अमृत बास्कुने
पृष्ठभूमि
बेनी नगरपालिकाको विपद्को अवस्था समग्रमा हेर्दा जोखिमपूर्ण होइन भनेर भन्न सक्ने अवस्था छैन । नगरपालिका भित्रका सबै जासो वडाहरु बिपद्को जोखिम देखिने भए पनि बढी मात्रामा वडा नम्बर २, ३, ४, ५, ६, ९ र १० मा बढी जोखिम मान्ने गरिन्छ । नगरपालिका भित्रका सबै वडाहरुमा यसको अवस्था सन्तोष मान्ने अवस्था पक्कै पनि छैन । विश्वकै अवस्था हेर्ने हो भने नेपाल विपद्को जोखिमको सूचिमा पर्ने र म्याग्दी जिल्ला तथा बेनी नगरपालिका पनि यसबाट अछुतो हुने कुरै भएन । बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत बिपद्मा बढी पर्ने देखिन्छ । विगतको तथ्यहरुलाई नियाल्दा पनि यही अवस्थालाई नै पुष्टि गर्ने आधारहरु भेटिन्छन् ।
नेपाल विश्वमा भुकम्पीय जोखिमको हिसावले ११ औं, बाढी पहिरोको हिसावले २० औं, जलवायु परिवर्तनका दृष्टिले चौथौं स्थानमा पर्ने मुलुक हो । यसको साथसाथै नेपाल विश्वमा २० औं विपद् संकटासन्न राष्ट्र भित्र पर्दछ । मुलुक भित्र हुने सडक दुर्घटना भन्दा बाहेक मात्रै पनि विभिन्न प्रकारका विपद्का कारण वर्षमा नौ सय जना भन्दा बढी व्यक्तिहरुको अनाहकमा मृत्यु हुने गरेको तथ्यहरुले देखाउने गरेको छ ।
बेनी नगरपालिका क्षेत्र पनि दुई ठूला नदीहरु म्याग्दी र कालीगण्डकीको संगम स्थलमै पर्ने हुँदा यी नदिहरुको जोखिम पनि उच्च रहन्छ । पश्चिमबाट बग्दै आउने म्याग्दी र उत्तरी भेक हुँदै आउने कालीगण्डकीले गर्ने कटानको जोखीम पनि ब्याप्त नै छ । बेनी गलेश्वर सडक खण्डमा हुने पटकपटको कटान र अवरोध तथा बेनी दरवाङ सडक खण्ड अन्तरगत बेनी नगरपालिका ४ फापरखेतको पहिरो पनि बिपद्मा सबै भन्दा धेरै सताउने स्थान हुन् । फापरखेतको पहिरोले बेनी नगरपालिकालाई प्रत्यक्ष प्रभाप नपार्ला तथा सिधा यातायात सञ्चालन हुन नसक्दा हुने समस्याको साँक्षी भने बेनी बन्नु पर्ने नै हुन्छ ।
तथ्याङ अनुसारको अवस्था
वार्षिक विपद्को तथ्य र यथार्थ चित्रण गर्ने हो भने पनि बेनी नगरपालिकामा वार्षिक रुपमा धेरै घटनाहरु हुने गरेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा कुल ६६ वटा विपद्का घटना बेनी नगरपालिका भित्र भएको थियो । उक्त घटनाबाट तीन जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका थिए । पशुचौपाया १ मृत्यु चार घाइते भएका थिए भने ९ वटा घर पूर्ण क्षती, १९ घर आंशिक क्षती, ९ घर उच्च जोखिम र एउटा सामान्य जोखिममा परेको तथ्यहरुले देखाउँछ । त्यस्तै ५ गोठ पूर्ण क्षती र २ आंशिक क्षती भएको थियो । सरकारी संरचना एउटा आंशिक क्षति हुँदा अन्य संरचना ८ पूर्ण र ८ आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । वर्षा, पहिरो, बाढी, आगालागि, भुकम्प, चट्याङ तथा सर्पदंश जस्ता मुख्य घटनाले भौतिक तथा मानविय क्षति समेत पुगेको अवस्था छ ।
आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न ३४ वटा बिपद्का घटनाहरु बेनी नगरपालिका भित्र भएका थिए । उक्त घटनाहरुमा ३ जना घाइते भएका थिए । त्यसतै एक घर पूर्ण, ५ घर आंशिक क्षति भएको थियो भने ६ घर र ४ गोठ पूर्ण क्षति भएको थियो । सरकारी संरचना दुई वटा जाखिममा पर्दा अन्य संरचना ४ पूर्ण क्षति र ६ आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दी जिल्ला भित्र कुल ३६ वटा सर्पदंसका घटनाहुँदा बेनी नगरपालिका भित्र मात्रै १४ वटा घाटना देखिएको । यसले सर्पको टोकाइका बिरामीहरु पनि बेनी नगरपालिका भित्र अधिक भएको देखिाउँछ । जिल्लामा भएका सर्पको टोकाइका कुल घटना मध्ये बेनी नगरपालिका भित्र मात्रै ३८ प्रतिशत देखिन्छ ।
चालु आर्थिक वर्षको चैत मसान्त सम्म मात्रै सामान्य भौतिक क्षतिको अवस्था हेर्दा बेनी नगरपालिका भित्र ८० लाख भन्दा बढी मूल्य पर्ने संरचना नष्ट भएका छन् । चालु आर्थिक वर्षमा पसुचौपाया ३ मृत्यु १२ बेपत्ता भएका छन् । त्यस्तै ३ घर १ गोठ पूर्ण क्षति, १३ घर आंशिक क्षति हुनुका साथै २ उच्च जोखिम र ६ जोखिममा परेका छन् । अन्य संरचना ८ वटा आंशिक क्षति भएको छ । पुल फर्निचर लगायतका अन्य संरचनाको तथ्यांक पनि धेरै नै देखिएको भए पनि यसलाई कम गर्ने तर्फ ध्यान पुग्न भने जरुरी देखिन्छ ।
आर्थिक वर्ष २०७९/०८०को तथ्याङ्क मात्रै हेर्ने हो भने बेनी नगरपालिका भित्र ३ जनाको मृत्यु, ३ जना घाइते, एक पशु चौपाया मृत्यु, ४ घाइते, घर पूर्ण क्षती ९, आंशिक क्षती १९, उच्च जोखिम ९, जोखिम १, गोठ ५ पूर्ण क्षती, आंशिक क्षती २, सरकारी भवन १ आंशिक क्षति, फर्निचर तथा पुल क्षती ८ पूर्ण ८ आंशिक क्षति भएको देखिन्छ । सोही आर्थिक वर्षमा म्याग्दी जिल्लाभरमा १४ जना मानिसको मृत्यु, घाइते १७ जना, पशुचौपाया मृत्यु ७९, घाइते १७, घर २९ पूर्ण क्षती, २० आंशिक क्षती ९ उच्च जोखिम २ जोखिम, गोठ पूर्ण क्षती ११, आंशिक क्षती २, विद्यालय पूर्ण क्षती १, आंशिक क्षती १, अन्य क्षतीमा पूर्ण २४, आंशिक १० देखिएको छ । जोखिम तथा क्षतिको अवस्था हेर्दा बेनी नगरपालिकामा धेरै भएको देखिन्छ । उक्त वर्ष बेनी नगरपालिका–२ का गणेश घिमिरेका १३ वर्षिय छोरा रोशन घिमिरेको २०८० असार ८ गते तरकारी खेतीका लागि बनाएको पोखरीमा डुबेर मृत्यु भएको थियो । त्यस्तै बेनी नगरपालिका–७ मंगलाघाटका ६ वर्षिय यसन पुर्जा २०७९ असोज १० गते म्याग्दी नदिले बगाउँदा मृत्यु भएको थियो । त्यसैगरी २०७९ मंसिर २१ गते अन्नपुर्ण गाउँपालिका–६ घारका कृष्ण बरुवाल बेनी नगरपालिका ८ क्याम्पसचोक स्थीत भवन निर्माणका लागि घडेरी खन्ने क्रममा खसेको सुख्खा पहिरोमा पुरीदा मृत्यु भएको थियो ।
