कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको अगुवाइमा आगामी असोज २१ देखि कार्तिक १९ गतेसम्म स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका- १ र पाल्पा जिल्लाको रम्भा गाउँपालिका- १ असर्दीका बिचमा उत्तरगण्डकी महामेला (दामोदर महोत्सव) कार्यक्रमको तयारी भएको छ । काली तटको सेन्दुम्की भोबरबाट छर्तीघाटसम्म साढे ३ किलोमिटरमा कालीगण्डकी उत्तरबाहिनी भएर बगेका कारण यसको विशेष महत्व रहेको बताइन्छ । प्रा.डा. जगन्नाथ रेग्मीका अनुसार सबैभन्दा लामो क्षेत्रमा बग्ने उत्तरबाहिनी नदी यही ठाउँमा पर्छ ।
हाल उक्त ठाउँमा नेपालको एकमात्र आधुनिक गुरुकुल, योग तथा प्राकृतिक अस्पताल, रेडियो जनकल्याण (१०६.६ मेगाहर्ज) सञ्चालनमा आउनुका साथै विभिन्न अवसरमा महोत्सवहरूको आयोजना गर्ने प्रचलन रहेको प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण बताउनुहुन्छ । उत्तरबाहिनी क्षेत्रको महिमालाई विश्वव्यापी गराउने र नेपालमा धार्मिक पर्यटक आउने वातावरण बनाउन यो महोत्सव प्रेरक रहने विश्वास चैतन्यकृष्णको छ । उहाँका अनुसार मिनि मुक्तिनाथ अन्तिम चरणमा पुगेको छ । यो बनेपछि वर्षामा पनि सफा र पिउनयोग्य पानीका १०८ धाराबाटै स्नान गर्न सकिनेछ । यस ठाउँमा जानेहरू प्राकृतिक रूपले नै ॐ लेखिएको अद्भूत शिलाको दर्शन गर्न पाउँछन् ।
केही वर्ष अघिसम्म मध्यरातको समयमा शंखको ध्वनि आउने पिपलको बोट पनि यसै ठाउँमा रहेको छ । डा.रेग्मी स्कन्दपुराणमा उल्लेखित प्रसंग कोट्याउँदै ‘तीर्थराज प्रयाग, कुरुक्षेत्र, नैमिषारण्यमा सय पटक स्नान गर्दाको फल र कृष्णगण्डकीमा एकै पटक गरिएको स्नानको फल बराबर हुने र कृष्णगण्डकीमा आएर पितृश्राद्ध गर्दा सबै पितृहरूको उद्धार हुने बताउँछन् । यसको कारण गयामा गरिने श्राद्धका अपेक्षा गण्डकीमा गरिएको श्राद्धको सय गुणा बढी फल मिल्न रेग्मीको भनाइ छ ।
हुन पनि आमनेपाली पितृ श्राद्ध गर्न भारतको विहारस्थित पितृतीर्थ गयामा गएर पितृ मुक्तिका लागि श्राद्ध तर्पण गर्ने परम्परा छ । जबकि उत्तरगया गोकर्ण वा गण्डकीको उत्तरबाहिनीमा आएर गरिने पुण्यकर्मको फल गयाको भन्दा बढी हुन्छ भन्ने पौराणिक मान्यता भेटिन्छ । इतिहासकार तथा धार्मिक गुरुहरू प्रयागराज जस्तै वा सोभन्दा वढी महत्वका तीर्थस्थलहरू यहाँ रहे पनि त्यस्ता तीर्थलाई महत्व दिइएको छैन ।
आमनेपाली पितृ श्राद्ध गर्न भारतको विहारस्थित पितृतीर्थ गयामा गएर पितृ मुक्तिका लागि श्राद्ध तर्पण गर्ने परम्परा छ । जबकि उत्तरगया गोकर्ण वा गण्डकीको उत्तरबाहिनीमा आएर गरिने पुण्यकर्मको फल गयाको भन्दा बढी हुन्छ भन्ने पौराणिक मान्यता भेटिन्छ ।
