–हिमालय आचार्य
ताराजालकोट, कारीकोट अनि रायँरायँकोट
माझकोट, संसारकोट यिनै पञ्चकोट ।
सर्वसिद्धिधाम पञ्चकोट रहन गयो नाम
संसारलाई चिनाउने ठूलो भयो काम ।
मुक्तिनाथ पिठाधिश्वर कमलनयन स्वामी
बाबा ज्यूको चरणमा प्रणाम गछौं हामी ।
संसारकै ठूलो कलश त्यस्तै ठूलो घण्ट
विश्वभर कहिँ छैन रे यति ठूलो अन्त ।
हामी धेरै आभारी छौं, सबै भक्तहरु
कुन शब्दले समेटेर भाव व्यक्त गरु ।
एउटा जोगी साहस गरी विशाल काम आँटे
विश्वमा कहिँ नभएको कलश घण्ट छाँटे ।
विश्वशान्ति कलश र मुक्तिनाथ महाघण्ट
यहि ठाउँलाई फाइदा हुन्छ, कहिँ हुँदैन अन्त ।
महल छाडी को आउँथ्यो र खरको झुपडीमा
जोगीलाई फाइदा केहि छैन सोचौं खोपडीमा ।
नेपाललाई चिनाउने ठूलो भयो काम
प्रसिद्ध होला जगतैमा सर्वसिद्धिधाम ।
विश्वभरका मानिसहरु तिर्थ गर्न आउलान्
मनोहर दृश्यदेखि आनन्द मनाउलान् ।
लक्ष्मीनारायण मन्दिर अनि गरुडको शालिक
ब्रह्मण्डनायक उनै विष्णु जगतका मालिक ।
विष्णु सहस्रनाम पाठ लाखौं पटक गरी
सबा करोड दिप प्रज्वलन भयो धामै भरी ।
अखण्ड किर्तन महिनौंसम्म नित्य चलिरह्यो
त्यही भएर यो ठाउँ आज सर्वसिद्धिधाम भयो ।
पञ्चकोट पञ्चकोट सबले नाम जपौं
यथाशक्य सहयोग गरी दुईचार इट्टा थपौं ।
थोपा–थोपा थप्यौं भने यहाँ नदी बग्छ
दैब लागे बिनाकारण हराएर नि जान्छ ।
शिलान्यास सबले गरौं कुल पृत्रिका नाउँमा
बिन्ती गर्छु चरण पर्छु टोपी राखी पाउँमा ।
धन भन्ने पौरख गरे आर्जेर हुनेछ
यहाँ ऐले दान गरे युगौंयुग रहनेछ ।
शिलालेखमा नाम लेखे सन्ततीले हेर्लान
पुर्खाको नाम पढ्दाखेरी ठूलो सास फेर्लान ।
धन्य रैछन् हाम्रा पुर्खा असल गर्ने काम
शिलालेखमा नछुटाउँ है कसैले नि नाम ।
काँधमाथि काँध मिलाउँ एक जर्का बोक्न
हुनेछैन कसैले नि आफ्नो मनलाई रोक्न ।
धाम निर्माणमा जोस् गरौं तनमन लगाएर
मौकाको फाइदा उठाउँ नफालौं है खेर ।
तेल थप्ने कार्य गरौं ज्योति जलाउनलाई
कोही नछुटौं हात मिलाउँ नाम चलाउनलाई ।
नछुटौं कोही बिन्ती गर्छु, एक जर्का बोक्न
बैकुण्ठमा यथाशक्य घरघडेरी रोक्न ।
निधाएका जागौं सबै समय बिति जाला
नाम राख्दा गए जाला थोरै काँधका छाला ।
सागरमा थोपा मिसाई सहभागी भई
कलमलाई बन्द गर्छु नबिर्सनु है ।
जय श्री मुक्तिनाथ ! जय श्री मुक्तिनाथ !
युगौं युग नछुटोस् भगवानको साथ ।
–बा.न.पा.–१० कुँडुले, बागलुङ
Previous Articleस्ववियु निर्वाचन फागुन १८ गते
Next Article ७ फागुन २०७३, ढोरपाटन दैनिक