आर्थिक वर्ष २०८१/०८२ मा विकास खर्च झण्डै ८४ प्रतिशत भएको बेनी नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले नगरपालिकामार्फत सम्पादित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार बेनी नगरपालिकाले पूँजीगत तर्फ कुल बजेटको ८३ दशमलव ९९ प्रतिशत बजेट खर्च भएको छ ।

आर्थिक विकासतर्फ ७९ दशमलव ५२ प्रतिशत, सामाजिक विकासमा ९२ दशमलव दुई प्रतिशत र पूर्वाधार विकासतर्फ ८६ दशमलव २३ प्रतिशत बजेट खर्च भएको हो । सुशासन तथा अन्तसम्बन्धित क्षेत्रतर्फ ८२ दशमलव ६९ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८६ दशमलव ७५ प्रतिशत गरी कुल ८६ दशमलव ७५ प्रतिशत बजेट खर्च भएको शर्माले जानकारी दिनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले कृषि र पशुपालनको क्षेत्रमा बजेट कम भएको, सिङ्गामा बनाइएको कोल्डस्टोर प्रयोगमा नआएको गुनासो गरेका थिए । मालपोत कार्यालयमा लाभकर महङ्गो भएको, हस्पिटलचोकदेखि माथि जाने सडक स्तरोन्नति तथा मङ्गलाघाट क्षेत्रको फोहोर व्यवस्थापन गर्नुपर्ने माग राखेका थिए ।

टोल विकास संस्थालाई आर्थिक सहयोगको आवश्यकता, बाबुआमाको ठेगान नभएका बालबालिकाको नागरिकता पाउन समस्या, विपन्न परिवारलाई परिचयपत्र वितरण, टेम्पोको भाडादर समायोजन गर्नुपर्ने लगायतका गुनासाहरु राखेका थिए । बाँदर आतङ्क नियन्त्रण गर्नुपर्ने, जग्गाको वर्गीकरण तथा रावणपार्कलाई आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्नेलगायत जिज्ञासा राखेका थिए ।

जिज्ञासाहरुको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, नापी कार्यालय प्रमुख तुलसीप्रसाद सुवेदी लगायतले जवाफ दिनु भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले नगरपालिकामार्फत रणनीतिक, दीगो र गौरवका योजनाहरुलाई अगाडि बढाएर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र वरिष्ठ प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

