बागलुङ, ११ फागुन – नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले नेपालको आर्थिक समृद्धि पर्यटन विकासबाट संभव हुने बताएका छन् ।
पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको सर्वसिद्धिधाम पञ्चकोटमा तेस्रो पटक आयोजित ‘पञ्चकोट बिराट महायज्ञ’को उद्घाटन गर्दै सुवेदीले पर्यटन प्रवद्र्धनबाट सबै प्रकारको विकास संभव भएको बताए । ‘धार्मिक र अन्य प्रकारका पर्यटक भित्राउन सकेमा युवाहरु रोजगारीको खोजी गर्दै विदेश पलायन हुन पर्दैन’ उनले भने, ‘गाउँगाउँमा पर्यटकीय गन्तव्य निर्माण गर्न सकेमा गएका युवा पनि फर्कनेछन् ।’ वृहत योजना सहित निर्माणाधिन पञ्चकोटले देशकै गौरव गर्न लायक गन्त्व्यको रुप लिने उनले बताए ।
साथै नेपाल सरकारको तर्फबाट पनि यो क्षेत्रको विकासमा आवस्यक सहयोग गर्ने उनले आश्वासन दिए । ग्रामीण क्षेत्रमा पनि महत्वपूर्ण कुरा लुकेको हुन्छ भन्दै सुवेदीले स्वामि कमलानयनले देखेको सपना पुरा गर्न जिल्लाबासी मात्र नभएर देशवासी लाग्नुपर्नेमा पनि उनले जोड दिएका थिए । कार्यक्रममा वाणिज्य सचिव ङइन्द्र शर्माले पर्यटन क्षेत्र बनाउने अभियानमा सहयोग गर्ने बताए । बागलुङ घर भएका शर्माले सरकारको तर्फबाट गर्न सकिने आर्थिक सहयोग देखि अन्य कार्यक्रम मार्फत पनि पञ्चकोटको प्रचार र विकासमा सहयोग गर्ने बताए । स्वामि कमलानयको अध्यक्षता महासचिव बसन्तकुमार श्रेष्ठको स्वागत र स्वामी कृष्ण करपात्रीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पनि पञ्चकोटलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्दै जिल्ला र देशकै पहिचानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
२०७१ सालको फागुनमा आयोजना गरिएको महायज्ञमा १० करोड बढी संकलन गरेपछि भौतिक पूर्वाधारको काम थालिएको पञ्चकोटमा विभिन्न क्षेत्रबाट सहयोग जुटाएर संसारकै अग्लो १ सय ८ फिट अग्लो कलस स्थापना गर्ने, ५ हजार ५ सय ५५ केजीको घण्ट निर्माण गर्ने लगायतका दर्जनौं योजना सहित पञ्चकोटलाइ पर्यटकीय गन्तव्य बनाउने समेत योजना छ । हाल सम्म गरुड शिला, विष्णुको मूर्ति, गंगादेवीको मन्दिर र १८ फिट अग्लो हनुमानको मूर्ति स्थापना भैसकेको छ । सबै योजना सम्पन्न गर्नका लागि झण्डै २ अर्व रुपैयाँ लाग्ने अनुमान छ । यसै क्रममा हाल सम्म केही पूर्वाधार निर्माण पनि भैसकेका छन् ।
उक्त योजनालाइ सम्पन्न गर्नका लागि पुन महायज्ञ संचालन गर्न लागिएको बताइएको हो । उक्त स्थानमा हाल सम्म १ सय रोपनी जमिन खरिद गरिएको, वरपर ३० किमी सडकको ट्रयाक खुलिसकेको, हेलीप्याड निर्माण र धेरै स्थान सम्याइएको छ । त्यस्तै पञ्चकोट निर्माण अभियानका अगुवा स्वामी कमलानयन जन्मेको स्थानमा चारतले घर निर्माण गरिएको छ भने त्यहाँ देखि पञ्चकोट सम्म पक्की सिढी मार्ग निर्माण भैरहेको छ । हाल सम्म २४ घण्टा पानी आउने पाइपलाइन तयार भएको, १ सय गाई पाल्ने गौशाला निर्माण भएको छ । ५ सय जना सम्म बस्न मिल्ने सत्सङ भवन निर्माणाधिन छ ।
कारिकोटमा ५० लाखको मन्दिर सहितको संरचना बनेको, २ वटा अतिथी गृह निर्माण भैरहेको बताइएको छ । सोमबार पञ्चकोट देखि कालीगण्डकी नदी सम्म तोरण तार्ने र सवालाख लड्डु चढाउने काम सम्पन्न भैसकेको छ । फागुन १७ सम्म चल्ने महायज्ञमा बागलुङ सहित देशभरका भक्तजन आउने विश्वास गरिएको छ ।
मंगलवारको कार्यक्रममा पनि पर्वत, बागलुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रहरी र सेनाका प्रमुखहर, नगरपालिकाका प्रमुख लगायत राष्ट्रसेवक कर्मचारी, समाजसेवी लगायतको सहभागिता थियो ।
Previous Articleराष्ट्रपति रनिङ शिल्ड आज सकिदै
Next Article नयाँ शक्तिको ६ सर्त, सर्वपक्षिय सरकार गठनको माग