म्याग्दी, १२ फागुन/जिल्लाको देविस्थानलाई बुधबार साक्षर गाविस घोषणा गरिएको छ । ७३३ घरधुरी रहेको देविस्थान गाविसमा बसोबास गर्ने १५ देखि ५९ वर्ष उमेर समूहका ९९.४१ प्रतिशत जनसंख्याले अंक अक्षर लेखपढ गर्न जान्ने भएको आधारमा साक्षर घोषणा गरिएको शिक्षा कार्यालयले जनाएको छ । देविस्थानको कुल जनसंख्या ३५३७ जना रहेको छ । १५ देखि ५९ वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी सर्वसाधारणले लेखपढ गर्न जानेपछि साक्षर वडा, गाविस, नगरपालीका र जिल्ला घोषणा गर्न सकिने व्यवस्था रहेको छ । देविस्थान गाविसका सचिव तिर्थीबहादुर थापाको अध्यक्षता, भिम माविका शिक्षक प्रकाश सुवेदीको सञ्चालन र गौवमबस्त माविका शिक्षक चेतबहादुर जिसीले स्वागत गरेको घोषणा कार्यक्रममा जिशिअ रामकुमार श्रेष्ठले शिक्षाको माध्यमबाट सर्वसाधारणको जिवनयापनलाई सहज बनाउन साक्षरता अभियान प्राथमिकताका साथ सञ्चालन भएको बताए । कार्यक्रममा शिक्षा बिभागका उपनिर्देशक पदमराज आचार्य, शिक्षा कार्यालयका विद्यालय निरिक्षक रामकरण पाल, हेम मावि शिवाङका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य रेकबहादुर पुन, गाउँ ईकाई सभापति अमलाल फगामी, एमालेका गाविस अध्यक्ष कुलबहादुर घर्तीमगर, भिम मावि व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुन र गाविस स्तरीय आदीवासी जनजाती समन्वय समितिका उपाध्यक्ष भकबहादुर घर्तीमगरले मन्तब्य व्यक्त गरेका थिए । घोषणा कार्यक्रम सुरु हुनुपुर्व विद्यार्थी र स्थानीय बासिन्दाले बाजागाजा तथा झाँकी सहित ¥याली निकालेका थिए । कार्यक्रममा विद्यार्थी कलाकारहरुले गित, नाटक र नृत्य प्रस्तुत गरेका थिए । हालसम्म म्याग्दीको देविस्थान सहित १४ वटा गाविसलाई साक्षर घोषणा गरिएको छ । यसअघि बरंजा, मराङ, कुहुँ, पात्लेखेत, घार, हिस्तान, राम्चे, बिम, दाना, नारच्याङ, भुरुङ तातोपानी, दरवाङ र दोवालाई साक्षर गाविस घोषणा गरिएको थियो । शिक्षा कार्यालयले एक नगरपालीका र ३५ गाविस रहेको म्याग्दीलाई यसैवर्ष साक्षर म्याग्दी जिल्ला घोषणा गर्ने लक्ष्य राखेको छ ।
Previous Articleधौलागिरी बहिरा आवासिय माविले जित्यो राष्ट्रपतिको शिल्ड
Next Article नेपाली सेना दिवशमा रक्तदान