२०८०/०८१ को तथ्याङ्क हेर्दा पनि अवस्था विपद्मा उस्तै देखिएको मान्न सकिन्छ । समग्र जिल्लाको अवस्था हेर्दा पहिरोमा परेर ४ जनको मृत्यु, आगालागिमा १, करेन्ट लागेर ३ र अन्य कारणले ४ जनाको मृत्यु भएको थियो । त्यस्तै पहिरोमापरी ४, आगालागीमा परेर २, चट्याङमा परेर ४, करेन्ट लागेर ४, अन्य कारणले १२ जना घाइते भएका थिए । पहिरोमा परेर पशुचौपाया १८, आगलागीमा १९, चट्याङ्मा ३, अन्य कारणले एउटाको मृत्यु भएको थियो भने आगालागिमा परेर ६ र अन्य कारणले १ गरी ७ घाइते भएका थिए । गत आर्थिक वर्षमा पहिरोबाट ९, आगालागिबाट १४, हावाहुरीबा १ र अन्य कारणले ७ गरी ३१ घर पूर्ण क्षती भएका थिए । त्यस्तै १६ आंशिक क्षती हुनुका साथै १६ उच्च जोखिम र २५ घर जोखिममा परेका थिए । यो वर्ष १९ वटा गोठ पूर्ण रुपमा क्षती भएको थियो । सरकारी विद्यालय तथा भवन एकएक वटा पूर्ण र आंशिक क्षती भएकोमा जिल्ला प्रहरीको तथ्याङ्क अनुसार दुई करोड ७० लाख ६३ हजार ८ सय रुपैंयाँ मुल्य बराबरको क्षती विपद्बाट भएको थियो ।
गत आर्थिक वर्षमा बेनी नगरपालिकामा ३ जना घाइते, एक घर पूर्ण क्षती ५ आंशिक, ६ उच्च जोखिममा परेका थिए भने ४ वटा गोठ पूर्ण क्षती भएको थियो । सरकारी भवन तथा विद्यालय २ वटा जोखिममा परेका थिए । अन्य संरचना ४ वटा पूर्ण क्षती र ६ वटा आंशिक क्षती भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्कले देखाउँछ ।
चालु आर्थिक वर्ष २०८१/०८२को चैत मसान्त सम्मको अवस्था हेर्दा बेनी नगरपालिकामा १ जना मानिस घाइते, ३ पशुचौपायाको मृत्यु, १२ बेपत्ता, घर ३ पूर्ण, १३ आंशिक क्षती भएका छन् । त्यस्तै २ उच्च जोखिम र ६ वटा जोखिममा परेका देखिन्छ । त्यसैगरी अन्य संरचना ८ वटा आंशिक क्षती हुँदा बेनी नगरपालिका क्षेत्र भित्र कुल क्षती ८० लाख रुपैयाँ मुल्य बराबरको पुगेको छ । त्यस्तै ३ जनाको मृत्यु, ४ जना घाइते, ७११ पशुचौपाया मृत्यु हुँदा ३ घाइते र १२ बेपत्ता भएका छन् । १० घर पूर्ण क्षती हुदा १७ घर आंशिक क्षती, ३ घर उच्च जोखि र १४ घर जोखिममा परेका थिए । त्यस्तै ४ गोठ पूर्ण क्षती, २ आंशिक क्षती भएका छन् । अन्य संरचनाहरु १ पूर्ण क्षती र १२ आंशिक क्षती हुँदा एक करोड १० लाख ७५ हजार मूल्य बराबर क्षती भएको प्रहरीको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको चैत मसान्त सम्म मात्रै पनि ३४ वटा घटनाहरु नगरपालिका भित्र भएको देखिन्छ ।
