चात लामागरा सम्म आफूले बाइक चलाएको र लामागराको चोकमा पुग्दा सन्तोष दाइले बाइक चलाइ तँ अर्को बाटो जालास भनेकोले हामी हुलाकेडाँडा ठूलो रानीबनको बाटो हुँदै जाँदा बाटोमा बाइक चिप्लिएको हुँदा निजहरु लडेको र सन्तोष रिसाइ बाइक छोडी तैले बाइक लिए आइजा भनी अगाडि गएको र ततपश्चात निजसँग भेट नभएको भन्ने उल्लेख भएको पाइन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ मा कसैले लापरवाहीपूर्वक काम गरी कसैको ज्यान मार्न हुदैन भन्ने कानूनी व्यवस्था हेर्दा कसैले लापरवाहीपूर्वक काम गर्दा कसैको ज्यान गएमा मात्र सो दफा आकर्षित हुनेमा प्रस्तुत मुद्दामा प्रतिवादीकै बयान बमोजिम मोटरसाइकल लडाई रिसले एक्लै हिँडेका कृष्ण बहादुर बोगटीलाई निज प्रतिवादीले छोडि गएको सन्दर्भमा निज प्रतिवादीको बेवास्ताको कारण कृष्ण बहादुर बोगटीको मृत्यु हुन गएको भन्ने आधार लिई उक्त घटना लापरवाही भएको भन्न मिल्ने देखिदैन । मृतकलाई तत्काल खोजबिन गरी घाईते अवस्थाना भए निजलाई उपचारको लागि तत्काल स्वास्थ्य संस्थामा लैजाने कार्यमा प्रतिवादीले तदारुखता नदेखाएको र मृतक मरे मरोस् भन्ने लापरबाहीपूर्ण कार्य गरी मृतकलाई दुर्घटनास्थलमा रातको समयमा एक्लै छोडी प्रतिवादी गएको अवस्थामा मृतकको मृत्यु हुनुमा प्रतिवादीको लापरबाही पूर्ण क्रिया जिम्मेवार रहेको भन्ने सुरु जिल्ला अदालतको फैसला युक्तिसंगत नदेखिएको हुँदा सुरु जिल्ला अदालतबाट भएको फैसला मिलेको देखिन आएन । निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटी रक्सी नशाको सुरमा आफै लडी मरेका त होइनन् ? भनी मान्ने हो भने पनि घट्ना घट्नु भन्दा केही समय अगाडि उक्त सडकमा भेट भएका मोहित घर्ती मगर, याम बहादुर थापाले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा र अदालतमा बकपत्र गर्दा निज प्रतिबादी किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्तीले सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई कुटपिट गरेको र ढुङ्गा उठाइ प्रहार गर्न लखेट्टै गरेको आफूहरुले देखेको भनी लेखाइदिएको, केशर बहादुर बुढाथोकीले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष कागज गर्दा र अदालतमा बकपत्रबाट गर्दा निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई प्रतिबादी किसान जि.सी.भने कृष्ण बहादुर घर्तीले ढुंगाले लखेट्दै लगेको देखेको हुँ भनी उल्लेख भएको देखिएको, सन्तोष भन्ने कृष्ण बहादुर बोगटीको आमा विष्णु मायाले अदालतमा बकपत्र गर्दा उक्त वारदात घट्नु भन्दा केही दिन अगाडि घरमा आएका निज प्रतिवादीले तलाई नमारी छाड्दिन भनी भनेका थिए भनी उल्लेख गरेको देखिएको, युवराज सुवेदी र महेश बहादुर चन्दले मौकामा कागज गर्दा प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्तीले बालुवाको पैसा दिंदा कृष्ण बहादुर बोगटीलाई मात्र नदिनु पैसा दिदा मलाई सँगै राखेर दिनु भनी उल्लेख गरेको देखिंदा निजहरु वीच आर्थिक कारोवारमा मन मिलेको नदेखिएको, र सन्तोष बोगटीको श्रीमती सुमित्रा बोगटीले अदालतमा बकपत्र गर्दा निजहरु बीच संयुक्त कारोबार भई मेलमिलाप नभएको भनी लेखाएको देखिन्छ भने उक्त वारदातको भोलिपल्टं सन्तोष भन्ने कृष्ण बहादुर बोगटी कता हुनुहन्छ भनी कुमार भन्ने प्रेम बहादुर थापाले निज किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्तीलाई मोबाइलमा फोन गरी सोध्दा निजले दाइ त हिजै बित्नु भएको हो भनी भनेको कुरा उल्लेख गरी अदालतमा बकपत्र गरेको देखिँदा निज प्रतिवादीलाई उक्त घट्ना घटेको भन्ने कुरा मिति ०७९।