तीतेतीते करेली करेली
कृष्णराज शर्मा
विज्ञान र प्रविधिमा देखिएको दिनानु दिनको चमत्कारले विश्व जगत चकित छ । चमत्कारको प्रतिष्पर्धा पनि त्यस्तै चमत्कारिक छ । चमत्कार उत्पादन गर्ने मुलुकका जनता मानव मष्तिष्क भित्र रहेको क्षेमता देखेर दङ्ग छन् । अझ भनिन्छ,अहिलेसम्म मानव मगजको पाँच प्रतिशत पनि उपयोगमा आएको छैन । दश प्रतिशत सम्म मान्छेको मगजले साँच्चै विज्ञानमा सफलता हात पारेको दिन पृथ्वी र पृथ्वीबासीमा कस्तो परिवर्तन आउला ? यो प्रश्नको सहि जवाफ दिनपनि कल्पना बाहिरको हुनेछ । खैर, हामी र हाम्रो देशका थुप्रै नागरिक अझै अठारौं शताव्दीको परिवेषमा भएपनि विज्ञानको बरदान भोग्न पाएका छौं । विविध खाले वैज्ञानिक उपलब्धि सकेर नसकेर पनि साक्षातकार गर्दै आएका छौं । विज्ञानले आविष्कार गरेका रेडियो टिभि टेलिफोन मोवाईल इन्टरनेट र एटिएम कार्ड लगाएत थुप्रै अत्याधुनिक कुराहरू हाम्रो दैनिक जीवनमा समाहित भैसकेका छन् । हाम्रो दिनचर्यामा अब यिनको प्रयोग छुट्दैन । हामी यि वैज्ञानिक उपलब्धि बेगर दिन कटाउन सक्दैनौं । अति विपन्न परिवार नै किन नहोस्,पाडा बाख्रा कुखुरा बेचेर भएपनि यि सामान घरघरमा र हातहातमा पुगेका छन् । जुन हिंजोका केही दशक पहिलेसम्म धनाढ्य र संभ्रान्तहरूका मात्रै शौख र प्रतिष्ठाका बिषय हुन्थे । एकातिर देश गरिबिको चपेटामा परेको सरकारी तथ्याङ्क देख्छौं, अर्कोतिर जनताका यि अनिवार्य आवश्यकताका अपरिहार्य बस्तु बन्दै गएको तथ्य लुकाएर लुकाउन नसकिने यथार्थ बन्दै गएको छ ।
विश्वका धनी तथा सम्पन्न मुलुकमा प्रयोगमा आएका अत्याधुनिक प्रबिधिहरू विपन्न तथा गरिब मुलुकमा ढिलोगरि भित्रिन्छन् । ति देशहरूमा ति प्रयोगहरू झिजो लागिरहँदा हामी कहाँ भने नौलो र नयाँ बनेर प्रयोगमा आउँछन् । सबैमा उत्सुकता भरिएर नयाँ प्रबिधि छुन मन् लाग्छ । हामीले छुन मनलागेका नयाँ बस्तु सम्पन्न मुलुकले फ्याँकेका बस्तु समान हुन् भन्ने कमैले बुझ्छौं । सूचना र प्रबिधिको विकासले उत्पादित थाहा पाएका बस्तु आजका आजै हाम्रो जस्तो मुलुकमा सहजै उपलब्ध हुँदैनन् । भैहाले पनि त्यो बस्तुसंग पहुँच राख्ने हैसियत वालाको मात्र हुनजान्छ । हाम्रै देशका दाज्यूभाइहरू तथा दिदीबहिनीहरू ति देशमा भएकैले कतिपय नयाँ प्रविधिहरूमा तत्काल हातलाग्नु अपवाद् हो । राज्य तथा सरकारले त्यस्ता अत्याधुनिक वस्तुमा आम जनतामा पहुँच पुर्यायो भने सरकारको जातै जान्छ । उसले तदारूकताका साथ ध्यानै दिन्न । दिई हाले पनि नेपालीलाई केही थाहा छैन । यिनलाई सस्ता र नक्कली दिएर कमिशनले भुँडी भर्न पाए हाईसञ्चो हुन्छ भन्ने बाहेक यिनका खोपडीमा अरू सोंचै छैन ।
