नेपाली काँग्रेसको समर्थनमा अहिले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार छ । चैत्र मसान्तसम्म स्थानीय निर्वाच गरेर बैशाखमा देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमतिमा सरकार बनेको थियो ।
तर, प्रचण्ड सरकारले सोही सहमति लत्याएको छ । अब सहमतिको कुनै अर्थ देखिँदैन । निर्वाचनको मितिनै घोषणा नगरी बैशाखमा चुनाव गर्ने प्रतिबद्धता मात्रै जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले काम गर्न नसकेको आरोप लगाइरहेको छ । यसै विषयमा नेकपा (एमाले) का केन्द्रीय सदस्य, पर्यटन विभाग प्रमुख एवं प्रचार विभाग उप–प्रमुख सुर्य थापासँग कुराकानी :
सरकार पूर्णरुपमा असफल भइसक्यो
विभिन्न लोकप्रिय कार्यक्रम सहित अगाडि बढिरहेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई माओबादी केन्द्र र नेपाली काँग्रेस मिलेर ढलाए । मिलेर सरकार चलाउने समहति पनि गरे । त्यसबेला चैत्र मसान्तभित्रै स्थानीय निर्वाचन गर्ने प्रतिबद्धता समेत जनाए । तर, अहिले बैशाखमा पनि चुनाव हुन्छ कि हुँदैन भन्ने निश्चित भएको छैन । बैशाखमा चुनाव गर्नका लागि तयारी गर्न निर्देशन दिँदै निर्वाचन आयोगलाई काइते पत्र मात्रै पठाएको छ । तर, मिति घोषणा हुन सकेको छैन । अन्य कामहरु पनि लथालिङ्ग नै छन् ।
विभिन्न कार्यालयलाई भर्ती केन्द्र बनाइएको छ । पुनः निर्माण प्राधिकरणको नेतृत्व बदलेर आफ्नो मान्छे भर्ती गर्ने काम भयो । बाह्य शक्तिको भरमा सरकार अडेको छ । यसरी संविधान कार्यान्वयनका दृष्टिले सरकार असफल मात्रै नभई कुनै गतिनै लिन नसकेर पतन हुन लागिरहेको छ । यसले मुलुकलाई झन दुर्गतिर धकेल्दैछ ।
कथित ‘सेलिब्रेटी’ सेलरोटी भए
यसअघि निकै चर्चामा हरेका सेलिब्रटीहरु पनि अहिले काम गर्न नसकेर सेलरोटी जस्ता भएका छन् । कसैलै आफ्नो अस्थित्व कायम गर्ने गरी काम गर्न सकेनन् । एउटा मात्रै राम्रो काम गरेको छ, त्यो हो काठमाडौंमा लोडसेडिङ घटाउने । त्यो बाहेक अन्य कुनै पनि काम सरकारले गर्न सकेको छैन । लोडसेडिङ घटाउने अघिल्लो सरकारको कार्ययोजनाकै आधारमा यो सम्भव भएको हो ।
प्रचण्ड सरकारले बैशाख देख्न पाउँदैन
पहिले पनि सरकार निर्माण गर्दा स्वर्गीय सुशील कोइराला र केपी ओलीबीच सहमति भएको थियो । त्यो बेला कोइराला प्रधानमन्त्री बन्नुभयो । तर, पछिल्लोपटक ओली प्रधानमन्त्रीमा उठ्दा कोइराला पनि प्रधामन्त्रीको उम्मेदवार बन्नुभयो ।
यद्यपी, प्रचण्डको समर्थनमा अर्को गठनबन्धन बनेर ओली प्रधानमन्त्री बन्नुभयो । तर, त्यही सरकार ढाल्न देउवासँग मिलेर प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । यो सरकार बनाउने र ढाल्ने खेल भइरहेको छ । यस्तै, यो सहमतिको पनि कुनै भर छैन ।
राष्ट्रिय राजनीतिमा स्वतन्त्रताका साथ एमाले नेतृत्वको सरकार अघि बढिरहेको थियो । तर, दुर्भाग्य एक्कासी ट्र्याक परिवर्तन गरियो । प्रचण्ड र देउवा मिलेर सरकार ढान्नुभयो । केही सहमति गरेर प्रचण्ड नेतृत्वमा सरकार गठन गरियो । जसमा चैत्रभित्रै स्थानीय निर्वाचन सम्पन्न गर्ने र बैशाखमा देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति पनि भयो ।
तर, सहमति अनुसार हुन सकेन । चैत्र मसान्त भित्र चुनाव नहुने भएपछि प्रचण्ड सरकार धरापमा परेको छ । बैशाखमा पनि चुनाव हुँदैनकी भन्ने आशंका पैदा भइसकेको अवस्था छ । स्थानीय निर्वाचन गरेर देउवालाई सरकार हस्तान्तरण गर्ने भनेको प्रचण्डको आयु अब छोटिदै गएको छ । चैत्रमा निर्वाचन नहुने निश्चित भएपछि देउवालेनै प्रचण्ड सरकारको दिन गन्ती सुरु गरिसकेका छन् ।