प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णका अनुसार महामेलामा भारतबाट जगत्गुरु शंकराचार्यजीहरू आउँदै हुनुहुन्छ । गण्डकी महास्नानको परम्परालाई कायम गर्न र यसलाई विश्वव्यापी प्रचार गरी सम्पूर्ण हिन्दूहरूको लागि मोक्ष प्राप्तिको माध्यम बनाउन यो पटक ठूलो संख्यामा धार्मिक तीर्थालुहरू आउने वातावरण बन्दै गएको छ । ‘चिन्ता आउनेको भन्दा पनि आउनेलाई व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भन्ने छ’, चैतन्यकृष्णको चिन्ता छ । करिब तीन महिनाअघि भारतमा भएको महाकुम्भ मेलाले विश्वकै ध्यान खिचे पनि नेपालले आफ्नो सामर्थ्य चिन्न नसकेर धेरै कुरा गुमाउँदै गएको माधार्मिक अभियान्ताहरू चिन्तित छन् ।
भारतको प्रयागराजमा सम्पन्न महाकुम्भ मेला विश्वकै लागि एक अद्भूत धार्मिक मेला थियो । सो मेलाले ६ लाखभन्दा बढी अस्थायी रोजगारी सिर्जना गर्दा २-३ लाख करोड आर्थिक गतिविधि भयो । जसले उत्तर प्रदेशको जीएसडीपीमा १ प्रतिशतले प्रभाव पार्यो । हुन पनि भारत सरकारले यसलाई यति महत्व दिएको थियो कि ७० अर्ब भारतीय रूपैयाँ खर्च गर्ने घोषणा गर्दै मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रूपैयाँ जति राजस्व सङ्कलन गर्ने अनुमान गरिएको थियो ।
सन् २०२५ को जनवरी १३ देखि फेब्रुअरी २६ अर्थात् ४५ दिनसम्म भएको सो मेलामा ४० करोड मानिसको आगमन हुने भनिए पनि ६६ करोड २१ लाखभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेर आफ्नो आस्था र भक्तिको प्रदर्शन गरेका थिए । यसलाई संसारकै ठूलो मानव जमघट भनेर नासाले प्रमाणित गर्यो र युनेस्कोले विश्व सम्पदामा सूचीकृत गर्यो । औसतमा दैनिक डेढ करोड मानिसको आगमन हुनु चानचुने कुरा थिएन । नेपालमा हुने यो महोत्सवलाई पनि लुम्बिनी र गण्डकी प्रदेश सरकारले आवश्यक महत्व दिए पनि स्रोत व्यवस्थापनका दृष्टिले कमजोर अवस्था देखिन्छ ।
उत्तरबाहिनी क्षेत्रको महत्व
गण्डकी महात्म्यमा भनिएको छ- तीर्थहरूमा मुक्ति क्षेत्र, पर्वतहरूमा हिमालय र नदीहरूमा गण्डकीलाई उत्तम मानिएको छ । कालीगण्डकीमा पनि उत्तरबाहिनी भएर बग्ने ठाउँलाई अत्त्युत्तम मानिन्छ । उत्तरबाट आएर फेरि उत्तर बग्नुलाई दुर्लभ मानिन्छ । धार्मिक दृष्टिले उत्तर दिशा शुभकारक मानिन्छ । पूजा, अनुष्ठान गर्दा पूर्व वा उत्तर भएर गरिनु यही विश्वासमा रहेर हो । प्रायः देवताहरू उत्तरमै रहने र सिद्धमुनिहरूको साधना भूमि पनि उत्तर नै रहनुलाई पनि यसै आधारमा हेर्नेे गरिन्छ । उत्तरतर्फ आध्यात्मिक ऊर्जा हुने भएकाले पनि साधना र विभिन्न संस्कारहरू उत्तर फर्केरै गर्ने चलन रहेको हो ।
