काठमाडौँ , ८ फागुन – पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् ।
वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।
उनले भनिन् , ‘राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।’ नयाँ पत्रिका
Previous Articleसुन तस्करी प्रकरणमा नयाँ रहस्य: एसएसपीको रेट लाख
Next Article विमानस्थलमा चरा धपाउन पाँच सिकारी