पर्वत, ४ फागुन/जिल्लाको बाँसखर्क गाविसका कृषकले यस वर्ष सुन्तला बचेर दुई करोड रुपैया भन्दा बढी नगद गाउँमा भित्राएका छन् । ढिला गरी सुन्तला बजार पठाएका बाँसखर्कका कृषकले मूल्य समेत बढी पारेका छन् । अन्य ठाउँको सुन्तला सकिएपछि माघको मध्यबाट सुन्तला बेच्न थालेका उनिहरुले प्रतिकिलो ११० देखि ११५ रुपैयाँ पारेका छन् । यस वर्ष उत्पादन पनी बढेको र मूल्य समेत राम्रो पाएकाले गाउँमा सुन्तलाबाट कम्तीमा दुई करोड रुपैया भित्रीएको बाँसखर्क स्थित बजारमारे सुन्तला उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताए । गत वर्ष डेढ करोड रुपैयाँ बराबरको सुन्तला निकासी भएको थियो । यस वर्ष बाँसकर्खमा दुई सय मेट्रिक्टन सुन्तला उत्पादन भएको सहकारीले जनाएको छ । अध्यक्ष खत्रीका अनुसार पोखराका ब्यापारीले बगैचाबाटै सुन्तला खरिद गरेका हुन् । बाँसखर्कमा बसोबास गर्ने २६१ मध्य दुई सय घरले करिब डेढ सय हेक्टर मकै, कोदो खेती हुने पाखोबारीमा ब्यवसायीक सुन्तला खेती गरेका छन् । पश्चिम फर्कीएको बाँसखर्कको हावापानी र भुगोल सुन्तला खेतीका लागि अनुकुल मानिन्छ । सडक सुबिधासंगै सुन्तलाले सहज रुपमा बजार र उचित मूल्य पाउन थालेपछि बाँसखर्कका बासिन्दा सुन्तला खेती विस्तारमा लागेका हुन् । सुन्तला बजार पु¥याउनका लागि बाँसखर्कका बासिन्दाले दुई वर्षअघि बगरफाँट हुदै गाउँलाई जोड्ने सडक निर्माण गरेका थिए । उनीहरुले व्यवस्थित सिचाईका लागि पुम्दीखोलाबाट पानी ल्याउने योजनाका लागि पहल गरेका छन् । बाँसखर्कमा सुन्तला खेती प्रर्वद्धनका लागि जिल्ला कृषि विकास कार्यालयले सुन्तला बगैचा सुदृढीकरण कार्यक्रमका साथै यस वर्षदेखि प्याक्ट आयोजना सञ्चालन गरेको छ ।