तीते करेली
कृष्णराज शर्मा
– बुढी…. ए बुढी ?
– (बुढाले फेरी के भाँउतो लिएर आए…) हजुर, के भन्नु भयो ?
– कता हो …बुढी ? ल यता आऊ त । आठ दश गिलास चीया बनाउ त । यहाँ पाहुना लिएर आएको छु । छिट्टो ल्याऊ त ।
– म यहाँ गोठ सफा गर्दैछु के । हात भरी गोबरै गोबर छ । ल आएँ । (मनमनै भनिन् (सफा गर्ने पानी पनि छैन । गत्त न पत्तका मान्छे लिएर आउँछन् बुढाले । जत्ति भनेपनि लाएन ।)
– हजूर आएँ आएँ । धारामा पानी आउन्न । हात सफागर्न पनि पाईन्न, धारामा पानी नआएर । आफ्नो गाउँको धारो कस्ले बनाउने हो ? थाहाछैन । पल्ला गाउँको धान्यचल भन्यो, हिंड्यो !
– ल, ल, फटाफट् चिया बनाउ त । तिम्रो धाराको कुरा पछि गरौंला । छिटो गरेर जानुछ । धान्यचलमा कत्ति काम छ । ऊ वहाँहरूलाई कत्ति हतारो छ । गाउँ घुम्नु छ ।
– (केक्का नै के के कमाएर ल्याएर थुपार्दिए झैं धाचा पार्छन् नाईं । ग्यास सिद्धिएको उहिल्यै हो । यस्तै हतारोमा चिया बनाउन हुन्छ भनेर एक सिलिण्डर ग्यास ल्यानुस् भनेको कहिल्यै आएन । अझ छिटो चिया चाहिएको भन्दै मनमनै रिसाईन् ।) हुन्छ छिट्टै ल्याउँछु । मकैका सुकेका डाँठ् छन् । तिनैले चिया पकाई हाल्छु नि ।
– ग्यास चुल्होमा पकाउन छिटो हुन्छ । कहाँ दाउरामा पकाउन लाएको ?
– ग्यासको डल्लो रित्तै छ । उहिल्यै सिद्धिएको हो । भो भो नआत्तिनुस् । डाँठ् पनि हुर्ररर बल्छ । ग्यासले जत्तिकै छिट्टो पाकि हाल्छ । ल्याई हाल्छु ।
– ग्यास कहिले सिद्धियो र ! मलाई भन्नु पर्दैन । मैले ल्याई हाल्थें नि । किन नभनेको बुढी ?
– कुरा मिलाउन त कस्ले भेट्छ र यि बुढालाई । अघिपछि घर वरीपरी दाउरा त्यसै खेर गए । आ भो ! ग्यास नबालम् बुढी भने । अरू आएभने यसो ग्यासमा पकाएर देखाम्ला,नत्र दाउरै बालम् है बुढी भने । अहिले यि ! यस्सो सुकिला मान्छे आए भने नेताले झैं कुरो मिलाउँछन् । कम्ताका छन् यि बुढा ! कहिले नेता बनेर पाहुना ल्याउँछन् । कहिले समाजसेवी भएर । कहिले बाबाजी बनेर पाहुना ल्याउँछन् । कति जानेका हुन् ढाँटी खान । छोरालाई सरकारी जागिर लाउन सक्दैनन् । दशथरी पार्टीमा लागेर बल्ल यौटा पार्टीले छोरालाई एनजीओमा जागीर लाईदिएछ । त्यही पार्टीले जता लतार्यो उतै लतारिन्छन् । छोराको बिहे गर्न खोज्दा सरकारी जागीर भएन भन्छन् । कत्ति बुद्धि नफिरेको हो यो बुढाको ?)
– मैले भन्छु भन्दा भन्दै बिर्सेकी रै’छु क्या ! हजुरको पनि समाजसेवा र राजनीतिमा लागेर फुर्सदै देखिन । भन्न पनि सकिन ।
– (बुढीको कुरा सुनेर पाहुनातिर फर्कँदै गफ लगाई हाले बुढाले ।) ल हेर्नुस न, गाउँमा जत्ता जे परेपनि मैलाई बोलाउँछन् । एकछिन फुर्सदै हुन्न । यौटा ग्यास लिन बजार जानपनि पाएको छैन । घरमा समय दिनै सकेको छैन । अब यि… ! यो धान्यचल नसकेसम्म एक मिनेट फुर्सद हुन्न ।
– (भित्र बुढी फत्फताउँदै चिया पकाउँदैछिन् । फतुरो बुढो ! हुँदा न खाँदाका मान्छेका पछि लाएर हिंड्छन् । उनीहरूले घरको पनि जोहो गर्छन् । आँफूले पनि टन्न खान्छन् । यि फतुरा बुढा, अरूले चपाएको हेरेर अघाउँछन् । अनि यहाँ म सँग आएर ‘भाले’ भएर गफ हाँक्छन् । मैले थाहा पाउन्न र त्यस्ता समाजसेवीका कुरा ? क–कसले कसरी काम गरेका छन् भनेरे मैले जानेकी छैनर ? यिनलाई भने घरकी स्वास्नीलाई सास्ती दिएर ढाँटी ढाँटी खुब् समाजसेवा गर्नु परेको, भरे राती आएपछि मैले जानेकि छु यिनलाई भन्दै चिया आँगनमा पुर्याईन् !) ल, लिनुस् चिया, कस्तो छ कुन्नी ! चिनी पनि सकिन लागेको रै’छ !