१२।२९ गते नै थाहा भएको भन्ने देखिन्छ । घट्ना घटेको कुरा थाहा जानकारी हुँदा हुँदै सो कुरा कोही कसैलाई नभनी गुपचुप राखी अरु कसैलाई नभनेबाट निज प्रतिवादीको उक्त क्रियाकलाप संदिग्ध देखिन्छ । निज प्रतिवादीले सन्तोष भन्ने कृष्ण बहादुर बोगटी रक्सीको नशाको सुरमा आफै लडी मरेको त होइनन् ? भन्ने हो भनी मान्ने हो भनेपनि घट्नाक्रम, प्रतिवादीले सन्तोष भन्ने कृष्ण बहादुर बोगटी उपर देखाएको पूर्व क्रियाकलाप, घटनास्थल प्रकृति मुचुल्काको अतिरिक्त प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्ती स्वयंले निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटी भीरबाट लडी मरेको भन्न नसकेको स्थितिमा निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटी भीर बाट लड़ी मरेको भन्न मिल्ने देखिन आएन । यसै मुद्दाको तथ्यसँग मिलान हुने मनोज कुमार जि.सी. बिरुद्द नेपाल सरकार भएको मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट “संगै बसी रक्सी खाएका मृतक र प्रतिवादी भात्रै रातको समयमा संगै हिड्नु साथै हिडेका मध्ये एकजना सर्वाङ्ग नाङ्गै भई रगताम्यै अबस्थामा राजमार्गमा रहेको कलभर्टमा घाइते अवस्थामा भेटिनु तथा अर्को अर्थात पुनरावेदक प्रतिवादी घरमा गई सु्त्नुजस्ता कार्य कारण समेतबाट पुनरावेदक प्रतिवादीकै कार्यबाट मृतकको मृत्यु हुन गएको तथ्यमा शंका गर्ने ठाँउ नरहने“ ने.का.प २०७१ अंक १२ नि.नं. ९३१३) भन्ने सिद्दान्त प्रतिपादित भएको देखिँदा उक्त प्रतिपादित सिद्दान्त समेतका आधारमा निज प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्ती निदर्दोष हुन भन्ने देखिन आएन ।
९०. तसर्थः किसान जि.सी भन्ने कृष्ण बहादुर घर्तीले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष र अदालतमा बयान गर्दा मिति २०७९।१२।२९ गते १ नं. वडा कार्यालय बेनी रत्नेचौरमा सिफारिश लिन भनी निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटीसंग उक्त कार्यालयमा गई बेनी तर्फ फर्कने क्रममा धरहरा होटलमा रक्सी समेत सेवन गरी लामागरा भन्ने ठाउँमा मोटर साइकल रोकी हुलाके डाँडा हुँदै जाँदा रानी बननेरको बाटो चिप्लो भएको कारण उक्त मोटरसाइकल लडी पल्टेपछि निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटीले लात्ताले उक्त मोटरसाइकल हिर्काइ मोटरसाइकल लिएर आउनु भनी आफू अगाडि हिँडेर जानुभएको र उक्त मोटरसाइकल स्टार्ट नभएकोले डोराउदै लैजाँदा ओरालो बाटोमा आफै स्टार्ट भएपछि मोटरसाइकल चलाई म बेनी बजारमा आइ उक्त मोटरसाइकल निज सन्ताषे भन्ने कृष्ण बहादुर बोगटीको पसल अगाडि राखी दिएको हुँ । निज कृष्ण बहादुर बोगटी घरमा आइ सके होलान भनेको थिए । निज घरमा नआएको भन्ने कुरा निजको श्रीमतीले भोलिपल्ट मलाई भनेपछि निजलाई खोज्न जाँदा हुलाके डाँडाको सामुदायिक बनमा मृत अवस्थामा देखेको’ कुरा उल्लेख गर्दै निजलाई मैले कर्तव्य गरी मारेको होइन भनी कसुरमा इन्कार रही वयान गरेपनि उक्त रातीः बागलुङ बजारबाट रन्नेचौरको बाटो हुँदै बेनी तर्फ मोटरसाइकलमा जादै गरेका याम बहादुर थापा र मोहित घर्ति मगरले मौकामा तत्काल कागज गर्दा उक्त राती करीव २०ः४५ बजेको समयमा बाटोमा दुईजना मानिसहरुले रक्सीको नशामा मोटरसाइकल अडाइ बसिरहेका र निजहरुले बोलाएकोले हामीहरु उक्त स्थान गई हेर्दा निजहरु एकआपसमा विवाद गरेका र कृष्ण बहादुर बोगटीलाई प्रतिवादीले गालामा ३ पटक हिर्काएको देखेपछि निजहरुलाई बेनी सम्म पुरÞ्याइदिने सल्लाह भई मैले चलाएको मोटरसाइकल पछाडिपट्टि निज किसान जि.