म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पबित्र तिर्थस्थल गलेश्वरधाममा साउनको दोश्रो सोमबार निःशुल्क रुपमा पानी वितरण तथा मन्दिर परिसर सरसफाइ गरिएको छ । सक्रिय युवाहरुको सामाजिक संस्था म्याग्दी जेसीजले धार्मिक तथा सामाजिक सेवा अन्तर्गत उक्त कार्य गरेको जनाएको छ ।
धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्य अन्तर्गत साउनको दोश्रो सोमबार गलेश्वरधाममा दर्शन गर्न आएका भक्तजनहरूलाई जेसीजले निःशुल्क रुपमा पिउने पानी वितरण गरेको थियो । बिहानैदेखि म्याग्दी जेसीजका सदस्यहरू खटिएर भक्तजनलाई सहज रुपमा पूजाअर्चना गर्न आवश्यक व्यवस्थापनमा सहयोग गर्नुका साथै पानी वितरण गरिएको म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्तीले जानकारी दिनुभयो ।
दिनभर पानी बितरण गरेको जेसीजले बेलुकीपख मन्दिर परिसरमा स्वच्छता अभियान अन्तर्गत सरसफाइ गरेको थियो । गलेश्वर मन्दिर परिसर तथा वरपरको क्षेत्रमा सरसफाइ गरी धार्मिक स्थलको सौन्दर्य र स्वच्छ वातावरणलाई सफा बनाउन पहल गरिएको छ ।
म्याग्दी जेसीजका सहकोषाध्यक्ष तथा कार्यक्रमका संयोजक तेजेन्द्र खत्रीले जेसीजले सञ्चालन गरेको अभियानले समुदायस्तरमा सामाजिक सचेतना फैलाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
