त्रिभूवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेपछि क्याम्पस हरुमा राजनीति तातेको छ । विद्यार्थीको हक हितका लागि स्थापित स्ववियुमा कुन राजनीतिक दलको विद्यार्थी जाने भन्नेमा होडवाजी चलेको छ । कतिपय क्याम्पसहरुमा कुटाकुट समेत भैरहेको समाचार आएका छन् । विद्यार्थी हक हितको रुपमा हेर्दा पठनपाठनलाई सुचारु गर्ने, क्याम्पस भित्र हुने विकृति र विसंगतीलाई हटाउने, गुणस्तरीय शिक्षामा जोड दिने लगायतका मुद्दा पर्छन् । तर अहिले त्यस्तो नभएर राजनीतिक दलको विद्यार्थी संगठनलाई जिताउने र राजनीतिक स्वार्थ पुरा गर्नेमा बढी केन्द्रीत भएको देखिन्छ । जसका कारण राजनीतिक दलहरु बीचको गठबन्धन बन्ने र त्यसको छायाँ स्ववियुमा पर्ने, राजनीति भित्र पनि कसलाई पठाउन सकियो भने आफ्नो पक्षमा लागेर काम गरिदिन्छ भन्ने भावना बढी विकास भएको पाईको छ । विद्यार्थीको कार्यक्रममा हक हितका विषयले भन्दा राजनीतिक दलकै एजेण्डाले बढी चर्चा पाएको छ ।
आठ बर्षपछि हुन लागेको निर्वाचनले क्याम्पसमा सुधार ल्याउन सक्ला भन्ने धेरैको आसा छ । तर त्यो आसा अनुसारको काम हुने नहुने भन्ने शंका धेरै छ । प्राध्यापक र क्याम्पस प्रशासनले पनि आफ्नो पक्षको विद्यार्थी आईदिएमा त्यहाँ हुने अनियमितता लाई स्विकार गरिदिन्छ भन्ने सोचाई राख्छन् । विद्यार्थी नेताहरुमा पनि आफ्नो पक्षको प्राध्यापक र कर्मचारी भएको अवस्थामा आँखा चिम्लने र अर्को पक्षको भएमा भण्डाफोर गर्ने प्रवृत्ति राख्छन् । जसको कारण शैक्षिक मुद्दाले प्रवेश पाउनै सक्दैन ।
त्यसोत त्रिविले राखेको उमेर हदको बिषयले पनि उत्तिकै चर्चा पाएको छ । २८ बर्ष उमेर समूहका विद्यार्थी मात्र उमेदवार हुन पाउने भन्ने नियमले राजनीति गर्नकै लागि क्याम्पसमा भर्ना भएर बसिरहने प्रवृत्तिको पनि अन्त्य गरेको छ । तर कतिपयले त्यसको विरोध गरेका थिए । राजनीतिक रुपमा अगाडि बढ्नेनै हो भने पनि यो उमेर प¥र्याप्त छ । देशको चर्चित राजनीतिज्ञहरुको तत्कालिन अवस्था हेर्नेहो भने उनीहरुले २५ बर्षकै उमेरमा केन्द्रीय क्याम्पस सम्म सभापति भैसकेकाहरु छन् । विद्यार्थी राजनीतिबाट गएको नेताले विकास र राष्ट्रिय राजनीतिमा केही क्रान्तिकारी काम गर्छ भन्ने विश्वास पनि छ । तर पछिल्लो समयमा विद्यार्थी राजनीति र स्ववियुहरु पनि अनियमितता र भ्रष्ट्राचारको अखडा बन्दै गएको खुलासा बन्दै गएका छन् । कतिपय विद्यार्थीलाई भर्ना गराउने नाउँमा पैसा असुल गर्ने तथा आफ्नो पक्षको हितमा काम नभए काटमार सम्म उत्रने र त्यस्ता काममा माउपार्टीहरुले विद्यार्थीलाई प्रयोगमा ल्याउने गरेको पाइन्छ । अवका दिनमा त्यस्ता विकृतिलाई अन्त्य गरेर स्वच्छ प्रतिष्पर्धा र शैक्षिक हक हितको मुद्दालाई उठाउने स्ववियु निर्माण गर्न आवस्यक छ । केही क्याम्पसमा सबै पक्षको मिलाएर निर्विरोध पनि घोषणा भएका छन् । ती घोषणाबाट पाठ सिकेर सबैको साझा थलो बनाउने र शैक्षिक तथा गुणस्तरीय विकासको मुद्दालाई बढी केन्द्रीत गर्नुपर्ने बेला आएको छ । राजनीतिको नाउँमा विद्यार्थीलाई काटमारको दिशामा हिडाउने प्रयास भयो भने स्ववियु निर्वाचन राजनीतिकै घातक पनि बन्न सक्छ । सबैले यो बिषयलाई मनन् गर्ने बेला आएको छ ।
Previous Article२०७३ फागुन १५ गते आईतबारको राशिफल
Next Article बागलुङ सहकारीको स्थापना दिवस