नेपालमा बाढी, पहिरो र अन्य विपद् प्रकोपहरू बारम्बार हुने गरेकोले दीर्घकालीन र दिगो समाधानका लागि परम्परागत ज्ञान र प्रकृति–आधारित उपायहरू अवलम्बन गर्न आवश्यक छ । विपद् जोखिम न्यूनीकरणमा केवल भौतिक संरचनामा मात्र होइन, प्रकृतिसँगको सन्तुलन कायम राख्ने र पञ्चतत्वीय दर्शनलाई समावेश गर्नुपर्छ । सरकार र समुदायले परम्परागत अभ्यास, वैज्ञानिक विधि र प्राकृतिक सन्तुलनलाई समन्वय गरी दीर्घकालीन र समावेशी विपद् व्यवस्थापन रणनीति अपनाउनु आवश्यक छ । वैदिक दर्शन अनुसार सृष्टिको मूल आधार पाँच तत्वहरू पृथ्वी, जल, अग्नि, वायु र आकाश हुन् र समस्त प्रकृति र मानव शरीर यी पाँच तत्वहरूबाट बनेको मानिन्छ । जब यी तत्वहरू सन्तुलनमा रहन्छन्, तब जीवन र वातावरण स्थिर र समुन्नत हुन्छ । यदि, यी तत्वहरूमा असन्तुलन भए विभिन्न विपद्को कारण बन्दछ ।
जल तत्वबाट बाढी पहिरो, वायुबाट हावाहुरी, अग्नी तत्वबाट वन डडेलो, आगलागी, ग्यास, विद्युत सर्ट भएर हुने अगालागी, पृथ्वी तत्वबाट भुकम्प जन्य हलचल तथा ज्वालामुखी पर्ने गर्दछन् । हाम्रो यस क्षेत्रमा ज्वालामुखी नहुने भए पनि भुकम्पिय जोखिम भने छदै छ । नेपालमा चट्याङका घटनाहरू चिन्ताजनक रूपमा वृद्धि भइरहेका छन् । ९ वैशाख २०७९ देखि २०८० चैत ३० सम्मको अवधि मात्रै नेपालभरको अवस्था हेर्दा दुई सय ९० वटा चट्याङका घटनाहरूबाट ८४ जनाको मृत्यु र दुई सय ३८ जना घाइते भएको सरकारी तथ्याङ्कमा पाइन्छ । आकाश तत्व÷मौसमको असन्तुलनले अधिक जाडो र गर्मीका घटनाहरू बढिरहेका छन् । सरकारी तथ्याङ्क अनुसार, विगत १० वर्षमा नेपालमा मौसमी विपद्का कारण ३ हजार ५२ जनाको मृत्यु भएको छ, ७ सय ९१ जना बेपत्ता र ४ हजार १ सय ७६ जना घाइते भएका छन् । बाढी, पहिरो, चट्याङ, भारी वर्षा, आगलागी, शीतलहर, हिमपहिरो, महामारी र डढेलो जस्ता विविध विपद्का ८ हजार ४ सय ४१ घटना रिपोर्ट भएका छन्, जसबाट ८५ हजार ६ सय ४६ परिवार प्रभावित भएका छन् ।
आगलागी मात्रै समग्र देशभरको अवस्था हेर्ने हो भने २०७० देखि २०७९ सम्म १८ हजार ७ सय ९१ घटनाहरू भएको सरकारी रेकर्डले देखाउँछ । उक्त घटनाहरुमा सात सय ६९ जनाको मृत्यु, २ हजार ५ सय ६८ जना घाइते र २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी तथ्याङ्कहरुले देखाउँछ । यी सबै घटनाको मूलमा कतै न कतै पञ्चतत्वको असन्तुलन देख्न सकिन्छ ।
पञ्चतत्व मध्येको पृथ्वी तत्वको असन्तुलनले भूकम्प र पहिरो जस्ता भौगर्भिक र भौगोलिक प्रकोप हुन्छन् । अनियन्त्रित भू–प्रयोग, डढेलो र अव्यवस्थित भू–उपयोगका कारण हरेक वर्ष पहिरो र भू–स्खलन जस्ता घटनाहरू बढिरहेका छन् । जल तत्वको सन्तुलन बिग्रिंदा बाढी तथा त्यसकै कारणले पहिरो जस्ता विपद् हुन्छन् । अग्नि तत्व असन्तुलित हुँदा आगलागी र डढेलो जस्ता घटनाहरू भइरहेका छन् । वायु तत्व असन्तुलनले हावाहुरी, चट्याङ र वायु प्रदूषण बढिरहेको देखिन्छ । त्यस्तै पृथ्वी तत्वका कारण भूकम्पका घटनाहरु हुने गरेको मानिन्छ ।
