तीते करेली
कृष्णराज शर्मा
–दाई, हामीलाई अप्ठ्यारो परेको बेलामा छुटाई दिनुहुन्छ भने हामी सय जना केटा तपाईंको पछि लाग्छौं । गर्नुहुन्छ ?
–त्यस्तो के अप्ठेरो पर्छ र भाइ तिमीहरूलाई ? अनि काहाँबाट छुटाईदिने भाइ ?
–त्यही त हो नी कतै ’यसो उसो’ लफडा परे छुटाई दिनु पर्छ । हाम्रो पुलिस् ब्रो छ नी त्यसले च्याप् च्याप् समात्छ । हाम्रो जानीदुश्मन हो के पुलिस् । त्यही पुलिस् ब्रो बाट छुटाई दिनु पर्छ भनेको नी त । ल, दाई यति काम तपाईंबाट हुन्छ भने मा’कसम तपाईंको पार्टीमा ग्यारेण्टी हुन्छ के ब्रो ? ए ! सरी दाई,ब्रो भन्न पुगेछु ।
–तिम्रो पढाई कति पुग्यो नी बाबु ? पढाई छोडेर अहिल्यै पुरै पार्टीमा लाग्नु हुँदैन । बरू, क्याम्पसमा पनि विद्यार्थी राजनीति छ । त्यता लागे भैहाल्छ नी त !
–ह्या, तपाईंलाई दाई मानेर भनेको उही ब्रो को जस्तो कुरा गर्नु हुन्छ यार ! क्याम्पसमा खासै पैसा छैन के ? हामीलाई मस्ती गर्नुपर्छ । त्याहाँ त्यस्तो चान्स हुँदैन के ? तपाईंले मेरो कुरा मान्नु हुन्छ कि हुन्न ? एस अर नो मा जवाफ दिनुस् न यार !
(एकछिन् दाईले मनमनै सोचे । शयजना केटाहरू हाम्रो पार्टीमा भएभने त चुनावै जितिन्छ कि क्या हो । नछोड् भैरे नछोड्, यस्ता सुण्डमुसुण्ड पार्टीमा बेला बेलामा काम लाग्छन् । फुत्कलान् है होश गर । हो,यो केटालाई फुत्काउन हुन्न । )
–भाइ, तिमीलाई कस्तो अप्ठेरो पर्छ,फेरी भन त बाबु ?
–तपाईंले कुरै बुझ्नु हुन्न यार ! हामी केटाहरू हो के ! ड्यांग डुङ् परिहाल्छ नी । लुकिछिपी माल तान्नु पर्छ । जति लुके पनि पुलिस ब्रो ले भेटाउँछ क्या । हो,त्यतिबेला एकछिन पनि पुलिस ब्रो को हाकिमले थाहा नपाउँदै पुलिसको गेट बाहिर बाटै छुटाउनु पर्छ । एस कि नो ? हुन्छ कि हुन्न,ल भन्नु दाई ब्रो ।
–पहिला कसले छुटाउँथ्यो त तिम्रा यी ‘असली’ काममा पक्राउ पर्दा भाइ ?
