बागलुङ, ८ फागुन – देशको एकमात्र समाचार समिति राससले समाचार उत्पादनका दृष्टिमा आफूलाई समयानुकूल र प्रविधिमैत्री बनाउन सक्नुपर्नेमा धौलागिरीमा क्षेत्रका बुद्धिजीवी एवम् सञ्चारकर्मीले जोड दिएका छन् ।
राससको ५६ आँैं वार्षिकोत्सवका सन्दर्भमा राष्ट्रिय समाचार समिति धौलागिरी अंचल कार्यालयले बागलुङमा आयोजना गरेको ‘समाचार समिति पत्रकारिताको महत्व’ विषयक अन्र्तरक्रिया कार्यक्रममा सहभागीले नागरिकको मागलाई चिनेर सोही बमोजिमका समाचारको उत्पादन गर्न जरुरी रहेको बताएका थिए । राससको समाचार विश्वसनीय हुन्छ’ भन्ने छाप सबैमा परेकोले यसलाई बचाइराख्नुपर्ने सुझावमा उनीहरुको जोड थियो ।
समाचार समितिको आवश्यकता र महत्व अहिलेको समयमा पनि झन बढेको उल्लेख गर्दै सहभागीहरुले यसले औपचारिक समाचार मात्र नभइ अनौपचारिक समाचारलाई पनि ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससका समाचार विश्वसनीय हुनु नै राससका लागि ठूलो सम्पति भएको बताउँदै दूरदराजका घटना समाचारलाई पनि आफ्ना समाचारमा स्थान दिनसके यसको प्रभावकारीता अझ बढ्ने सुझाव दिए ।
भरपर्दो र विश्वसनीय संस्थाका रुपमा रासस रहेकाले यसले गर्ने आफ्ना कामलाई पनि समयानुकूल बनाउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव नवराज पौडेल, नेकपा एमाले जिल्ला कमिटी बागलुङका सचिव लालबहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस चौतारी नेपालका पूर्वबरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उच्च अदालत पोखरा बागलुङ इजलास बार एकाईका उपाध्यक्ष हरिकृष्ण सुवेदी, नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ, पत्रकार ज्ञानेन्द्र गौतम, प्रकाश बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा राससको वर्तमान अवस्थाको विषयमा पत्रकार सन्तोष गौतमले जानकारी दिएका थिए । रासस धौलागिरी प्रमुख राम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन राससकर्मी लक्ष्मण सापकोटाले गरेका थिए । निजी क्षेत्रको प्रयासमा विसं २०१६मा स्थापना भएको नेपाल संवाद समिति र २०१७ मा स्थापना गरिएको सगरमाथा संवाद समितिलाई २०१८ फागुन ७ गते एकिकृत गराइ राष्ट्रिय समाचार समितिको स्थापना गरिएको हो ।
स्थापनाकालदेखि नै राससले अविछिन्न रुपमा देश तथा विदेशका सत्यतथ्य र विश्वसनीय समाचार सङ्कलन एवम् उत्पादन गरी आफ्ना सेवाग्राही सञ्चार माध्यमलाई वितरण गर्दै आएको छ ।
Previous Articleकिन कहिल्यै सुत्दैन बेलायत ?
Next Article चलायमान अर्थतन्त्रको आवश्यकता