सनातन कालदेखि नै मानव समुदायले प्रकृतिसँग सन्तुलन र सहअस्तित्वमा जीवनयापन गर्दै आएको तथ्यलाई बुझ्न र आत्मसात् गर्न आजको सन्दर्भमा झनै महत्वपूर्ण हँदै गएको मान्न सकिन्छ । केवल प्रविधिमा आधारित समाधानले मात्र दिगो विपद् व्यवस्थापन सम्भव नहुने हुँदा, सांस्कृतिक ज्ञान, पारम्परिक अभ्यास र स्थानीय सन्दर्भको समुचित समायोजनमा आधारित दृष्टिकोण समेत बनाउन आवश्यक छ ।
नेपालमा भूकम्प, पहिरो, बाढी, चट्याङ, हावाहुरी, महामारी तथा अन्य विपद्हरूबाट मानवीय लगायत ठूलो मात्रामा आर्थिक–सामाजिक क्षति भइराखेको छ । हरेक वर्ष जस्तो आउने आपद्–विपद्ले दीर्घकालीन सामाजिक र आर्थिक विकासमा गहिरो प्रभाव पारिरहेको कुरा सर्वविदितै छ । २०७२ सालको विनाशकारी भूकम्प नेपालको इतिहासमै सबैभन्दा बढी आर्थिक क्षति पु¥याउने विपद्हरूमध्ये एक हो ।
वर्तमान अवस्था
अहिले सम्मको अवस्था हेर्दा बिपद्को पूर्व तयारीको अवस्था सन्तोषजनक देखिएको छैन । बेनी नगरपालिकाका वडाहरुमा विपद् पूर्वतयारीका सामग्रीहरुको मौज्दात नहुँदा कुनै पनि स्थानमा बिपद्को घटना हुँदा स्थानीय सरकारको केन्द्रबाट सामग्री पुगेपछि मात्रै उद्धार तथा राहातका लागि खट्नु पर्ने अवस्था देखिएको छ । अधिकांश वडाहरुको आफ्नो संरचना हुँदै गर्दा पनि बिपद् पूर्व तयारीको अवस्था भने खास देखिदैन ।
बेनी नगरपालिका वडा नं. १ का अध्यक्ष टेकबहादुर थापाका अनुसार चालु आर्थिक वर्षमा विपद्का केही घटनाहरु भए पनि वडा कार्यालय सँग विपद्का लागि राहत तथा उद्धारका सामग्रीहरु छैनन् । २ नम्बर वडा अध्यक्ष यामबहादुर क्षत्री पनि विपद्का लागि आवश्यक सामग्री नभएकै धारणा राख्नु हुन्छ । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष पदम पुन आफ्नो वडाको भवन भए पनि विपद्कालागि आवश्यक सामग्री नभएको बताउनुभयो । वडा ४ का अध्यक्ष अणबहादुर खड्का, ५ का अध्यक्ष गोविन्द बानियाँ, ६ का अध्यक्ष कृष्पणसिंह बानियाँ, ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, ८ का उत्तम कुमार कर्माचार्य, ९ का चक्रबहादुर केसी तथा १० का मसबीर रोकाको पनि भनाइ उस्तै छ । वडा कार्यालयमा आफूहरु सँग विपद्का लागि पूर्वतयारीको सामग्रीहरु नहुदा त्रास हुने गरेको उहाँहरुको धारणा छ । स्थानीय तहका वडा कार्यालयहरु र त्यहाँ भएका भौतिक संरचनाहरु प्रयाप्त हुँदै गर्दा पनि बिपद्को तयारीका लागि पनि सामग्रीहरु वडामा प्रयाप्त नहुँदा जोखिम सँगै उद्धारकर्तालाईपनि त्रास हुने पक्का छ ।