–ह्या पहिलाको त्यो पार्टीको दाईले छुटाउँथ्यो पनि पैसा पनि दामी दिन्थ्यो नी । पछि चुनाव जितेपछि छुटाउन पनि छोड्यो । अहिले त पैसा पनि छैन भन्छ यार । लौ त तेरो पार्टी भनेर एक महिना पहिले त्यो पार्टीको सदस्यताको चीट् च्यातेर उसैको मुखमा फ्यालदिएँ ।
–अनि यो पार्टीमा पनि त्यसै गर्ने त हौला ! त्यस्तो चालाले त भएन, ल भन के गर्ने ? हामीलाई त केटाहरू संधै चाहिन्छ । चुनाव आयो भने ठोकठाक पनि पार्नु पर्छ । तिमीहरू योग्य नै लाग्यो मलाई ।
–ह्या दाई, तपाईंको खुबी छ के ! ती अरू पार्टीको जस्तो लूते होईन नी हौ दाज्यू तपाईं । सबै खुबी देखेर न तपाईं संग आ’को हो । पुलिस ब्रोलाई तपाईले जे भन्यो त्यही हुन्छ । जे भन्यो त्यही मान्छ । तपाईंको खानदानी ताकत देखेर त आकर्षित भएको हो हामीहरू ।
–खै मैले भनेको कैले मानेको छ ? मैले पुलिस चिनेकै त छैन ।
–दाई, यही त छ तपाईंको महानता ! तपाईंको चिनजान यहाँ नभएर के भो त ? यस्सो माथी फोन मार्नु भो भने खेल खत्तम् । तपाईं खुसुखुसु जमघट्मा रमेको थाहा पाएको छु मैले । अस्ति एक महिना पहिले तपाईंले भनेर हामीसंग झगडा गरेर गएका दुईटा ट्यापे ‘सोमहरू’ पुलिसले समात्दा बित्तिकै छुटाउनु भएको कुरा हाम्रो सर्कलमा छलफल भयो । हाम्रो छलफलमा तपाईं त ‘हिरो’ नै हुनु भयो’नि । त्यसैले त तपाईंसंग आएको ।
–त्यसो हो भने र तिमीहरू आयौ भने हामीलाई कति भोट बढाउँछौ, ल भन त ?
–ह्या, भोट बढाउने पो कुरा गर्नुहुन्छ तपाईं ! चुनावै जितिन्छ नि । हामी सय जना मात्रै छैनौं के ? तपाईंले मन फुकाउनुस् मात्रै हामी हजार पुग्छौं । जाबो चुनाव हाम्रै हो । तपाईं नै उठ्नु होला । जे पनि गर्छौं तपाईंको लागि । जिताएरै छाड्छौं ।
–होईन, तिमीहरूले जंगली तालिम पनि गर्या छौ कि के हो, केटा हो ? तिमिहरूको कुरो पक्का हो ? फूर्ती त, निकै गर्छौ त ? रसिद काटम्, ल भन ।
–पक्का हो के ! काम हेर्नुस् न काम । तर दाम अनुसार काम हुन्छ नि । तर आजैबाट हाम्रो छुटाउने काम तपाईंले गर्नुपर्छ । आजैबाट गर्नु पर्छ ।
–आजै बाट ….. ! आज को छ र, पुलिस कहाँ ? किन लगेको त्यो पुलिसले ? कतिजना छन् ?
–हाम्रा पाँचजना ब्रोहरू भित्र छन् । लाईसेन्स नभैकन बाईक चलाएको भनेर लग्यो । हातमा नशालु सुई लगाएको ब्रोले देखेछ । अनि भाग्दा समात्यो । मस्ती गरेको बेला कसैले लाईसेन्स बोक्छ भन्नुस् त ? ल, यिनलाई आजै छुटाई दिनु पर्यो । यति गरेपछि हामी तपाईंका पक्का मान्छे हुन्छौं ।
–ल, भरे बेलुका बुझेर भनौंला ।
–त्यसरी त कहाँ भयो र ! आजै छुटाउनु पर्यो के दाज्यू ! नत्र, सोमहरू नाराज भैहाल्छ के ब्रो ।
–हाम्रो आईजिपी बन्दैछ पर्ख न । त्यसपछि तिमीहरूकै राज चल्छ के केटा हो । ढुक्क भएर बस । जिल्लाको हाकिमले त कानुन बमोजिम कारबाई गर्नुपर्छ भन्छ । झन् कुरो बिग्रन्छ । अहिल्यै नै काम बन्थ्यो, त्यो वकिल खुब कानुन जान्नी भ’को । सर्वोच्चमा रिट हालेर सबै खत्तमै पार्यो । के गर्छौ । नत्र ठाउँको ठाउँ छुटाउने ताकत हुन्थ्यो मेरो ।
–त्यो वकिललाई ठेगान लाईदिउँ त । साले वकिल, हाम्रो मस्तिमा भाँजो हाल्दो रै’छ !
