बागलुङ, ११ फागुन – कालिका मन्दिरमा चाँदीको ढोका सहितका संरचनामा दाताको सहयोग आउन थालेको छ ।
पछिल्लो समय गुठी व्यवस्थापन समितिले बनाएको कार्ययोजना र मन्दिरको धार्मिक तथा पर्यटकीय आर्कषणका लागि सरकारी र व्यक्तिगत रुपमा पनि सहयोग आउन थालेको हो । यसै क्रममा कालिका भगवती मन्दिरको मुल ढोकामा चाँदीको फ्रेम लगाइएको छ । कारिव साँढे १५ किलो चाँदीबाट पाटनका कलाकार तथा कालिगढहरुले उक्त ढोकामा जडान गरेका हुन् । उक्त ढोका मंगलवार जडान सम्पन्न भैसकेको हो ।
यो कामका लागि बागलुङको दमेक घर भइ हाल काठमाण्डौको किर्तिपुरमा व्यवसाय गर्दै आएका माधव सापकोटाले १५ लाख रुपैयाँ बराबरको चाँदी र कामको लागि कालिगढका लागि चाहिने ज्याला समेत भुक्तानी गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । दाताले पनि धार्मिक आस्था र मन्दिरको विकासका लागि सहयोग गरेको बताएका छन् ।