तर प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माका अनुसार ग्राणि भेकमा भएको बिपद् पूर्वतयारी सामग्री नै फरक छन् । ग्रामिण भेकमा तारजाली, ग्याभिन, पाइपलाई मात्रै बिपद्का लागि आवश्यक सामग्रीका रुपमा बुझी दिदा फरक परेको हुन सक्ने धारणा राख्नु हुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा हरेक वडालाई चार लाखका दरले विपद सामग्री खरिदका लागि बजेट बिनियोजन भएको थियो । उक्त बजेटको सामग्री खरिद गरेर वडाले राख्ने हुँदा विपद् सामग्री पर्याप्त नहुने भन्ने सन्दर्भमा अलिक अन्यौल भएको मान्न सकिन्छ ।
सवल पक्षहरु ः
बेनी नगरपालिकाले विपद्का सन्दर्भमा चालेका कामहरुलाई नियाल्ने हो भने केही सवल पक्षहरु पनि रहेको देख्न पाइन्छ । राज्यको तर्फबाट हुने विपद्को राहतका लागि लाभग्राही पहिचान नगरपालिकाले गर्ने गरेको छ । अगालागी जस्ता विपद्मा अत्यावश्यक पर्ने दमकल पालीकाको आफ्नै हुनु एउटा सवल पक्ष हो । त्यस्तै विपद् व्यवस्थापनमा नै खटाउने गरी भर्ना गरीएका नगरप्रहरी पनि विपद्का लागि सवल पक्षहरु नै हुन् ।
सुधार तथा आवश्यकता ः–
बेनी नगरपालिका भित्र रहेको आवश्यता तथा सुधारका पक्षहरु पनि छन् । बेनी नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुनु विपद्मा उद्धारका लागि आवश्यक पर्ने महत्वपूर्ण सामग्रीको अभाव हो । त्यस्तै ६, ७ र ८ नम्बर वडामा स्वास्थ्यचौकी समेत छैन । साविकको अर्थुङ्गे गाविसमै अस्पताल हरेको कारणले गर्दा पहिला स्वास्थ्यचौकी नबनेको र पछि पनि त्यही नै हुन आएको देखिएतापनि तीन वटा वडामा स्वास्थ्यचौकी नै नहुनु दुःखद् पक्कै हो । हरेक वडामा आवश्यक पर्ने विपद् व्यवस्थापनका सामग्रीहरु नहुनु । चालु आर्थिक वर्षमा बिपद् शिर्षकमा बिनियोजित बजेटकै सन्दर्भमा पनि विपद् तयारीका सामग्री खरिद भए भएनन् भन्ने पनि पुनःपरीक्षण गरिनु पर्ने देखिन्छ । हरेक स्थानमा नकारात्मकबाटै शुरु हुन्छ भन्ने मान्यता हुदैन तर पनि कुन आवश्यकताका लागि तयार पारेको र छुट्टयाएको सामग्रीहरु आयो आएन भनेर थाहा पाउनु भने पक्कै पनि जरुरी हो ।
निश्कर्ष ः–
अहिलेको अवस्था हेर्दा वडा कार्यालयहरुमा विपद्को तयारीका लागि सामग्रीहरु प्रयाप्त हुन पर्ने र हालको अवस्थामा कुनै पनि प्रकारको विपद् भएको खण्डमा तत्काल उद्धारमा खट्न मुस्कील हुने देखिएको छ । विपद् कुनै पूर्व जानकारी सहित नहुने भएकाले त्यस्तो कुनै पनि अवस्था सृजना हुन सक्छ भन्ने तर्फ सचेत रहँदै तयारी अवस्थामा रहनु पर्ने हुन्छ । यसका लागि नगरपालिकाले हरेक वडा र आवश्यकता अनुसार वडा कार्यालय भन्दा अर्को सम्भावित विपद् स्थल पहिचान गरी त्यहाँ पनि विपद् पूर्वतयारीका सामग्रीहरु मौज्दात राख्नु पर्ने आवश्यकता टड्कारो देखिन्छ ।