–पख न पख, धैर्य गर । दिन हाम्रै आउँछ । जेहोस्, मैले खोजेको जस्तो केटाहरूको बाञ्छनीय योग्यता भेटाएँ । म खुशी छु । तिम्रा सोम साथीहरूलाई संझाउनु अब हाम्रो दिन आउँदैछ भन्दिनु है ।
–ल उसोभए, अग्रीम पेश्की लगाउनुस् । हामीले तपाईंसंग कुरा भएपछि यसो तान्नु पर्यो । मस्ती गर्नु पर्यो । हाम्रो जीएफलाई पनि इन्ज्वाए गराउनु पर्छ । ल, ल्याउनुस्, पेश्की !
–पख न पख, एक दुई दिनमा चुनावको घोषणा हुन्छ । अनि त के पेश्कीका कुरा गर्छौ बिटाका बिटा तिमीहरूकै हातमा हुन्छ । अहिलेलाई त्यो होटलेलाई भन्दिन्छु । त्यो होटलेको पुरानो बाँकी पनि तिर्नै छ । आज त्यहीं गएर खाओ । तिमीहरू पनि हाम्रोमा आएको थाहा पाएपछि उसले पनि खुशी भएर खुवाउँछ । ल जाऊ । म फोन गर्दिन्छु ।
(त्यसपछि सबै आ–आफ्नो ठेगान लागे ।)
स्थानीय क्याम्पसको प्राङ्गणमा यो वार्तालाप सुनेर सरासर घर फर्कें । प्रहरी, ट्यापे र नेतालाई संझेर निकैबेर म घोत्लिएँ । के हुन लाग्यो यो समाजमा । यो युवा जमातमा । यो राजनीतिमा । यो सुरक्षा अंगमा । मैले धेरैबेर सोचें । कस्तो समाजमा हामी रूमल्लीन थाल्यौं । निकै सोचनीय हुँदै गर्दा मेरो पुस्तक दराजमा अनयाशै मेरा आँखा पुगे । यौटा पुस्तक थुतें । आचार्य रजनीशको पुस्तक परेछ । हातमा लिएँ । ओल्टाई पल्टाई हेरें । पुस्तकको गातो बाहिरै लेखिएको एक अनुच्छेद पढें । लेखिएको थियो– “राजनीति त उसका लागि हो जसले अरू केही जान्दैन । जसले मूर्ती बनाउन सक्दैन, जसले चित्र कोर्न र रंग भर्न जान्दैन, जसले केहीपनि गर्न सक्दैन त्यस्ता सबै अयोग्यका लागि राजनीति हो । आखिर अयोग्यका लागि पनि त केही हुनु पर्यो । जसमा कुनै योग्यता हुँदैन उसमा राजनीति गर्ने योग्यता हुन्छ । राजनीतिका लागि बुद्धि चाहिंदैन । किनभने बुद्धिमान मानिसले केही त सोच्छ । केही त विचार गर्छ । बुद्धिमान मानिस यस्तो झूठो काम गर्न सक्दैन । उसलाई उसकै आत्माले सुख दिन्न । राजनीति त केवल झूठो आश्वासन हो । बेईमानी माथी बेईमानी । झूठ माथी झूठ् । अत्यन्त शान्त चेतना चाहिन्छ राजनीतिमा सफल हुनको लागि ।“
यो अनुच्छेद पढेपछि म शितलो भएँ । राजनीतिमा नैतिकता हुनुपर्छ । सत्चरित्र हुनुपर्छ । विचार, निष्ठा र आदर्श हुनुपर्छ । यि उपरोक्त कुराहरूले सुसज्जित भए मात्रै योग्य ठहरिने हो । त्यस्तो योग्यता छैन यहाँ । यस्तै अयोग्यहरूले गर्ने हो राजनीति, जो हामी कहाँ छ । अयोग्य नियुक्ति गर्छन् अनि आँफुलाई योग्य ठान्छन् । लोकमानलाई नियुक्ति गर्दा योग्य भएरै गरे । फेरी कसरी उनी अयोग्य बने ? अयोग्यले अयोग्य चयन गरिएको रहेछ । यही बुझ्नु सर्वथा ठीक हुनेछ । त्यसैले विचार निष्ठा आदर्श सुन्य