काठमाडौँ, ८ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा धपाउन सिकारीको व्यवस्था गरिएको छ । जहाजमा चरा ठोक्किने समस्या भएपछि धपाउन सिकारी राखिएको हो । सिकारी १८ घन्टासम्म चरा धपाउने ड्युटीमा हुन्छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता पि एन ठाकुरले चरा धपाउन पाँचजना सिकारी रहेको जानकारी दिए । उनका अनुसार सिकारीले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म चरा धपाउने ड्युटी गर्छन् ।
चरा धपाउन सिकारीलाई गुलेली, भरुवा बन्दुक, टर्च लाइटजस्ता सामग्री उपलब्ध गराइएको छ । चरा धपाउन आवाज आउने मेसिन ग्यास क्यानन तथा वेलर, एक्रोक्रोलगायतका प्रविधिको पनि प्रयोग गरिएको छ । विमानस्थल क्षेत्रमा गिद्ध, काग, चिललगायतका चरा आउने गर्छन् ।
विमानस्थलमा खटिएका सबै सिकारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतका कर्मचारी हुन् । सिकारीलाई विमानस्थलभित्रै बस्ने र खाना–खाजाको व्यवस्था छ । विभागका महानिर्देशक मनबहादुर खड्काले विमानस्थलका सिकारीलाई वेलावेला सरुवा गर्ने गरिएको जानकारी दिए ।
चरा ठोक्किएर भएका दुर्घटना
-असारमा काठमाडौंबाट हङकङका लागि उडेको नेपाल एयरलाइन्सको एयरबस ३२० मा चरा ठोक्किएपछि आकस्मिक अवतरण भयो । सोहीकारण जहाज करिब एक साता ग्राउन्डेड भएको थियो ।
-असारमै काठमाडौंबाट ओमानका लागि उड्ने तयारीमा रहेको ओमन एयरको जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको थियो ।
-असार ०७१ मा नेपाल एयरलाइन्सको एमए ६० जहाजमा चरा ठोक्किएपछि जहाज लामो समय ग्राउन्डेड भएको थियो ।
-असोज ०६९ मा काठमाडौंबाट सोलुखुम्बुका लागि उडेको सीता एयरको विमानमा चरा ठोक्किएपछि लोकन्थलीस्थित मनोहरा खोलामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १९ जनाको निधन भएको थियो ।
-पुस ०७१ मा मुम्बईबाट काठमाडौं आएको जेट एयरको विमानमा चरा ठोक्किएर आकासमै आगलागी भएको थियो । तर, चालकले साहसिक रूपमा जहाजलाई अवतरण गराएका थिए ।
-कात्तिक ०७२ मा टर्किस एयरको जहाजमा चरा ठोक्किएको थियो ।
-फागुन ०७२ मा गोमा एयरको जहाजमा चरा ठोक्किएको थियो । नयाँ पत्रिका