बागलुङ, २ फागुन/त्रिभुवन विश्व विद्यालयले सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत धौलागिरि बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा वामपन्थी विद्यार्थीहरु संयुक्त प्यानल बनाएर जाने भएका छन् । नेकपा एमाले समर्थित अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सोमबार सयुक्त पत्रकार सम्मेलन गरी संयुक्त उमेदवारी दिने जानकारी गराएका हुन् । धवलागिरी बहुमुखी क्याम्पसमा गठित तीन वटै संगठनका तर्फबाट प्रेसित विज्ञप्तीमा अनेरास्ववियूका सुरेश रेग्मी, अखिल क्रान्तिकारीका किशोर घर्ति र अखिल छैठौका दिलिप बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तीमा स्ववियू निर्वाचनमा एकता गरी अगाडि बढ्ने निर्णय भएको उल्लेख छ । स्ववियूमा विगतको इतिहासलाई कायम राख्न, शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्न, वैज्ञानिक, व्यवहारिक र जीवन उपयोगी शिक्षालाई स्थापित गर्नका लागि आमविद्यार्थी एकजुट हुनुपर्ने र त्यसको नेतृत्व वामविद्यार्थी संगठनले गर्नुपर्ने निष्कर्षका साथ संयुक्त प्यानल बनाउन सहमत भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । फागुन १४ गतेका लागि तोकिएको निर्वाचनमा वामपन्थी विद्यार्थीहरुलाई विजयी गराउनका लागि सबै विद्यार्थीहरुलाई अखिल संयुक्त प्यानलका तर्फबाट आव्हान गरिएको छ । पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पदम खत्री, अखिल छैठौका केन्द्रीय महासचिव भीमलाल पोखरेलले एकताको घोषणा गरेका थिए । वामपन्थी विचारका अन्य विद्यार्थी संगठनहरुसंग समेत सहकार्य गरी निर्वाचनमा सहभागी हुने तयारी भैरहेको जानकारी दिइएको छ । अखिल संयुक्त प्यानललाई विजयी गराउन सबै विद्यार्थीहरुलाई अखिलका पूर्व स्ववियू सभापतिहरु, विद्यार्थी संगठनका केन्द्रीय नेताहरुले आव्हान गरेको अनेरास्ववियू बागलुङका प्रचार विभाग प्रमुख रोशन जिसीले जानकारी दिए ।
दुई तिहाई सिट जित्ने दाबी
आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनहरूले भाग लिने प्रतिवद्धता जनाएका छन् । अनेरास्ववियू, नेवि संघ, अखिल क्रान्तिकारी, मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । एमालेसम्वद्ध अनेरास्ववियूकी अध्यक्ष नविना लामाले शिक्षाध्यक्षको गाडी जलाउने कार्यको भत्र्सना गरिन् । लामाले यो पटकको निर्वाचनमा आफ्नो संगठनले सभापतिमा ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन् । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले विश्वविद्यालयलाई आमूल सुधार गर्न र विद्यार्थी आन्दोलनको साख जोगाउनको लागि पनि स्ववियू निर्वाचन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निर्वाचन जित्नको लागि मात्रै होईन, हार पनि हुन्छ, स्ववियू निर्वाचनमा ८२ प्रतिशत मत ल्याएर नेविसंघ निर्वाचित हुन्छ ।’ नेवि संघले क्यापसमा गरेको तालाबन्दी कहिले खुल्छ भनेर संञ्चारकर्मीले गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘तालाबन्दीमा नेविसंघ मात्रै सामेल छैन, ताला चिन्न गाह्रो भइरहेको छ ।’ उनले अघि भने, पार्टीको आदेश र संगठनको भावना बिपरित कसैले त्यस्तो गर्छ भने त्यो अनुसाशन बिपरित हो, राप्रपिसंघ र विप्लव माओवादीका साथीहरूले पनि ताला लगाउनुभएको अबस्था छ, चाँडै खुल्छ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले यस पटक तोकिएकै समयमा स्ववियू चुनाव हुने विश्वास व्यक्त गरे । ‘नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ, यसले निर्वाचन हुनेमा शंका उब्जाएको छ, अर्कोतर्फ आज रेक्टरको गाडी जलाइएको छ’ उनले अघि थपे, आजमात्रै होईन १२–१३ गतेसम्म पनि भिसीको गाडी जलेपनि निर्वाचन हुनुपर्छ, यो निर्वाचनमा हामी धेरै सिट जितेर देखाउँछौं ।’
Previous Articleभीमसेन क्याम्पसमा धान्याञ्चल महायज्ञ
Next Article नेकपा माओवादी म्याग्दी अध्यक्षमा श्रीस निर्विरोध चयन