हुनेहरूले गर्ने राजनीति भनेकै ट्यापे मुन्द्रेको सहारा हो । भ्रष्ट र तस्कर मौलाएको राजनीतिक समाजले आदर्श निष्ठा खोज्दैन । खोज्ने त्यस्तै बहुलट्ठी जमात हो । यसैबाट आफ्नो तुष्टी पुरा गर्छ । त्यसैले त्यो वार्तालाप र संवादका बारेमा अनेक टिप्पणी गर्नु वाईहात लाग्यो । मेरो देशको दशकौंको राजनीति यही भावमा बगेको रहेछ । ईमान्दारीता पूर्वक सफल हुनेहरू हाम्रो राजनीतिमा निकै कम रहेछन् । विपीको राजनीति ईमान्दार रहेछ । राष्ट्रिय चिन्तनले भरिएको राजनीति रहेछ । उनले जसरी पनि सफलता र ऐश आराममा राजनीति गर्न सक्थे । तर त्यसो गरेनन् । बर्षौंको जेल जीवन र प्रवासमा रहनु परेको पीडाले राजालाई दुश्मन ठानेर बदलाको भावना कहिल्यै राखेनन् । बरू, देश बचाउन राजालाई अपरिहार्य शक्ति ठानेर अगाडी बढे । शायद विपी पनि अहिलेको राजनीतिमा भएको भए के हुन्थे त्यतापट्टी नजाऊँ । तर माथीका धूर्तहरूको वार्तालापमा पुरै झूठ र बेईमानीले भरिएको पोको छ । जनताको नाममा आएको विकास निर्माणको बजेटमा आँखा गाड्ने कारण पनि नोट्का बिटा बाँड्नलाई हो भन्ने आम नेपालीले बुझेकै छन् । यसलाई रोक्ने निकायलाई निकम्मा बनाएर छोडियो । अख्तियारले अब कहिल्यै भ्रष्टाचारको मुहान देखेर पनि देख्ने छैन । आफ्नो कर्तव्य निष्ठामा अडिएको प्रहरी भित्र राजनीतिक हस्तक्षेप देश लुट्ने बेईमानहरूका लागि हो । अब ३३ किलो सुन त के तीन क्वीण्टल तस्करीको सुन पनि देख्ने छैनन् प्रहरीले । अबैध आर्जनको बाटो खुला भयो । स–साना देखावटी काम गरेर ति निकायका अधिकारीहरूले दिन कटाउँदै तलब पकाउने छन् । चुनावमा आवश्यक पर्ने लगानी भ्रष्ट र तस्करले पुर्याउने छन् । यदी प्रहरी संगठनलाई विना राजनीतिक हस्तक्षेप स्वतन्त्र भएर कामगर्न दिने हो भने भ्रष्ट र तस्करहरूको पुरै दोहोलो काढ्न सक्छ । प्रहरीले आग्रह र पुर्वाग्रह भने त्याग्न सक्नु पर्दछ । अहिले त सामान्य ट्यापे मुन्द्रे जुवाडे जँड्याहालाई नियन्त्रणमा लिंदा पनि प्रहरीको खोर भित्र नपुग्दै छोड्न मोवाईल बाट आदेश आउँछन् । यसरी नहुने चुनावको हुने आशामा अहिल्यै देखि स्वार्थीहरू तानाबाना बुन्न थालेको माथीको वार्तालापको आशय प्रष्टै बुझिन्छ । गाउँतह देखि केन्द्रीय तहसम्म अब दाईभाइ र ब्रोहरूको कुरो शुरूहुन थालिसकेको छ । यि सबै कर्तुतहरू रोक्ने सिस्टम हामीकँहा छैन । जो अगुवा उही नै बाटो हगुवा भएको देशमा कहिले सफा सिस्टम देख्न पाईएला ? कहिले सुखको श्वास फेर्लान नेपाली जनताले ? कोही छ यि प्रश्नको सही जवाफ दिने ! धन्यवाद।
Previous Article८ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article दोस्रो सडक खाना महोत्सव सकियो