म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई आन्तरिक स्रोतबाट १६ लाखभन्दा बढी छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसले विभिन्न संकाय र तहमा उत्कृष्ट हुने विद्यार्थीसहित छात्रवृत्तिको मापदण्ड पूरा गरेका विद्यार्थीलाई १६ लाख ११ हजार पाँच सय ५० रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो ।
बिहिबार क्याम्पसले स्नातक तह विविएस, विएड र विए तेस्रो र चौथो वर्ष तथा विआइसिटीइ तेस्रो, पाँचौं र छैठौं सेमेस्टर र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई पाँच लाख चार हजार छ सय पचास रुपैयाँ वितरण गरेको हो । त्यसैगरी क्याम्पसको सहजीकरणबाट शैक्षिक सत्र २०८१/०८२ मा स्नातक तह प्रथम वर्षमा २६ जना, दोस्रो वर्षका चार जना र स्नातकोत्तर तर्फ दुई जना गरी कुल ३२ जना विद्यार्थीलाई पाँच लाख ७० हजार विश्वविद्यालय अनुदान आयोगको सहयोग छात्रवृत्ति वितरण गरिएको म्याग्दी क्याम्पसका सूचना अधिकारी नारायणप्रसाद सुबेदीले बताउनुभयो ।
उहाँका अनुसार क्याम्पसद्वारा सञ्चालन गरिने प्रत्येक आन्तरिक परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप नगद एक हजार पाँच सय, एक हजार र पाँच सय रुपैयाँ प्रदान गर्ने गरिएको छ ।
क्याम्पस प्रमुख श्रीधर सुबेदीले बार्षिक आन्तरिक तथा विभिन्न दाताको सहयोगबाट २१ लाख ८१ हजार पाँच सय ५० रुपैयाँ छात्रवृत्ति वितरण गरी विद्यार्थीलाई शैक्षिक राहत प्रदान गरिएको बताउनुभयो । ‘क्याम्पस भित्र सुविधा छ, छात्रवृत्ति पहुँच नभई उत्कृष्ट नतिजाको आधारमा प्रदान गरिन्छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । दुर्गम भेगबाट क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई अधिकतम चार हजारमा वस्न र खाना सहितको छात्रावास सुविधा समेत उपलव्ध रहेको बताउनुभयो ।
सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रेम वहादुर कार्की लगायतले छात्रवृत्ति पाउनु विद्यार्थीको अधिकार भएको बताउँदै विद्यार्थीहरुमा अनुशासनको महत्व प्रष्ट पार्दै ज्ञान सीपको विकास हुनुपर्ने धारणा राख्नुभएको थियो ।
यसै अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा गुरुसम्मान कार्यक्रम पनि आयोजना गरेको थियो । स्वतन्त्र विद्यार्थी युनियनका सभापति संगम चोखाल, सचिव मञ्जुर कटुवाल, कोषाध्यक्ष अस्मिता भण्डारीले गुरुहरुको सम्मान गर्नुभएको थियो ।आदर्शसन्चारबाट