समग्रतामा विविध पक्षमा उल्लेख गरेपछि हामी यी विषयहरुमा केन्द्रीत भएर अगाडी बढेको खण्डमा बिपद् ब्यवस्थापनमा अलिक सहज हुन सक्छ ।
विपद् व्यवस्थापनका लागि हरेक स्थान तथा हरेक निकायले आफूले तयारी गर्न आवश्यक रहन्छ । आफ्नो जिम्मेवारी हो वा होइन भन्नु भन्दा पनि हरेकका लागि बिपद् जोखिम हो र त्यसबाट बाहिर आउनका लागि प्रयास गरिनु नै पर्दछ ।
पूर्वतयारीः बेनी नगरपालिकाले विपद्को पूर्वतयारी गर्नका लागि शुरुमा जोखिमको मूल्यांकन र नक्साङ्कन गर्ने तर्फ ध्यान दिनु जरुरी छ । त्यस्तै जोखिमको बारेमा चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने तथा आपतकालीन योजना बनाउनुका साथै उद्धार सामग्री तयारी अवस्थामा राखिनु पर्छ । त्यसैगरी बिपद्को समयमा उद्धारका लागि जनशक्ति तालिम दिएर तयारी अवस्थामा पनि रहनु पर्छ । यसो गर्नाले संकटको समयमा हानि न्यूनीकरण गर्न सहयोग पु¥याउँछ ।
त्यैगरी कुन बिपद् कहाँ आउन सक्छ भनेर समुदायस्तरमा पहिचान गर्ने तथा विभिन्न लायन एजेन्सीहरुमा अर्थात् कम्तीमा पनि विद्यालय, अस्पताल, कार्यालयहरूमा नियमित रुपमा बिपद् अभ्यास गरिनु पनि पर्दछ । साथै आपतकालीन ‘गो–ब्याग’ तयार पारेर राख्न जरुरी छ । घर वा कार्यालयमा अति आवश्यक सामग्रीहरु जस्तै औषधि, टर्च, रेडियो, कागजात, केही नगद, पानी आदि सहितको झोला तयार पारेर राख्ने समेत गर्नु पर्दछ ।
पूर्वचेतावनी र जोखिम न्यूनीकरणः बिपद्को जोखिमबाट जोगिनका लागि जोखिम क्षेत्रहरूमा बसोबासलाई नियन्त्रण गरिनु पर्दछ । साथै भवन निर्माणमा भूकम्प प्रतिरोधी प्रविधि अपनाउने, पूर्वसूचना प्रणाली विकास गर्ने, बाढी नियन्त्रण बाँध, सुख्खा नियन्त्रण जस्ता उपायहरु पनि अपनाउन सकिन्छ । त्यसका साथै संरचनात्मक उपायहरूः भूकम्प प्रतिरोधी भवन निर्माण, बाढी नियन्त्रणका लागि ड्याम, तटबन्ध, जंगलको कटान रोक्ने र हरियाली प्रवद्र्धन जस्ता गतिबिधिले पनि बिपद् जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ । जोखिम न्यूनिकरणकै लागि गैर–संरचनात्मक उपायहरू पनि अपनाउन सकिन्छ । जस्तोकी चेतना अभिवृद्धि कार्यक्रम, विद्यालय पाठ्यक्रममा बिपद् सम्बन्धी शिक्षा, बीमा कार्यक्रमलाई पनि समवेस गर्न सकिन्छ । बिमा कार्यक्रममा कृषि बीमा, जीवन बीमालाई लिन सकिन्छ । किनभने यसले बिपद् पछिको अवस्थामा निकै महत्वपूर्ण भूमिका खेल्दछ ।
