नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै नेताहरूले राजीनामा माग गरिरहेका बेला सचिव महेश बस्नेतले त्यसको प्रतिवाद गरेका छन् ।

यसअघि शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए । शनिबारको बैठकमा पनि केही नेताहरूले ओलीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेतृत्व छाड्न दबाब दिइरहेका छन् ।
यसैबीच, बैठकमा आफ्नो धारणा राख्दै सचिव बस्नेतले पार्टी संकटमा रहेको बेला नेतृत्वको रक्षा गर्नु सबैको कर्तव्य भएको जिकिर गरे । ‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ, यसको संरक्षण गर्नुपर्छ,’ बस्नेतले बैठकमा भने ।
शुक्रबारको बैठकमा आफूविरुद्ध नेताहरू उभिएपछि अध्यक्ष ओलीले पार्टीको नीतिविपरीत जाने छुट कसैलाई नभएको र अराजकता प्रदर्शन नगर्न नेताहरूलाई सचेत गराएका थिए ।
शनिबारको बैठकमा पनि ओलीले बीच–बीचमा हस्तक्षेप गर्दै धारणा राखिरहेको एक नेताले जानकारी दिए । उनका अनुसार ओलीले बैठकमा आफूलाई नसम्झाउन र गलाएर नेतृत्व नछाड्ने अडानसमेत लिएका छन् ।