करिब तीन महिनाअघि भारतमा भएको महाकुम्भ मेलाले विश्वकै ध्यान खिचे पनि नेपालले आफ्नो सामर्थ्य चिन्न नसकेर धेरै कुरा गुमाउँदै गएको माधार्मिक अभियान्ताहरू चिन्तित छन् ।
कालीगण्डकी र उत्तरबाहिनी क्षेत्र नामक कार्यपत्रमा प्रा.डा.रेग्मी लेख्छन्- गया होस्, उत्तरगया होस् अथवा उत्तरबाहिनी यस्ता ठाउँमा गएर गरिने स्नान, दान आदिकर्मको अक्षयफल मिल्छ भन्ने पौराणिक अभिमत र गहिरो धार्मिक विश्वास चलिआएको छ । उत्तरबाहिनी क्षेत्र यही परम्पराको उत्तम तीर्थ हो । नेपालमा यस्ता प्रसिद्ध तीर्थहरू हुँदाहुँदै नेपालीहरू उही उद्देश्यका निम्ति देश बाहिर जानु अज्ञान हो अथवा यस्ता तीर्थहरूको प्रचारप्रसारको अभाव हो ।
कालीगण्डकी शालग्रामको स्रोत
शालग्राम विश्वकै दुर्लभ र नेपालको कालीगण्डकीमा मात्र पाइन्छ । भारतीयहरू यसलाई अत्यन्तै पवित्र मान्छन् । शालग्राम एक प्रकारको शिला र भगवान विष्णुको प्रतीक अर्थात् स्वयं भगवान विष्णुको वासस्थान हो । गरुड पुराण, स्कन्द पुराण, पद्म पुराण आदिमा शालग्रामको महिमा वर्णन गरेको पाइन्छ । प्रायः हिन्दूहरू शालग्रामलाई घरमा राखेर पूजा गर्छन् । भारतको राम मन्दिर, अयोध्यालगायत केही प्रमुख मन्दिरहरूमा शालग्राम शिला प्रतिस्थापन गरिएका छन् । परम्परागत रूपमा शालग्राम शिला भारतमा लैजाँदा अनुमति लिएर लैजाने गर्थे ।
यी शिलाको अनुमानित आयु ६०-१४० मिलियन वर्ष अर्थात् करिब ६ करोड वर्ष भएको मानिन्छ । शालग्रामहरू गोलाकार जीवाश्मित अमोनाइट (fossilized ammonites) हुन्, जसलाई विष्णुको प्रतीक र उत्तर-पूर्व-प्राचीनकालका समुद्री जीवहरूको निशानी मानिन्छ । शालग्राममा अमोनाइट फोसिल हुनुको अर्थ क्याल्सियम, फस्फोरस र अन्य कैयौं खनिज तथा मिनरल्स पाइने भएकाले शालग्रामलाई पानीमा डुबाएर सो पानी खाने हो भने धेरैखाले रोगको उपचार हुनसक्ने अड्कल आधुनिक विज्ञानले समेत गरेको पाइन्छ । यो रहस्यबारे अस्ट्रेलियामा प्राध्यापनरत अनुसन्धानकर्ता दयाराम सिम्खडाले गत वर्षमात्र यो पंक्तिकारसँग आफ्नो धारणा सार्वजनिक गरेका थिए । उनले नेपालको पानीलाई यस तरिकाले ब्रान्डिङ गर्ने हो भने धेरै मुलुकमा पानी बेचेर नेपालले राम्रो आम्दानी गर्नसक्छ ।
साधना भूमि उत्तरबाहिनी