सी भन्ने कृष्ण बहादुर घर्ति र निजहरुको मोटरसाइकल मोहित घर्ति मगरले चलाई सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई पछाडि बसाली करीव १ किलोमिटर बेनीतर्फ आएपछि मेरो मोटरसाइकलको पछाडि बसेको किसान जि.सी भन्ने कृष्ण बहादुर घर्तिले मोटरसाइकल रोक्न लगाई निजले ढुङ्गा टिपी पछाडि आइरहेका मोहित घर्तिले चलाइ ल्याएको मोटर साइकलमा बर्सेका निजका साथी सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई ढुङ्गाले ताकेपछि मोहित घर्ति मगरले मोटरसाइकल रोकी निजहरुलाई त्यही छाडी हामी बेनी तर्फ गएका हौ भनी लेखाएकोमा अदालतमा उपस्थित भई वकपत्र गर्दा मौकाको कागजलाई पुष्टि हुने–गरी लेखाइदिएको पाइन्छ । उक्त राती सोही बाटो भएर बेनीबाट बागलुङतर्फ आइरहेको ग.१.त ४६९६ नं. का ट्रयाक्टर चालक केशर बहादुर बुढाथोकीले तत्काल मौकामा कागज गर्दा उक्त रातको करीव ०९.३० बजेको समयमा बागलुङ बेनी सडक खण्डको हुलाके भन्ने स्थानमा आउँदा कृष्ण बहादुर घर्तिले हातमा ढुङ्गा लिइ सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई पछाडिबाट लखेड्दै गरेको देखि मैले ट्रयाक्टरको गति कम गराई हेर्न खोज्दा निज कृष्ण बहादुर घर्तिले आँखा तरी गाली गरेकोले ट्रयाक्टर अंगाडि बढाएको हुँ भनी लेखाएकोमा निजले अदालतमा उपस्थित भई बकपत्र गर्दा सोही बेहोरा उल्लेख गर्दै प्रतिवादीले मलाई समेत ढुङ्गाले हानी दिन्छु भनेकोले डरले ट्रयाक्टर अगाडि बढाएको हुँ भनी लेखाएको देखिन्छ । प्रतिवादीले उक्त समयमा बेनी बागलुङ खण्डमा कुनै सवारी साधन आवत जावत नगरेको आफूले कसैलाई नभेटेको भनी बयानमा उल्लेख गरे पनि उक्त समयमा गाडीहरु आवत जावत गरेको भन्ने सिसिडिभि फुटेजबाट देखिएको, केशर बहादुर, मोहित घर्ती र याम बहादुरले प्रतिवादी र मृतकलाई देखेको, निज प्रतिवादी र सन्तोष भन्ने कृष्ण बहादुर बोगटी सोही स्थानमा रहेको भन्ने कल डिटेल विवरणबाट देखिँदा निज प्रतिवादीको उक्त भनाई पत्यार लाग्दो देखिएन । घटना घट्नु पूर्वका प्रत्यक्षेदर्शी केशर बहादुर बुढाथोकी, याम बहादुर थापा, मोहित घर्ति मगरको उक्त कुरालाई प्रमाणमा लिनु पर्ने देखिन आयो । आफूसँग रक्सी सेवन गरेका साथीलाई गालामा हिर्काउनुको अतिरिक्त हातमा ढुङ्गा लिई पछाडिबाट लखेट्दै घटनास्थल तर्फ लैजानु, घटना घटे पश्चात सो कुरा कोही कसैलाई नबताइ गुपचुप राख्नुले प्रतिवादीको उक्त क्रियाकलापले निज प्रतिवादीले उक्त घटना घटाएको कुरो थप पुष्ट्याई हुन आउछ । घटनाका सम्बन्धमा घटना विबरण सम्बन्धी कागज गर्ने सुमित्रा बोगटी, कुमार भन्ने प्रेम बहादुर थापा, लक्ष्मी कुमारी कार्की समेतले प्रतिवादी किसान जि.सी भन्ने कृष्ण बहादुर घर्तिले निज सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई कर्तव्य गरी मारेको भनी लेखाइदिए समेतका मिसिल संलग्न शव परीक्षण प्रतिवेदन, घटनास्थल प्रकृति मुचुल्का, उल्लेखित घटनाक्रम तथा परिस्थितिजन्यः प्रमाणबाट निज प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्तिले सन्तोष भन्ने कृष्ण बहादुर बोगटीलाई कर्तव्य गरी मारेको पुष्टि भईरहेको अवस्थामा निज प्रतिवादीलाई अभियोग माग दावी बमोजिम सजाय गर्नु पर्नेमा उक्त वारदातलाई लापरवाहीपूर्वक घटेको घटनाको संज्ञा दिई निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१(१) को कसुर कायम गरी ऐ. संहिताको दफा १८१(२) बमोजिम ५ वर्ष कैद र रु.