बागलुङ, १४ फागुन – सकारात्मक सोचका लेखक तथा उद्यमी कर्ण शाक्यले देशव्यापी रुपमा सकारात्मक सोच राख्ने समाज निर्माण गर्नुपर्ने भएको बताएका छन् । बागलुङ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले आयोजना गरेको सकारात्मक सोच बिषयक अन्तरक्रियामा उनले समाजलाई बिकासको बाटोमा हिडाउन सबैको सकारात्मक सोच आवस्यक भएको पनि बताए ।
उनले हरेक काममा धैर्य र जनताको पक्षमा सोच्ने शक्तिको विकास गर्नुपर्ने पनि बताए । साथै प्रजाबाट जनता बनेका नेपाली अझै नागरिक बन्न नसकेको भन्दै सबैको साझा अभियान र सोचमा सकारात्मक परिवर्तनबाट मात्र नागरिक बन्न सकिने पनि बताए । उनकै अगुवाईमा देशव्यापी सोच समूह निर्माणको अभियान पनि चलेको छ ।
एक दिन एक घण्टा प्रकृतिको रमाइलोमा बस्ने र नयाँ सोचाईको विकास गर्ने, व्यवहारिक धरातलमा बसेर सिमित जनशक्ति र साधनबाट बिकास गर्न सकिने उपायाको खोजी गर्ने, हतोत्साही र दुःखदायी नहुने, सामाजिक सेवाका काम गर्ने, कतै र कसैबाट चन्दा र अनुदान नलिने, नेपालको धर्म, संस्कृति र परंपराका मूल्यलाई नविर्सने लगायतको काम गरेर अगाडि बढ्न उनले त्यस्ता समूहलाई आग्रह गरेका छन् ।
बागलुङमा पनि त्यस्तो समूह निर्माणका लागि पत्रकार महासंघ, अन्तरक्रिया जुटाउने होटल व्यवसायी संघ लगायतलाई आग्रह पनि गरे । यो अभियानले देशभरी सकारात्मक सोचाई भएका युवासमूह निर्माण गर्ने र त्यस्तो समूहले देशको विकासमा इटा थप्ने उनले विश्वास समेत व्यक्त गरे । उक्त अवसरमा संघका अध्यक्ष निलेसराज भण्डारीले उक्त अभियानलाई बागलुङमा पनि संचालन गर्ने र युवालाई सकारात्मक अभियानमा लगाउन पहल गर्ने बताए ।
त्यसै क्रममा शाक्यले धौलागिरी अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालयको अवलोकन गरेका थिए । साथै उनले पुस्तकालयले संचालन गरेको अभियानलाई सहयोग गर्ने आश्वासन दिंदै शिक्षा र अध्ययनले मानव जीवनलाई सफलतामा लैजाने धारणा राखे । शुक्रवारै शाक्यले नेपाल पत्रकार महासंघको कार्यालयमा पुगेर पनि पत्रकारहरुलाई सकारात्मक सन्देश सहितका समाचार प्रवाह गरेर समाजको विकासमा योगदान गर्न आग्रह गरे । कार्यक्रममा महासंघका अध्यक्ष दिल शिरिष, पूर्व अध्यक्ष राजेशच्द्र राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सचिव राम थापा अविरलले गरेका थिए ।
पत्रकारितामा सकरात्मक सोच आवश्यक
सकरात्मक सोचका अभियन्ता कर्ण शाक्यले पत्रकारितामा सकरात्मक सोच आवश्यक भएको बताएका छन् । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले शुक्रवार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै शाक्यले सुधार र सम्भावनाको कोणमा केन्द्रित भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे ।
‘सकरात्मकको आशय समाजमा रहेका नराम्रा नकरात्मक बिषयमा आँखा चिम्लनुस् भन्ने होइन,’ शाक्यले भने, ‘नकारात्मक सोच भित्र पनि सकारात्मक खोज्न सक्नु पर्छ, समस्या सँग समाधान पनि उठान गरेर प्रस्तुत गरिने सामग्रीले निकास र विकास दुवै दिन सक्छ ।’ पत्रकारले समाजमा रहेका सकारात्मक बिषय र उपलब्धिलाई राम्रो सँग प्रस्तुत गरिदिए पनि त्यसले समाजमा सकरात्मक प्रभाव पार्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासँघ बागलुङका अध्यक्ष दिल शिरीष, पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जिल्लाको पत्रकारिताको अवस्था, अभ्यास र चुनौतिका बारेमा बोले थिए । कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बागलुङ शाखाका सचिब राम थापा ‘अविरल’ले गरेका थिए ।