गण्डकी क्षेत्र वैदिककालदेखि नै साधना भूमि मानिन्छ । सन्त, महात्मा, विद्वान, विदुषी, योगी, साधक, सिद्धहरू यहाँ रहेको पाइन्छ । मृकण्डुका पुत्रमार्कण्डेय ऋषिले तपस्या र साधनाद्वारा मृत्युलाई पनि जितेका थिए । जो शिवभक्तका रूपमा प्रसिद्ध छन् । डा. रेग्मीका अनुसार भगवान विष्णुले मुक्ति क्षेत्रको मुक्ति पर्वतमा, अत्रि ऋषिले सोमकूट पर्वतमा, कुमारले हंस तीर्थ कागबेनीमा, ऋषभदेव, राजर्षि भरत, जडभरत अनि पुलस्त्य र पुलह ऋषिले म्याग्दीको पुलहाश्रममा, पूर्वमीमांसाका प्रणेता जैमिनी ऋषिले बाग्लुङको जैमिनीघाटमा, एकादश रुद्रले रुद्रावती र कालीको दोभान रुद्रवेणीमा, भृगु ऋषिले भृगुतुङ पर्वतमा, रुरु कन्याले रुरु क्षेत्रमा, मार्कण्डेय ऋषिले महालिङ्गधाम मालुङ्गामा, वशिष्ठ ऋषिले पाल्पाको रामपुरमा, संस्कृत साहित्यका आदिकवि बाल्मीकिले त्रिवेणी क्षेत्रमा अध्यात्म साधना गरेर लोकमा ज्ञानको उज्यालो आलोक छरेको पाइन्छ ।
कालीगण्डकीमा पनि उत्तरबाहिनी भएर बग्ने ठाउँलाई अत्त्युत्तम मानिन्छ । उत्तरबाट आएर फेरि उत्तर बग्नुलाई दुर्लभ मानिन्छ । धार्मिक दृष्टिले उत्तर दिशा शुभकारक मानिन्छ । पूजा, अनुष्ठान गर्दा पूर्व वा उत्तर भएर गरिनु यही विश्वासमा रहेर हो ।
भगवान राम यसै ठाउँमा सात दिन बस्नुभएको पौराणिक कथाहरूमा उल्लेख छ । यही कालीगण्डकी क्षेत्रमा कैयौं पौराणिक मान्यता र सांस्कृतिक गौरव बोकेका त्यस्ता तीर्थहरू छन् । रामदीघाट, दरपुङघाट, मनराङघाट, डोलातुङघाट, कोलबगरघाट, रानीघाट, छेलुङ्गाट, घोरपुछारघाट र रुरु क्षेत्र ऋषिकेशधाम मुख्य तीर्थस्थल हुन् भने उत्तरबाहिनी मालुङ्गाधामदेखि दक्षिण पूर्वतिर जिम्माघाट, हुँगीघाट, गेजाघाट, हेमलाङ्धाट, नीलघाट, खोरियाघाट, तिलपुरघाट, गौरीघाट, रामघाट, केलादीघाट, अत्रौलीघाट आदि पनि महत्वपूर्ण स्थान् हुन्, जसलाई पर्यटनका हिसाबले अघि बढाउन सकिन्छ ।
तयारीको समय घर्कदै
वर्षाको अन्त्यपछि तुरुन्तै यो मेला शुरु हुने भएकाले तयारीको समय भने घर्कदै गएको छ । हामीले भारतको मेलामा सुरक्षा, आवास, शौचालय, सडक, स्नान गर्ने ठाउँसमेत धेरै कुरालाई हेर्दा पनि राम्रो व्यवस्थापन गरिएको थियो । नेपालको अहिलेसम्मको तयारी हेर्दा सरकारले पूर्ण रूपले सहयोग नगर्ने हो भने तमासा देखिने अवस्था पनि छ । धार्मिक क्षेत्रको प्रचार गरी ब्रान्डिङ हुने कुराले दीर्घकालीन रूपले अत्यन्तै महत्वको रहेको देखिन्छ । आयोजकहरूले आशा गरेअनुरूप भारतीयहरूमात्र आए भने पनि उनीहरूलाई सुरक्षित तवरले फिर्ता गर्नु चानेचुने विषय हैन ।
यसबाहेक सडकको अवस्था पनि वर्षाका कारण जीर्ण हुने देखिन्छ । जसको व्यवस्थापन साधु, सन्त, धार्मिक संस्था र तीनै तहका सरकार सबैले गर्नु जरुरी छ । यसलाई राष्ट्रिय पर्वकै रूपमा लैजान सक्दामात्रै आगामी वर्षदेखि स्वःस्फूर्त रूपले मेला चल्नसक्छ ।