सर्वसाधारणको लागि सुपथ र सर्व सुलभ उपलब्ध हुने देखि शौखिन मूल्यमा यि उपरोक्त सामानहरू हाम्रो आँखा वरिपरीको परिवेषमा पाईन्छन् । यि नवागन्तुक र नौला बस्तुहरूले हाम्रो समय र पैसा पनि बचत गरेका छन् । मोवाईलको बहुआयामिक क्षेमताले थुप्रै अरू सामानहरूलाई समेत विस्थापन गरेको पनि छ । मोवाईलमा भएका सुविधाले क्यामेरा घडी रेडियोको अलग्गै प्रयोग घटेको छ । यसरी विज्ञानले आधुनिक समाज छिटो छरितो साँगुरो बन्दै गएको तथ्य हाम्रो सामु छर्लङ्ग छ । तर कतिपय यस्ता सामान छन् जो सँस्थागत मात्र खरिद गरि व्यक्तिले सुविधा पाउने गर्छन् । सरकारले मात्र सेवादिन मिल्ने बस्तुहरू छन् । जसको सेवा पाउन सरकारलाई कर तिर्नु अनिवार्य हुन आउँछ । त्यस्ता बस्तु तथा सेवामा जनताले सहजता महशुस गर्न पाईरहेका छैनन् । नेपाल टेलिकम र नेपालका बैंकहरूले जनतालाई दिने त्यस्ता सुविधाहरूबाट जनता दिक्क छन् ।
नेपाल टेलिकमको लापर्वाहीका बारेमा आम जनता अनभिज्ञ छैनन् । उसले जति माग्छ त्यति तिरेर पनि निर्बाध सुविधा जनताले पाएका छैनन । गतिहिन र गतिछाडा सुविधाको जति बिरोध गरेपनि टेलिकमले सुनेकै छैन । उसले ल्याउने संबन्धित मेशिनहरूमा ठूलो घोटाला हुनेगरेको नियमनकारी निकायले पटक पटक सचेत गराएको समाचारहरू धेरै पटक बाहिर आए । सरकारकै उच्चपदस्थ अधिकारीहरूको मिलिमतोमा काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्दै टेलिकमले आफ्ना ग्राहकप्रति पटक्कै चासो दिएको छैन । विद्युत प्राधिकरणमा त्यस्तै छ । अहिलेको प्राधिकरणको नेतृत्वले धेरै हदसम्म यस्ता बदमासी रोक्न थालेकोमा केही आशा जनतामा सञ्चार भएको छ । ट्रान्सफर्मरमा नक्कलि काम गर्नेहरू कारवाहीमा परेको सबैलाई थाहा भएकै कुरा हो । लाखका सामानमा करोडको बील मिलाएर जनताको पैसा हसुर्ने एकाध व्यक्तिलाई सँजाए पनि पाएका हुन् । तर यो प्रवृत्तिको समूल नष्ट हुन सकेको छैन ।
हुँदा हुँदा बैङ्कका सेवाहरू पनि यान्त्रिकीकरणका कारण जनतालाई दुःख दिन थालेको देखेर अचम्म लाग्छ । बैंङकहरूले आफ्नो सेवा प्रवाहले जति आकर्षित गर्न खोजेपनि बैङ्कका व्यबहारले असन्तुष्टी जगाई राखेको यथार्थ सबैका सामु उदाङ्गिन थालेको छ । नगद मौज्दात निक्षेप बढीहुँदा घरघरमा ऋण लैजानुस्, आउनुस् मिलाएर दिन्छौं भनेर ग्राहकका खुट्टा ढोग्न पुग्नेहरू नगदको मौज्दात अभाव भएको समयमा बैङ्कमै पुगेका ग्राहक प्रति कन्नो फर्काएर कम्पुटरमा फेसबुक चलाउँछन्, गतिलो बोली त के वाक्यै फुट्दैन उनको थुतुनो बाट । अर्काेतिर हाम्रा यतिवटा उतिवटा एटीएम काउण्टर छन् भनेर नाक फूलाउँछन् तर, एटीएममा काउण्टर पुग्दा ‘एटीएम मिशीन बिग्रेको छ’ भनेर मेशिनमा सानो चीट टाँसेर राखेका हुन्छन् । थोरै नगद बोकेर बाहिर गएका ग्राहकहरू बैंङ्कले भने अनुसार २४ घण्टा सेवादिनेमा ढुक्क देखिन्छन् । तर एटीएम काउण्टर पुग्दा मेशीन