बागलुङ, ११ भदौ – गलकोट समाज काडमाडौंले गत साउन १० गतेको बाढीबाट प्रभावित बनेका पश्चिम बागलुङका बाढी पहिरो प्रभावितलाई करिब ५ लाख राहत रकम उपलब्ध गराएको छ ।
समाजको अगुवाईमा देश तथा विदेशमा रहेका गलकोटेहरुबाट संकलन गरिएको ४ लाख ९२ हजार ५ सय रुपैयाँ बाढी पीडितहरुलाई प्रदान गरिएको बाढी पीडित सहयोग संकलन समितिका सहसंयोजक मन्जेशबम मल्लले बताए ।
बाढीले पु¥याएको क्षतिको आधारमा राहत रकम वितरण गरिएको मल्लले जानकारी दिए । उनका अनुसार मृतकको परिवारलाई १० हजार र घर पूर्ण क्षति भएको परिवारलाई ३ हजार रुपैयाँको दरले वितरण गरिएको छ ।
सवैभन्दा बढी अधिकारीचौर गाविसका ७५ परिवारलाई २ लाख २५ हजार वितरण गरिएको सहयोग संकलन समितिका सदस्य पवन हमालले जानकारी दिए । त्यसैगरी दुई मृतक परिवार सहित २१ परिवारलाई गरी दर्लिङ गाविसमा ८२ हजार प्रदान गरिएको छ ।
दर्लिङको एकै परिवारका तीन जनाको मृत्यु भएकोले उक्त परिवारलाई पाँच हजार थपेर १५ हजार प्रदान गरिएको समितिले जनाएको छ । त्यसैगरी, राजकुट गाविसमा ३ मृतक परिवार सहित २० घरपरिवारलाई ८१ हजार र ग्वालीचौरमा पनि तीन मृतक परिवार सहित ९ परिवारलाई ५७ हजार रुपैयाँ वितरण गरिएको छ । तर रकम अभावका कारण बोङ्गादोभान गाविसमा भने २ हजार पाँच सयका दरले १९ परिवारलाई ४७ हजार ५ सय प्रदान गरिएको सहसंयोजक मन्जेश बम मल्लले बताए ।
राहत वितरण कार्यक्रमको सम्पूर्ण प्रशासनिक खर्च मल्ल स्वयम्ले बेहोरेका छन् । बाढी पीडित सहयोग संकलन समितिका सहसंयोजक मल्ल नेतृत्वको टोलिले राहत वितरण गरेको हो ।
उक्त टालीमा समितिका सदस्य पवन हमाल र भीमगिठे उच्च माध्यामिक विद्यालयका प्रधानअध्यापक सागर खरेल र शिक्षक दिपक भट्टको समेत सहभागिता रहेको थियो ।
Previous Articleबागलुङमा सप्ताव्यापी पुस्तकालय दिवस
Next Article माक्र्सवाद–लेनिनवाद–माओवादीको अध्ययन पद्वति