५०,०००।– (पचास हजार) जरीवाना गरी मृतकको हकवालालाई रु. ३,००,०००।– (तीन लाख रुपैया) क्षतिपूर्ति भराइ पाउने ठहरÞ्याई मिति २०८१।०३।३१ मा म्याग्दी जिल्ला अदालतबाट भएको फैसला मिलेको नदेखिंदा बदर (उल्टी) गरीदिएको छ । माथि विवेचित आधार प्रमाणबाट निज प्रतिवादी किसान जि.सी.भन्ने कृष्ण बहादुर घर्तिलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) को कसुरमा ऐ संहिताको दफा १७७ (२) बमोजिम जन्मकैद हुने र निज प्रतिवादीबाट पीडितको हकवालाले ऐ. संहिताको दफा १८६ वमोजिम रु. ३,००,०००।– (तीन लाख) क्षतिपूर्ति भराइ लिन पाउने ठहर्छ । अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ वमोजिम रु २.८००।– (अक्षरेपि दुई हजार आठ सय) प्रतिवादीबाट दाखिला गराई पीडित राहत कोषमा जम्मा गराउनु । पुनरावेदक प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्तीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल खण्ड
– माथि ठहर खण्डमा लेखिए बमोजिम शुरु म्याग्दी जिल्ला अदालतबाट भएको फैसला बदर (उल्टि) भई प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्तिलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) को कसुरमा ऐ संहिताको दफा १७७(२) बमोजिम जन्मकैद (पच्चीस वर्ष) कैद सजाय हुने ठहरी फैसला भएकोले निज प्रतिवादीको नाममा शुरु अदालतमा रहेको कैद सजायको लगत संशोधन गरी प्रस्तुत फैसला बमोजिमको लगत राखी असूल उपर गर्नु भनी फैसलाको प्रतिलिपिसहित शुरु अदालतमा लेखी पठाउनु.. १
– मृतकको हकवालाले प्रतिवादीबाट मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम रु.३,००,०००।– (तीन लाख) क्षतिपूर्ति भराई लिन पाउने ठहरी फैसला भएको हुँदा प्रस्तुत मुद्दा अन्तिम भएपश्चात मृतकको हकवालाले क्षतिपूर्ति भराई पाउँ भनी निवेदन गरेमा कानून बमोजिम प्रतिवादीबाट उक्त क्षतिपूर्ति वापतको रकम भराई दिनु भनी शुरु अदालतमा लेखी पठाउनू… २
– प्रस्तुत फैसलामा चित्त नबुझे मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (ख) बमोजिम ७० दिनभित्र श्री सर्वोच्च अदालतमा पुनरावेदन गर्नु भनी फैसलाको प्रतिलिपि साथै राखी कारागार कार्यालय, म्याग्दी मार्फत प्रतिवादीलाई पुनरावेदनको म्याद दिनू ३
– प्रतिवादी किसान जि.सी. भन्ने कृष्ण बहादुर घर्तीलाई जन्म कैदको सजाय हुने ठहरी फैसला भएको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ वमोजिम प्रस्तुत फैसला प्रमाणीकरण भएको मितिले ३५ दिन भित्र सक्कल मिसिलसहित श्री सर्वोच्च अदालतमा साधक पेश गर्नु..४
– प्रस्तुत फैसलाको प्रतिलिपिसहितको जानकारी उच्च सरकारी वकील कार्यालय, बागलुङलाई दिनू…. ..५
– प्रस्तुत फैसला प्रमाणीकरण भएको विवरण सूचना पाटीमा टाँस गरी अदालतको वेबसाइटमा समेत प्रकाशन गर्नु.६
– फैसलाको नक्कल माग गर्ने सरोकारबालालाई नियमानुसारको दस्तुर लिई नक्कल दिनु……..७
– प्रस्तुत मुद्दाको दायरीवाट लगत कट्टा गरी शुरु मिसिल शुरु जिल्ला अदालतमा पठाई रेकर्ड मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनु.८
खड्क बहादुर के.सी न्यायाधीश
यज्ञ बहादुर राना मगर न्यायाधीश
फैसला तयार गर्न सहयोग गर्नेः–
इजलास अधिकृतः– राजुप्रसाद लामिछाने
कम्प्युटर अपरेटरः– इन्द्र कुमारी काउचा
इति संवत् २०८२ साल असार महिना ३२ गते रोज ४. शुभम
फैसला प्रमाणीकरण मितिः २०८२-०४-२०