बिग्रेको छ भन्ने सूचना देखिन्छ । मेशिन हरेक दिन बिग्रनुको कारण बुझ्न सकिएको छैन । बागलुङबाट पोखरा उपचारका लागि म पोखरा पुगेको भोलिपल्ट पोखराको मुख्य व्यापारिक क्षेत्रका एटिएमहरूमा पुग्दा लगभग सबै बिग्रेका भेटिए । उपचारमा लाग्ने खर्च आवश्यकता अनुसार यिनै एटीएम बाट निकालौंला भन्ने मेरो विश्वासमा ठूलो घात गर्यो बैंकले । क ख वर्गका प्राय बैंङ्कले एटीएम सजाएका हुन्छन्, केवल गहनाको रूपमा । गहना पनि बुढी आमाले नाकमा लुर्काएको ’बुलाकी’ जस्ता । बिग्रेको सुचना टाँस भएपछि स्वतः प्रश्न उठ्छ । दिनदिनै बिग्रिने मेशिन खरिदमा कति चलखेल भयो ? नगद र गोपनिय कार्यहुने यस्ता मेशिन खरिद गर्नु विद्युतको ट्रान्सफर्मर खरिद गरे जस्तो हो र ? यो भयानक लापर्वाही बैंकहरूमा किन देखियो ? एटिएम प्रयोग गर्न आउनेहरू सम्बन्धित बैंङ्कहरूलाई सत्तोसराप गर्दै थिए । कास्की शार्दीखोलाबाट आएकि बुढी आमै रून मात्र सकिनन् र भनिन्– गाडी भाडाभए पोखरा पुगिन्छ त्यसपछि एटिएम छँदैछ भन्दै आएको त बित्याँसै पार्यो । बुढाको पिन्सिङ खाताबाट पैसा झिकेर किनमेल गरौंला भनेको अब के गरूम् बाबु ?’ भन्दै एटीएम काउण्टर कुरूवा गार्डसंग दुःख सुनाईन् । मेरो दिलमा उनको कुराले घचक्क घोच्यो । आँफै त पैसा झिक्न नपाएर छट्पटाई रहेको छु । उनको यो कुराले म के गरूँ गरूँ भएँ । मन मनै भने– आँफै त महादेव उत्तानो पर, कसले देला वर ! उनलाई मैले के नै गर्न सक्थें र ! सहानुभूति बाहेक केही आएन मेरो मनमा ।
अन्तमा के भनौं भने,विज्ञानको महासागरबाट उवाएर हाम्रो देशमा ल्याएका थोरै सामान जनताको पहुँचमा छन् । तर जनतालाई ठग्ने र दुःख दिने सिवाय हाम्रा राज्य सञ्चालकले किन केही जान्दैनन् ? केही दिन सकेनन् । त्यस्ता सामान कि नल्याउनु, ल्याएपछि स्पष्ट सुविधा दिनु नि ! बीस बर्ष पहिल्यै एटीएम मेशिनले सम्पन्न मुलुकमा नगदमै डेविट क्रेडिटको काम थालेका हुन् । यि क्रेडिट मात्र कारोवार गर्ने मेशीन त त्याहाँ अहिले प्रचलनमै छैनन् । अझ कति नौला नौला सुविधायुक्त मेशीन मान्छेले प्रयोग गर्न थालिसके । भलै त्याहाँको जस्तो पुरै शिक्षित समाज हाम्रो छैन । ति सबै यहाँ प्रयोगमा ल्याउन गाह्रो पर्ला । तर आइसकेका मेशिन त सध्ये लेऊ ! किन थोत्रा मेशिन झिकाएर बैङ्कका अगाडी बुलाकी लुर्काउँछौ ? किन जता हेर्यो उतै बेथिती बनाउछौ ? विद्युत हेर्यो त्यस्तै । दूरसञ्चार हेर्यो त्यस्तै । बैङ्कमा हेर्यो त्यस्तै । यातायातमा हेर्यो त्यस्तै । एसी बसमा एसीले काम गर्दैन । फ्रि वाईफाई भन्यो वाईफाईले काम गर्दैन । के भयो यो हाम्रो देशमा ? खाए पनि पच्ने गरि खाओ न हो, दैव !
Previous Articleआमाहरुलाई दुव्र्यसन सम्बन्धी सचेतना
Next Article १ फागुन २०७३, ढोरपाटन दैनिक