प्रतिक्रिया ः बिपद् पूर्वमात्रै नभएर बिपद् पश्चात पनि हामीले निकै महत्वपूर्ण तरीकाले भूमिका खेल्न सक्दछौं । यसका लागि प्रभावितलाई तत्काल राहत वितरण, उद्धार कार्य सञ्चालन, स्वास्थ्य सेवा, शुद्ध पानी, सरसफाइको व्यवस्था, सञ्चार र यातायात व्यवस्थाको पुनःस्थापना लगायतका पर्दछन् । बिपद् पछि खाजे र उद्धारमा सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकमार्फत उद्धारको प्रयोगले उचित तबरले छिट्टै गर्न सकिन् छ । त्यस्तै पीडितलाई खाना, लत्ताकपडा, औषधि लगायतका राहत वितरणका साथै घाइतेहरूलाई प्राथमिक उपचार र अस्पताल लैजानु जस्ता स्वास्थ्यका काम पनि गरिनु पर्ने हुन्छ । बालबालिका, महिला, जेष्ठ नागरिकको सुरक्षा तथा विशेष संरक्षण उपाय पनि बिपद् पछिको प्रतिक्रिया अन्तरगत पर्दछ । यसका लागि पनि स्थानीय तहले आफ्नो तरीकाले तयारी अवस्थामा राख्नु पर्दछ ।
बिपद् पछिको अवस्थामा पुनःस्थापना र पुनर्निर्माणका लागि पनि महत्वपूर्ण तबरले सोच बिचार गर्नु पर्दछ । त्यसका लागि घर, विद्यालय, अस्पताल आदि पुनर्निर्माण, जीविकोपार्जनमा सहयोग, मानसिक स्वास्थ्य सेवा प्रदान, समुदायलाई थप बलियो बनाउने जस्ता कार्यमा ध्यान दिनु पर्दछ । साथै बिचल्लीमा परेकालाई अस्थायी बास, मानसिक परामर्श, विद्यालय र कार्यालय खोल्ने पुनःस्थापना गर्ने एवम् क्षति भएको संरचनाको पुनर्निर्माण गरी सकभर पहिले भन्दा राम्रो र नत्र भने पनि पहिलेकै अवस्थामा निर्माण गर्ने कार्य पनि गर्नु पर्दछ । त्यसका साथसाथै पीडितका लाग िरोजगारीको व्यवस्था गर्ने वा जिविकोपार्जनका लागि सहयोगी भूमिका सबैले खेल्नु पर्दछ ।
नीति तथा कानूनी व्यवस्था ः नेपालमा बिपद् व्यवस्थापनका लागि सरकारले विभिन्न मितिमा नीति तथा कानुनहरू निर्माण गरेको छ र त्यही कानुनमा टेकेर पनि हामीले काम गर्न सक्दछौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार संचालन ऐन, २०७४ रहेको छ । त्यस्तै नेपालको संविधान अनुसार स्थानीय तहको अधिकारले पनि आफ्नो क्षेत्राधिकार भित्र कानुन बनाएरै वा संघिय कानुन बमोजिम काम गर्ने भनेर उल्लेख गरेको छ । त्यसैगरी हामीले योजनागत व्यवस्था अनुरुप पनि अगाडी बढ्न सकिन्छ । स्थानीय बिपद् व्यवस्थापन योजना तथा राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण रणनीति अनुरुप पनि बिपद्का विषयमा हामीले योजना बनाएर काम गर्नु पर्ने देखिन्छ ।
बिपद् भएको खण्डमा हामीले साझेदारी र समन्वय गरेर काम गर्नु पर्ने हुन्छ । त्यसका लागि बिपद् व्यवस्थापनमा विभिन्न पक्षको सहकार्य अत्यन्त महत्वपूर्ण हुन्छ । छिमेकी स्थानीय तह र समुदाय, सुरक्षा निकायहरू, रेडक्रस, एनजिओ तथा आइएनजीयो, सञ्चारमाध्यम एवम् निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहन सक्छ ।
