काठमाडौँ, ९ फागुन – सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। सोमबार साँझ दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।
मन्त्रिपरिषदले सिफारिस गरेका नाममा युएई आशा लामा, जापान प्रतिभा राणा, डेनमार्क युवनाथ लम्साल, बहराईन पदम सुन्दास, अष्ट्रेलिया लक्की शेर्पा, कतार रमेश प्रसाद कोइराला, साउदी अरेबिया महेन्द्र सिंह, म्यानमार भिम उदास, श्रीलंका विश्वम्भर प्याकुरेल, ओमान शर्मिला पराजुली, कोरिया अर्जुन जंगबहादुर, बंगलादेश चोपलाल भुषाल, इजरायल निरन्जन थापा रहेका छन्। स्पेनमा खोल्न लागिएको दूतावासमा अवकास प्राप्त सहायक उपरथी भरत रायमाझीलाई सिफारिस गरिएको छ।
सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्ड गरेर सिफारिस गरेको हो । भागबण्डमा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् ।
संसदीय सुनुवाईपछि उनीहरुको नियुक्तिको बाटो खुल्ने छ। यस अघि पनि राजदूत सिफारिस भए तापनि सरकार परिवर्तनसँगै त्यो कार्यान्वयन हुन सकेको थिएन। आज बिहान बसेको पहिलो मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। अाजै दोस्रो पटक बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो। साँझै निर्वाचनको मिति तय गर्ने गरी अर्को मन्त्रिपरिषद बैठक बस्ने जनाइएको छ।
Previous Articleराप्रपा अध्यक्षमा कमल थापा निर्वाचित
Next Article कता जाँदैछ अमेरिका ?