–आहा ! भाउज्यू कति मिठो चिया । दाउरामा पकाएको भएर होला है भाउज्यू ? (फुरूक्क पारे पाहुनाले बुढीलाई )
– फेरी पनि आउनुहोला है, बाबुहरू ! (अनि बुढी गोठतिर लागिन्)
– बेला बेलामा आएर खाईदिनु पर्छ के । तपाईंहरूकी भाउज्यूले जाति मान्छिन् ।
– ए बुढी, घरको काम सकेपछि काँचो धागोको बत्ती कात्नु है । स्वामीजीले करोड बत्ती बाल्ने रे । बत्ती कात्न गाउँभरीका सबै आईमाईलाई भन्नु भनेका छन् । खाली हात नबस्नु है !
– आँफु एकछिन घर नबस्नी अझ हेर न काम देखाएर हिंडेको ! म त सक्दिन,आँफै तिनै स्वामीले कातुन् ।
– त्यसो नभन् बुढी नर्क जानुपर्ला !
– भो भो, कुन स्वर्गमा बसेकी छु र !
– ल ल म हिंडे ।
(त्यसपछि सबै पल्लो गाउँको धान्यचलमा हिंडे ।)
बेलुका अबेर सम्म बुढा फर्केका छैनन् । एनजिओमा काम गर्ने छोरो अझै आएको छैन । अगेनाको डिलमा सासुले बत्ति कात्दैछिन् बुढी । बुहारी मोवाईल चलाउँदैछिन् । बाहिर गुनगुन् आवाज आयो । दुवै टाँठा भए । जाऊ त बुहारी, को आयो हेर । बुहारी गईन हेर्न । बुहारीका बुढा आएका रहेछन् । बुहारीले सासुका सामु आईनन् । तर छोराले आमालाई बोलाए ।
– मम्मी, म खाना खाएर आएँ । म कोठामा गएँ है, मम्मी । (ढोकैबाट यति भनेर आफ्नो कोठामा लागे । मम्मीले कुरा बुझिन् । हँ हँ भन्दै थिईन छोरो कोठाभित्र लुक्यो । बुहारीले छोरालाई सम्हालिन् कि के गरिन् भन्ने चिन्ता गर्दै फेरी बत्ती कात्न थालिन् ।)
यत्तिकैमा फेरी गुनगुन् आवाज आँगनमा गुनायो । बुढा आएछन्, कुरो बुझिन् । बुढालाई सम्हाल्ने आँफै बुढी नै थिईन् । ढोका कर्याक्क गर्यो । बुढा छिरे ।
– बुढी हेर आज तैंले मेरो ठूलो ईज्जत राखिस् । ल बुढी भन अव मैले तँलाई के दिऊँ ? के गरम् ? ल भन्, बुढी !
– हेर, हेर ! फकाएको । यसबेला हो धान्यचलमा गएको मान्छे घर आउनी ? घरको केही मतलब छैन है तपाईंलाई । यो तपाईंको ‘धान्यचल’ हो कि ‘धान्यचाल’, हँ बुढा ? तपाईंको ईज्जत राख्दा राख्दै म हैरान भएँ । धान्यचलमा जाँदा एक दिन दुई दिन त ढिलो हुन्छ । महिना दिनसम्म उस्तै चाल कस्तो हो यो धान्यचल ?
– ‘धान्यचल’ र ‘धान्यचाल’मा फरक छ के बुढी, फरक छ !
– के फरक छ बुढा ? कहिलेबाट ‘चल’र ‘चाल’ भयो बुढा ? मैले त बुझिन !
– चल भनेको आँफै चल्ने । अनि चाल भनेको अरूले चलाउने हो के ! कस्तो नबुझेकी तँ बुढीले ? आफ्नो गच्छे अनुसार स्वधर्मको कमाई धार्मीक कार्यमा लगाउनु ‘चल’ हो । आफ्नो गच्छेभन्दा बाहिर गएर पापकर्मले कमाएको अधर्मको कमाई खोजी खोजी धार्मिक कार्यमा लगाउन जोडगर्नु ‘चाल’ हो । बुझ्यौ ? पहिला पहिला धान्यचल हुन्थ्यो, अहिले धान्यचाल शुरूभयो ।
– भो भो अब बुझें । जाम् भात खान । मलाई जे शँका थियो, त्यो ठीक रहेछ । बुझें ।
– भित्र भान्छामा जाम् कि कोठा मै खाम् मेरी ‘प्रिय’ ?