पटक–पटक सत्ताको स्वाद चाखिसकेका देउवा चैत्र महिना सकिने वित्तिकै सत्ता परिवर्तनको खेलमा लाग्नुहुनेछ । देउवालाई अलमल्याएर सरकारको आयु लम्ल्याउँछु भन्ने मनसाय प्रचण्डको पनि हुन सक्छ । तर, सत्ता प्राप्तिका लागि बर्जुवाहरु कति निर्मम हुन्छन् भन्ने प्रचण्डले बैशाख लागेपछि थाहा पाउनुहुनेछ । उहाँले आँसुका नुनिला ढिका पिउनुपर्ने स्थिति आउँछ ।
एउटै मितिमा तीन वटा तहको निर्वाचन
एउटै मितिमा तीन वटा तहको निर्वाचन गरिनुपर्छ । स्थानीय तह, प्रदेश र संघीय स्तरमा एकसाथ निर्वाचित जनप्रतिनिधिहरु बहाल गरिनुपर्छ । यसो गर्दा एउटै मितिको निर्वाचनबाट एकतिहाई मात्रै बजेटमा तीन वटा निर्वाचन सम्पन्न हुन सक्छन् । मितव्ययिताका हिसाबले पनि यसो गर्न जरुरी छ ।
देउवाको विकल्प पनि खोजिन सक्छ
प्रचण्डसँगको सहमति कार्यान्वयन होस् वा नहोस्, देउवाले बैशाख लागेपछि आफ्नो नेतृत्वमा सरकार बनाउने कसरत पक्कै गर्नुहुनेछ । त्यसक्रममा सकेसम्म देउवा प्रचण्डलाई समर्थन गर्न लगाएर आफू प्रधानन्त्री बन्ने प्रयासमा लाग्नुहुनेछ । यदि देउवाले प्रचण्डको साथ पाउन सक्नुभएन भने देउवाको विकल्पमा पनि अर्को गठबन्धन बन्छ । त्यो बैशाखमै हुन्छ ।
एमाले सरकार परिवर्तनको खेलमा लाग्दैन
एमाले प्रमुख प्रतिपक्ष दल हो । अहिले एमाले सरकार परिवर्तनको खेलमा पनि लाग्दैन । स्थानीय निर्वाचन गरोस् भन्ने हामी चाहन्छौं । तर, सरकारको कानमा हावा लाग्न सकेको छैन । हामी अब जनताको विचमा जान्छौं । जनतालाई सचेत र जागरुक बनाउनेतिर लाग्छौं । सरकारको भण्डाफोर गर्ने, फागुन २१ गतेदेखि चैत्र ५ गतेसम्म १५ दिने मेची–महाकाली अभियानमा जाँदैछौं । तीन दर्जनभन्दा बढी सभा गर्छाैं । जनपरिचालन गर्छौं । हुलाकी राजमार्गलाई केन्द्रीत गर्छौ ।
जनदवाव मार्फत निर्वाचन सम्पन्न गर्ने विन्दुसम्म पु¥याएर मात्रै हामी निस्किन्छौं । संविधान कार्यान्वयनको बाटोमा सरकारलाई डो¥याउने काम एमालले गर्छ । प्रमुख प्रतिपक्षले आवश्यक परेको खण्डमा सरकारका कामको विरोध गर्ने हो । सही बाटोमा डोर्याउने हो । अहिलेको लागि नेकपा एमालेका प्रमुख कामनै त्यही हो ।
हरेक चुनावको सामना गरेर बर्चस्व
सत्ता साझेदार दलले नेकपा (एमाले) लाई स्थानीय निर्वाचन गर्न नचाहिरको आरोप लगाइरहेको छ । तर, हामी तीन तहकै निर्वाचन छिटो भन्दा छिटो होस् भन्ने चाहन्छौं । हाम्रो सरकारले गत कार्तिक–मंसिरमा स्थानीय तहको, यो बैशाख–जेठमा प्रदेश तहको र कार्तिक–मंसिरमा संघीय तहको निर्वाचनको कार्ययोजना तयार पारेर संसदलाई जानकारी समेत गराईसकेको थियो ।
तर, त्यो गर्न नदिएर परिस्थिति विथाल्ने काम भयो । त्यसको विपरित चैत्र मसान्त सारियो तर त्यो पनि सम्भव भएन । अझै पनि सरकारले छिटो भन्दा छिटो चुनावको मिति घोषणा गरोस् र चुनावमा जाऔं भन्ने पक्षमा एमाले छ । हामी सबै तहका चुनावको सामना गर्न तयार छौं । सबै तहमा हामी जित हाँसिल गर्छौ पनि । यदि अझै पनि सरकारले एमालेलाई निर्वाचन हुने खेलमा लागेको आरोप लगाउँछ भने एक पटक चुनावको मिति घोषणा गरेर परिक्षण गरि हेरोस् । दैनिक नेपाल
प्रचण्ड नुनिला आँसु पिउँदै बाहिरिनुपर्ने निश्चित – सुर्य थापा
Previous Articleसीके राउतका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण
Next Article मह र लसुनको प्रयोग गरी बच्नुस् यी रोगबाट