– ओ हो, के सुन्नु पर्यो यो बुढाको मुखबाट ! प्रिय भन्न कसले सिकायो बुढा ? विहे गरेको बीस बर्षसम्म यति मिठो बोली सुनेकै थिईन त बुढा ?
– यो धान्यचलको जमाना हैननी बुढी ! यो त धान्यचालको जमाना हो, धान्यचालको !
– के भन्छन्, यि बुढा ! अल्ली यता आऊ त । … …. छि छि छि .., के गन्हाएको बुढा तिम्रो मुखमा ?
– गन्हाएको हैन बुढी, धान्यचाल बसाएको भनन् । पहिला जस्तो दुःख गरेर फलाएको धान धान्यचलको मौलोमा खन्याए जस्तो अहिले मौलोमा खन्याएको धान दुःख गरेर आफ्नै भुँडीमा खन्याउने काम गर्दा यस्तो बसाउँछ के !
– राम राम राम ! के सुन्नु पर्यो यो कानले । के खाएको तिमीले धान्यचालमा बुढा ? अहिलेसम्म तिम्रो यस्तो गन्हाएको मुख त थाहाछैन मलाई ? के खायौ भन त ! धान्यचल र धान्यचालमा फरक हुन्छ र बुढा ?
– यही हो के धान्यचाल भनेको ! धान्यचलमा यस्तो हुन्न ।
– अनुहारै बटारिन्छ त धान्यचाल खाएर ?
– हो ठिक भन्यौ । धान्यचाल खानेहरूको मुख धेरै बदलिएको छ आजकल । अस्ति धान्यचालमा उठेको रकम च्याप्प मिलाएर खानेहरूको अनुहार हेर त ? राती घरमा जाँदा यौटा अनुहार देखिन्छ, दिउँसो समाजमा हिंड्दा झुम्म परेको अनुहार देखिन्छ । तिमीले ख्याल गरेकी छौ प्रिय ? हो यही हो धान्यचल र धान्यचालको फरक भनेको बुझ्यौ ?
– भो नबोल बुढा ! मुख गन्हायो लौ, यो नरिवल मिश्री खाऊ । थुपुक्क सुत !!!
(अनि बुढाबुढी सुते !)
… … … … … …
(धन देखेपछि देवाधिदेव महादेवका पनि त्रिनेत्र खुल्छन रे भन्ने कहावत नसुन्ने कमै मान्छे होलान् । भनेपछि मान्छेका अठार नेत्र खुल्दैनन् भन्न पनि सकिन्न धन देखेपछि । आजकल गाउँठाउँ शहर बजारमा विभिन्न बहानामा धान्यचलका माध्यमबाट धन ईकट्ठा गर्ने चलन धुमधामले बढेर गएको छ । धन पनि उत्तिकै ईकट्ठा भएकै छ । तर, ईकट्ठा भएको धनमा अठार नेत्र खोल्नेहरूको जगजगीले सबैलाई सशँकित बनाएको कुरा कसैले बोल्न सकेको छैन । लाखौंको धान्यचलबाट करोडौंको धान्यचल बन्दैजाँदा कुदृष्टि भने लाखमा कायम हुनथालेको छ । यतापट्टी अनदेखा गरेर आफ्नो दूनो सोझ्याएर हिरो बनेका वाचकहरू टाप कस्छन् । जुन उद्देश्यले रकम संकलन भएको हो, त्यसको अन्तिम फर्छ्यौट नभएसम्म कसैले हेर्दैन । माथीको संवादमा बुढीको मर्का नबुझ्ने बुढाले कतिको दुःखको पसिना धान्यचलमा पोखे । त्यो पसिनामा तिनै बुढालाई डुबाउने चतुरेहरूलाई कसैले चिनेको छ ? चिनेपनि कसैले बोल्न सकेको छ ? यो आलेख कुनै प्रकारको धान्यचलको बिरोध होईन, उठेको रकमको सदुपयोगको नाममा भएका हिनामिना रोकियोस् भन्ने आशय हो । यतापट्टी पटक्कै कसैको ध्यान गएन । जुनसुकै धान्यचलको यो पक्षमा पनि ध्यान जान सकोस् भन्ने आजको ‘तीतेकरेली’को चाहना हो ।) धन्यवाद् !
Previous Articleबागलुङ सहकारीको स्थापना दिवस
Next Article १५ फागुन २०७३, ढोरपाटन दैनिक